खिमविक्रम शाही, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समितिका सदस्य तथा पूर्व प्रदेश सांसद
(नमस्कार । युगदर्शन मिडियामा सहकर्मी धनवीर पुनसँगै म प्रकाश थापामगर । आज नयाँ अतिथिका साथ हामी तपाईंहरूको सामु प्रस्तुत भएका छौँ । आज हाम्रो अतिथि हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश समितिका सदस्य तथा गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका पूर्व सांसद खिमविक्रम शाही । आज हामीले उहाँसँग गण्डकी प्रदेशसँगै देशको समसामयिक राजनीति विषयको सेरोफेरो रहेर कुराकानी गर्न गइरहेका छौँ ।)
० सर्वप्रथम त खिमविक्रमलाई युगदर्शन मिडियामा स्वागत गर्दछु ।
:: नमस्कार । धन्यवाद छ तपाईंहरूलाई पनि ।
० आराम हुनुहुन्छ ?
:: आराम छु ।
० के कार्यक्रम लिएर आउनुभयो ?
:: अहिले राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम थियो । त्यसैमा सहभागी हुन आएको हुँ ।
० प्रशिक्षण कार्यक्रम भन्नुभयो, यो कस्तो खालको कार्यक्रम हो ? के हुन्छ यसमा ?
:: हाम्रो पार्टीले नियमित रूपमा क्लास चलाइराखेको हुन्छ । अहिले यो बाइसौँ क्लास हो । यसमा राजनीतिबारे, देशको बारे, जनताका बारे पढ्ने/पढाउने कार्यक्रम हुन्छ । त्यसैमा सहभागी हुन आएको थिएँ ।
० यस्ता कार्यक्रममा खालि केन्द्रीयस्तरका मान्छे अथवा सांसदहरू मात्रै आउने हो कि या अरू समग्र आमकार्यकर्ता आउँछन् ?
:: हैन । सांसद वा ठुलो पद भएका मात्र आउनुपर्छ भन्ने होइन । पार्टीभित्रका इच्छुक मैले लिनुपर्छ भन्ने साथीहरू यसमा आउन सक्नुहुन्छ ।
० अब गण्डकी प्रदेशको बारेमा कुराकानी गरौँ । फागुन २१ गतेको चुनावले बागलुङमा राष्ट्रिय जनमोर्चाको जनाधार खस्किएको हो कि जस्तो देखियो । खास वास्तविकता के हो ?
:: चुनावको परिणामबाट हेर्दा जनमत खस्किएकै हो । त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । सक्रियता वा अरू गतिविधिको आधारमा राष्ट्रिय जनमोर्चा ठिकै छ ।
० त्यहाँ तालमेलको कारणले पनि तपाईंहरूलाई अप्ठ्यारो परेको मान्न सकिने आधार छ कि छैन ?
:: जहाँ तालमेल वा गठबन्धन हुँदाखेरि कतिपय कुराहरू अब मिल्दो रहेनछ । बागलुङको दुइटा क्षेत्रमध्ये एउटा क्षेत्रमा राष्ट्रिय जनमोर्चाको उम्मेदवार र अर्को क्षेत्रमा नेकपाको उम्मेद्वार निश्चित गरेर हामीले गठबन्धन गर्यौँ । इमानदारीसाथ भन्नुपर्दा नेकपाका साथीहरूले कतिपय ठाउँमा इमानदारिता नदेखाएको पायौँ । त्यसले गर्दा गठबन्धनमा अलिकति समस्या हुँदो रहेछ भन्ने महसुस गरेका छौँ ।
० अर्को वर्ष फेरि चुनाव आउँछ । पछिल्लो चुनावको अनुभवबाट के सिक्नुभएको छ ?
