काशीनाथ पौडेल ##
हो,
यो सही समय हो
आम निराशाको बाढीले
बगाइरहेछ राष्ट्रिय आत्मविश्वासको गैरीखेत,
पलायनका आँधीले रित्तिँदैछन् बस्ती
निर्जन बगर बन्दैछ देशको भविष्य
लोकतन्त्रको पिपलचौतारीमा
मौलाएको छ बिचौलिया ऐँजेरु
सल्बलाएको छन् कुशासनको धमिरा
खोक्रिँदैछन् प्रणालीरूपी हाँगा
हल्लिँदैछन् जराहरू अडिएको धरा
ओइलाएका छन् प्राणवायु दिने पात
निस्सासिएका छन् लोकतन्त्रका माली
सदियौँदेखि
सत्ताशक्तिको दोहनचक्रमा पिसिएर
मौलिक पहिचानका जरा चुँडालिएका
आदिम सभ्यताका मखमली सुगन्ध
छुवाछुतको भुङग्रोमा खरानी बनाइएका
श्रम, सिप र प्रविधिका ऐतिहासिक सर्जक
मुहारको रङ र पहिरनकै कारण
अनागरिक बनाइएका,
सीमान्तको घाम र धुलोको तापमा
धोती पहिरिएका मातृभूमिको पहरेदार
सबै सबैले
आफ्नै रङ, ढङ्ग र उमङ्ग भेट्ने
न्याय–समानताको नयाँ नीति लेख्ने
भरोसाको बलियो तटबन्ध लगाउने
लोकतन्त्रको पिपलमा लागेको ऐँजेरु खुर्कने
समावेशी उर्वर माटोमा मलजल गरी
देशप्रेम, पहिचान, आशा र सुशासनका बिउ रोप्ने
समुन्नत विकासको सुनौलो फसल फलाउने
राष्ट्रनिर्माणको उदात्त थिति बसाल्ने
हो,
“शुभ मुहूर्त” को सही समय यही हो





