माले, १७ कात्तिक । माल्दिभ्सका पूर्व विदेशमन्त्री अब्दुल्ला शाहिदलाई १८ वर्षमुनिका बालकलाई यौन दुर्व्यवहार गरेको आशङ्कामा प्रहरीले पक्राउ गरेको छ । माल्दिभ्स प्रहरीले सोमबार राति अदालतको पक्राउ पुर्जीका आधारमा उहाँलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार ६४ वर्षीय शाहिदलाई नोभेम्बर २ अर्थात् सोमबार राति ९ बजेर ५९ मिनेटमा मालेस्थित एच राबी मन्जिलबाट पक्राउ गरिएको हो । प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
पक्राउपछि शाहिदले आफूमाथि लागेका आरोप अस्वीकार गर्नुभएको छ । उहाँले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले राजनीतिक रूपमा फैलाइएका दाबी निराधार र झुटा भएको बताउँदै अप्रमाणित आरोप प्रचार नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।
सन् २०२८ मा हुने निर्वाचनअघि विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) बाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावित प्रमुख नेताका रूपमा शाहिदलाई हेरिएको थियो । उहाँ संयुक्त राष्ट्रसङ्घको महासभाका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
शाहिद माल्दिभ्सका अन्तर्राष्ट्रिय स्तरमा परिचित राजनीतिक नेतामध्ये एक हुनुहुन्छ । उहाँले पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको कार्यकालमा सन् २०१८ देखि २०२३ सम्म विदेशमन्त्रीका रूपमा काम गर्नुभएको थियो । सन् २०२१–२२ मा उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको ७६औँ सत्रको अध्यक्षता गर्नुभएको थियो ।
उहाँले माल्दिभ्सको संसद् पिपुल्स मजलिसको अध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यस्तै, सन् २०२४ को फेब्रुअरीदेखि २०२६ को अगस्टसम्म एमडीपीको नेतृत्व गर्नुभएको थियो । पार्टीको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीस्वरूप उहाँले नेतृत्वबाट राजीनामा दिनुभएको थियो ।
गत महिना शाहिद नयाँदिल्लीमा आयोजित ‘बियोन्ड बोर्डर्स लिटरेचर फेस्टिभल २०२६’ मा सहभागी हुनुभएको थियो । उहाँलाई ‘स्पेस वी कल होम : डायस्पोरा एन्ड बिलङ्गिङ’ शीर्षकको सत्रको अध्यक्षता गर्न आमन्त्रण गरिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । शाहिदमाथि लगाइएको आरोप पुष्टि भइसकेको छैन ।