:: २०८४ सालमा चुनाव हुनेछ । स्थानीय चुनाव पनि होला, प्रदेश चुनाव पनि होला । गत वर्ष फागुन २१ गतेको चुनावमा नसोचेको परिणाम आयो । परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा गयो । त्यसकारण अब आउने चुनावमा हामी अलि मजबुत भएर जानुपर्छ भन्ने अनुभव छ । यो अनुभवको आधारमा हामी बदलिएर जाँदा राम्रो हुन्छ भन्ने लाग्छ ।
० बागलुङमा तपाईंहरू गाउँ विकास समिति हुँदादेखि चुनावमा सहभागी हुनुहुन्छ । अहिले पनि विभिन्न पालिकामा तपाईंहरूका प्रतिनिधिहरू छन् । यस क्रममा बागलुङमा विकास निर्माणका उल्लेखनीय कामहरू के कस्ता गर्नुभयो ?
:: बागलुङमा राष्ट्रिय जनमोर्चाका विभिन्न पालिकामा प्रमुख/उपप्रमुख, वडाअध्यक्षहरू हुनुहुन्छ । कतिपय विकाससँग जोडिएका कुरा नभएका होइनन्, भएका छन् तर पनि नयाँ प्रकारको कार्यक्रम खासै भएका छैनन् । माथिबाट केन्द्र सरकारले, प्रदेश सरकारले जस्तो प्रकारले यो गर, ऊ गर भनेर दिएको छ, त्यसलाई फलो गर्नेबाहेक अरू सिर्जनशील नयाँ विकासका कार्यक्रम भएजस्तो लाग्दैन ।
० तपाईंहरूका जनप्रतिनिधिले केन्द्रबाट गरेको आदेशलाई चिरेर आफ्नै ढङ्गले अगाडि जाने खालको विकास निर्माणका काम गर्न मिल्दैन ?
:: साथीहरूले कतिपय ठाउँमा त्यो प्रकारले काम गर्नुभएको छ तर त्यो प्रकारले गर्दा नीति र विधिमा त रहनुपर्यो । सरकारले बनाएको नीति र विधि हो, हाम्रो पार्टीले मात्रै बनाएको होइन । संविधानमा रहेर काम गर्नुपर्ने हुन्छ । त्यसकारण ठ्याक्कै चिरेर ‘हामी यो प्रकारले गयौँ है, राष्ट्रिय जनमोर्चाले यो प्रकारको कार्यक्रम गर्यो’ भन्ने प्रकारको जान सकिँदैन । फेरि पनि कतिपय स्थानमा भएका अनियमितता, भ्रष्टाचार विरोधी कार्यक्रम, जनतालाई सचेत गराउने कार्यक्रम, विकास निर्माणसँग जोडेर जनतालाई सचेत गराउने कार्यक्रम राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिले गर्नुभएको छ ।
० भन्ने गरिन्छ, स्थानीय तह बनिसकेपछि गाउँगाउँमा सिंहदरबार गयो । तपाईंहरूले त्यस्तो पाउनुभएन ?
:: छैन, छैन । त्यो त ठुला भनाउँदा पार्टीहरूले, सरकारमा बसिरहने पार्टीहरूले भन्ने नारा मात्रै हो । त्यस्तो महसुस भएको छैन । गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि ।
० स्थानीय निकायलाई अलि बलियो बनाउन के कस्ता सुधार गर्नुपर्छ नीतिगत रूपमा भन्ने लाग्छ तपाईंलाई ?
:: अहिलेकै अवस्थामा स्थानीय तहलाई सुधार गर्ने छुट्टै प्रकारको सम्भावना छैन । हामीले पटकपटक भनिरहेका छौँ, सबै अधिकार पालिकालाई दिइनुपर्दछ । विकासको अधिकार पनि पालिकाले पाउनुपर्छ । यसरी केही विकास हुने थियो तर त्यसमा बाधक बनेको छ सङ्घीयता । त्यसकारण प्रदेशको सरकार खारेज गर्ने गरी संविधान संशोधन गरियो भने केही फरक हुन्छजस्तो लाग्छ ।
० संघीयताको त तपाईंहरू विरोधी नै पर्नुभयो तर त्यसो हुँदाहुँदै पनि तपाईंहरूले सङ्घीय प्रदेशको चुनावमा भाग लिनुभयो । तपाईंले त्यति लामो समय त काम गर्न पाउनुभएन होला । जति समय काम गर्न पाउनुभयो गण्डकी प्रदेशसभामा, तपाईंको आफ्नो अनुभव के कस्तो छ ?
