काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात अर्नबको प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
‘शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रूपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला’ विभागका मौसमविद् डेभिड ढकालले बताए ।
भारतमा शक्तिशाली चक्रवात अर्नब बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भए पनि नेपाल प्रवेश गर्दा कमजोर भएकाले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको असर भने सामान्य रहेको विभागले जनाएको छ ।
उनका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
‘आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ’ उनले भने ।
विभागका अनुसार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ । सो अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर मापन भएको छ ।
यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एकदुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ ।