:: सङ्घीयताको विरोध गर्दैमा त्यसमा भाग नलिने कुरा भएन । हामी नेपाली हौँ, नेपालभित्रै बस्नुपर्छ । अर्को कुरो म गण्डकी प्रदेशको सांसद भएको उपनिर्वाचनबाट हो । टेकबहादुर घर्तीको निधन भएपछि म सांसद भएँ । करिब तीन वर्षसम्म सांसद भएर काम गर्ने अनुभव मौका मिल्यो । त्यहाँ जसरी बाहिर बसेर वा भोटर भएर संसद्बारे कुरा गरिन्थ्यो, मुख्यमन्त्रीबारे कुरा गरिन्थ्यो, मन्त्रीबारे कुरा गरिन्थ्यो, आफै संलग्न भएर धेरै अनुभव बटुल्न पाइयो । त्यो अनुभव मैले ग्रहण गरेको छु ।
० तपाईं प्रदेश सांसदको रूपमा क्रियाशील हुँदाखेरि विकास निर्माणका काम अथवा जनताका समस्या समाधान गर्ने सवालमा प्रदेश सरकारले सम्बोधन गर्न सक्दो रहेछ कि सक्दो रहेनछ ? के पाउनुभयो ?
:: कतिपय कुराहरू सम्बोधन गरेको पनि देखिन्छ तर त्यो खासमा नीतिगत रूपमा त नभएर त मन्त्रीहरूको पहलको आधारमा, उनीहरूको शक्तिको आधारमा । त्यसरी कतिपय आफूहरू भएको ठाउँमा कार्यक्रम दिएर विकास निर्माणका भौतिक पूर्वाधार, बाटोघाटो आदि केही कुरा निर्माण भएको देखिन्छ । नीतिगत रूपमा त्यो सही छैन । किन सही छैन भने आखिर प्रदेशले पठाउने कार्यक्रम पालिकामा हो । त्यसमा जिगज्याग छ । कार्यक्रम पठाउँछ । कार्यक्रम पठाइसकेपछि प्राविधिक पनि प्रदेशकै हुनुपर्छ भन्छ । कतिपय पालिकालाई कुन कार्यक्रम परेको छ भन्ने पनि थाहा नभएका अवस्था छ । वडाअध्यक्षलाई थाहा नभएको पनि हुन्छ । त्यसकारण तालमेल मिलेको छैन ।
० यो जिगज्यागलाई सम्बोधन गर्ने उपाय केही छैन ?
:: उपाय किन नहोस् ? हुन्छ नि । उपाय गर्ने कुराभन्दा पनि सरकारमा बस्ने, सत्तामा बस्ने पार्टीका नेताहरूले त्यो प्रकारको व्यक्तिगत स्वार्थमा बढी लिप्त भएको हुनाले त्यो प्रकारको नीतिविधि बनाउन असजिलो भको छ । गर्ने हो भने त नहुने के छ र ?
० स्थानीय निकाय र प्रदेशले आत्मनिर्भर ढङ्गले कार्यक्रम अगाडि बढाउन अथवा त्यसरी जनताको समस्या समाधान गर्न के के खालको समाधान दिन सकिन्छ ?
:: एउटा कुरा त संविधान नै हो । संविधान मान्नुपर्यो । स्थानीय तहले कार्यक्रम छुट्टै बनाउनुपर्यो । त्यसका लागि कार्यविधि बनाउनुपर्यो । कार्यविधि बनाउँदा माथिको काममा बाँधा नपर्ने गरी बनाउनुपर्यो । त्यसकारण कतिपय संविधानमा संशोधन गर्ने कुरा छन् । ती संशोधन हुँदा बाधा फुकेको महसुस हुन्थ्यो ।
० अब राष्ट्रिय राजनीतिका कुरा गरौँ । नयाँ भनिएका शक्तिहरू आएपछि परम्परागत भनिने दललाई दुई कित्तामा बाँड्ने काम भएको छ । त्यो क्रममा राष्ट्रिय जनमोर्चालाई पनि पुरानो शक्ति हो भन्ने कुरा गरिन्छ । के वास्तवमा राष्ट्रिय जनमोर्चा पुरानो शक्ति हो कि नयाँ ?
:: यो त यिनीहरूको चुनावी नारा मात्र हो । चुनावमा हामीले देख्यौँ, त्यो हजुरले पनि भन्नुभयो । हजुरलाई पनि भोट माग्न आएका होलान् । हामी नयाँ दल, नयाँ मान्छे, पुरानो दलले ३५ वर्षसम्म काम केही गरेनन् भनेर अफवाह फैलाए । यसरी भोट माग्दै चुनाव जिते । जनताले पनि पत्याए । करिब दुईतिहाइ मत पनि दिए । अहिले उनीहरूको गतिविधि हेर्दाखेरि उही पुरानै भनेर जुन उनीहरूले ट्याग लगाएका थिए, तिनले भन्दा पनि झन् पुरानो काम गर्ने सोचका साथ आएका रहेछन् । अर्कोतिर, राष्ट्रिय जनमोर्चाले पनि पटकपटक कहिले संसदमा भाग लिने, कहिले पालिकामा जाने जनप्रतिनिधि हाम्रो पनि भएको हुनाले यिनी पनि पुरानै दल हुन् भन्ने ट्याग लगाएका हुन् । मेरो विचारमा यो पुरानो र नयाँ भनेको उमेरले हुने होइन । पुरानो नयाँ भनेको विचारले हुने हो । नयाँ विचार लिएको छ भने त्यसलाई हामी नयाँ भन्छौँ र पुरानो विचारलाई अवलम्बन गरेको छ भने त्यसलाई पुरानो भन्छौँ । त्यसैकारण राष्ट्रिय जनमोर्चालाई जुन प्रकारले पुरानो भनेर ट्याग लगाउँछन् भन्ने त्यो गलत छ ।
० बागलुङको हकमा कुरा गर्दा रास्वपाभन्दा त पुरानै होला नि, किनभने त्यहाँ गाउँ विकास समिति बनेदेखि नै तपाईंहरूको नेतृत्व छ ?
:: छ, छ । पार्टीस्थापनाको हिसाबले बागलुङमा मात्रै नभएर नेपालमै राष्ट्रिय जनमोर्चा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पुरानै भन्नुपर्यो, किनभने अस्ति भर्खर २०७९ सालमा रविले स्थापना गरेको पार्टी हो त्यो । उनीहरू भन्दा पहिलेको पार्टी हो राष्ट्रिय जनमोर्चा । बागलुङको हकमा कुरा गर्दा राष्ट्रिय जनमोर्चा गतिविधिमा अग्रसर भएको अवस्था हो । हाम्रा जनप्रतिनिधि उनीहरूले सोचेभन्दा पुराना पार्टीका हुन् । पुरानो पार्टीका केही गर्दैनन् भन्ने कुरो सत्य होइन । हाम्रा साथीहरूले निरन्तर जनताको काम गरिरहनु भएको छ । बागलुङवासी जनतासँग नियमित रूपमा विकास निर्माणका कार्यक्रम गरिरहनु भएको छ ।
० नयाँको कुरा गर्दाखेरि रास्वपा नयाँ हो त ? जस्तो कि हामीले चुनावमा देख्यौँ, असीजति सांसद त अरू पार्टीमा टिकट नपाएर त्यहाँबाट चुनाव जितेका छन् ।
:: त्यही त । त्यो हजुर आफैले भन्नुभयो । विभिन्न पार्टीमा बसेर काम गरिरहेका र अलि पछिल्लो पिरियडमा पदलोलुपहरू त्यो पार्टीमा गएर २०८२ सालको चुनावबाट सांसद हुनुभएको छ । त्यसकारण उहाँहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद हुनुभयो । त्यसैले उहाँहरूलाई नयाँ भन्न मिल्दैन ।
० अहिले नयाँ भनिएकाहरूको जो सरकार छ नि केन्द्रमा, यो सरकारको कामकारबाहीलाई कसरी बुझ्नुभएको छ ? हनिमुन पिरियड सकियो । अब सरकारको मूल्याङ्कन गर्न मिल्ला नि ?
:: सरकारका गतिविधिको सबैले आँकलन गरिसकेका छन् । अब हजुरहरू जस्ता मिडियाकर्मीले पनि राम्रै प्रकारले मूल्याङ्कन गर्नुभएको छ । ३५ वर्ष शासन चलाएको पार्टीले बिगारेको देशलाई हामीले भर्खर कसरी के गर्ने भन्ने कुरा गर्छन् उनीहरू । यिनीहरूको बेग्लै आधार देखिएको छैन । अब उनीहरूको बिचमा पनि पार्टी सभापति एकातिर, प्रधानमन्त्री अर्कातिर, अर्थमन्त्री अर्कातिर कताकता भएजस्तो पनि देखिन्छ । मेन्टेन गरेर खर्च बचाउँछौँ भनेर गफ गर्ने गर्थे । अहिले झनै खर्च थोपरिरहेछन् । स्वकीय सचिव नराख्ने भनेर चर्चा चलाए, अहिले उनैले फेरि स्वकीय सचिव राख्ने निर्णय गरे । प्रधानमन्त्री, मन्त्रीका लागि २७–२८ जना सल्लाहकार राखेका छन् । यस्ता थुप्रै प्रकारका गतिविधि यिनले गरिरहेका छन् । त्यसकारण योभन्दा अगाडिको केपी ओलीको सरकार, कङ्ग्रे्रेसको सरकार, नेकपाको सरकारले भन्दा गतिलो तरिकाले काम गर्लान्जस्तो लागेको छैन ।
० सत्तारूढ दलले प्रदेशसभा खारेज गर्ने कुरा गर्यो । यसमा तपाईंहरूको समर्थन वा विरोध के हुन्छ ?
:: राष्ट्रिय जनमोर्चाले सङ्घीय प्रदेश संरचना खारेज गरेर स्थानीय सत्तालाई बलियो बनाउनुपर्छ भन्ने कुरा गर्छ । रास्वपाले पनि प्रदेश खारेज गर्नुपर्छ त भनेको छ तर उद्देश्य उनीहरूको हाम्रोभन्दा फरक छ । हामीले प्रदेश सरकार खारेज गरेर स्थानीय स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ भनेका छौँ । उनीहरूले यो बोझ भयो, हटाउनुपर्छ भन्ने प्रकारको तर्क गरिरहेका छन् । उनीहरूको सोचाइमा सैद्धान्तिक आधार केही छैन । त्यसकारण उनीहरूको धारणाबारे समर्थन वा विरोध गर्नेमा कुनै कुरा छैन । हाम्रो आफ्नै स्पष्ट विचार छ ।
० अर्थात् तपाईंहरूले सङ्घीयता खारेज गरेर स्थानीय तहलाई बलियो बनाउन चाहनुहुन्छ तर रास्वपाको यससम्बन्धी कुनै नीति छैन।
:: छैन, त्यस्तो नीति केही पनि देखिन्न ।
० यो जिल्ला समन्वय समिति छ नि, बागलुङमा पनि तपाईंहरूकै प्रमुख हुनुहुन्छ । यो एकदमै औपचारिक प्रकारको भयो । कुनै काम गर्न सकेन । यसलाई पनि खारेज गर्दिए हुन्छ भन्ने कुरा पनि उठ्ने गर्छ । यसको महत्त्व छ कि छैन ?
:: यो कुरा उठिरहेको छ । सबैजसो पार्टीका कार्यकर्ताले जिल्ला समन्वय समितिको खासै महत्त्व भएन । खारेज गर्नुपर्छ भनेको सुनिन्छ । झट्ट हेर्दाखेरि यसको काम केही छैन । त्यहाँ जुन कर्मचारी छन्, जनप्रतिनिधि छन्, ती घट्थे होलान् तर पनि जिल्ला समन्वय समितिले केन्द्र सरकार र पालिकामाझ पुलको काम गरेको हुनाले यसको महत्व अझै छ भन्ने लाग्छ मलाई ।
० मतलब अझै के केही समय राख्नुपर्छ लाग्छ यहालाई ?
:: हजुर, राख्नुपर्छ भन्ने लाग्छ ।
० तर तपाईंहरूको प्रस्तावअनुसार प्रदेशसभा खारेज भएर समन्वयात्मक प्रदेश बनाइयो भने के हुन्छ ? त्यस्तो अवस्थामा जिल्लासँग यसको अधिकार ठोक्किन्छ कि ठोक्किन्न ?
:: त्यो त त्यति बेला नै ठोस आधारमा भन्न सकिन्छ । फेरि पनि त्यति बेला समन्वयात्मक प्रदेश संरचना भइदियो भने जिल्ला समन्वय समिति नहुन पनि सक्छ । त्यसको धेरै कुरामा महत्त्व नहुन सक्छ ।
० सरकारले अहिले संविधान संशोधन बहसपत्र अगाडि बढाइरहेको छ । त्यस क्रममा प्रतिवेदन पनि प्राप्त भइसकेको छ । संविधान संशोधन गर्नुपर्यो भने संशोधन गर्नुपर्ने विषय के के होलान् ?
:: संविधानमा संशोधन गर्नुपर्ने कुरा थुप्रै छन् । हामीले २०७२ सालमा संविधान बनाएको हो । संविधान सधैँभरि एउटै प्रकारले चल्छ भन्ने होइन । बेलाबेलामा आवश्यकताअनुसार संशोधन गर्नुपर्ने हुन्छ । संशोधन गर्नुपर्ने थुप्रै कुरामध्ये सङ्घीयता प्रमुख हो । २०७२ सालको संविधानलाई संशोधन गरेर प्रदेश संरचना खारिज गर्नु प्रमुख संशोधन हो । त्यसो गर्दा राम्रै हुन्छजस्तो लाग्छ ।
० सत्तारूढ दल र अहिलेका प्रधानमन्त्रीले राष्ट्रपतीय प्रणालीमा निकै जोड गरिरहेका छन् । के हुन्छ उनीहरूले भनेजस्तै राष्ट्रपतीय प्रणाली लागु गर्दा देशको विकास, निर्माण, स्थिरता सबै हुन्छ ?
:: हामीले राष्ट्रपतीय प्रणाली भएका अरू देश पनि देखिरहेका छौँ । राष्ट्रपति भएका कारणले विकास निर्माण काम बढी हुने र राष्ट्रपति नभएको कारणले विकास निर्माण नहुने भन्ने कुरालाई हामी मान्दैनौँ । हामीलाई लागेको कुरा हो, राष्ट्रपतिलाई कार्यकारी बनाउँदा ऊ झन् तानाशाह हुन्छ । कार्यकारी राष्ट्रपति भन्दाबित्तिकै अविश्वास प्रस्ताव नराख्न नपाइने हुन्छ । लगातार एउटै मान्छे राष्ट्रप्रमुख भइरह्यो भने हिजो जुनीभरि राजाले शासन चलाएकोजस्तो हुन सक्छ । त्यसकारण राष्ट्रपतीय प्रणाली अहिलेको परिप्रेक्ष्यमा ठिक हुँदैन भन्ने लाग्छ ।
० यो संसदीय प्रणालीले त राजनीतिक अस्थिरता, दलबदली, सत्तालोलुपतालाई वृद्धि गर्छ भन्छन् नि । त्यो हो कि ?
:: अँ त्यो पनि देखियो । संविधानभन्दा पनि ठुला पार्टीहरू जो सरकारमा बसिरहेका हुन्छन्, उनीहरू सरकारबाहिर रहँदा छटपटी हुने, त्यसपछि गडबडी गर्ने, सरकार ढलाउने, फेरि आफू जाने, कोसित मिलेर सत्तामा पुगिन्छ, त्यही गर्ने गर्दछन् । यसरी जसरी हुन्छ, जनताको समस्या समाधान गर्नेभन्दा पनि व्यक्तिगत स्वार्थ पूर्ति गरेको हुनाले गडबडी देखियो नै । नत्र भने अस्ति भर्खरै हामीले लेखेको गणतन्त्रिक संविधानले दिएका जुन प्रकारका अधिकार छन्, त्यसभित्रको कर्तव्य पूरा गर्नुपर्छ । त्यो कर्तव्य पूरा नगरेको हुनाले नै यो प्रकारको गडबडी देखियो । यो अवस्थामा संसदीय व्यवस्था नै ठिक छ भन्ने लाग्छ ।
० संविधान संशोधनको कुरा गर्दा कतिपयले यो गणतान्त्रिक व्यवस्था नै काम नलाग्ने भइसकेको छ, यसलाई फेर्नुपर्छ, पुरानोतिर फर्किनुपर्छ भन्ने प्रतिगामी कोणबाट भनौँ न, कुरा आएको छ । यसलाई कसरी लिनुहुन्छ ?
:: २०६२–६३ सालको जनआन्दोलनले संविधानसभाको चुनावतिर उन्मुख बनायो । २०७२ सालको संविधान लेख्ने बेलामा पनि गणतन्त्रिक संविधान लेखियो । संविधानसभाको चुनाव पनि उनीहरूले उपयोग गरे । त्यति बेलाका पार्टीहरूले समर्थन गरेका थिए संविधानसभालाई । संविधानसभाको चुनाव भएपछि यही नै हुन्छ भन्ने उनीहरूलाई हेक्का नभएर पनि हुन सक्छ । उनीहरूले सोचेजस्तो अहिले भएको छैन । संविधानसभाले बनाएको संविधान भएकाले हामी पछि पर्यौँ भन्ने कुरा सोचेका हुन सक्छन् । नत्र हिजोको राजतन्त्रभन्दा अहिलेको गणतन्त्र जनताको लागि प्रगतिशील व्यवस्था हो ।
० हामी अन्तर्वार्ताको अन्तिमतर्फ छौँ । जाँदाजाँदै मैले तपाईंलाई सोध्न चाहेँ, बागलुङको भौतिक विकास निर्माण अथवा त्यहाँका जनताको समस्या समाधान गर्न तपाईंसित त्यस्तो रोडम्याप के छ ? के के गर्दाखेरि बागलुङे जनताको समस्या समाधान हुन्छ अथवा त्यहाँको भौतिक विकास निर्माण हुन्छ ?
:: बागलुङ जिल्ला पनि नेपालको दुर्गम जिल्लामध्ये एउटामा पर्छ । यहाँ गर्नुपर्ने धेरै कुरा छन् ।
हाम्रै क्षेत्रको ढोरपाटनमा उत्तरगङ्गा जलविद्युत् आयोजना प्रस्तावित छ । त्यसलाई अगाडि बढाउनुपर्दछ । सरकारले त्यसप्रति ध्यान दिनुपर्दछ । त्यसले धेरै कुरा दिन्छ । हामी रुकुम पश्चिमसँगै म्याग्दीसँग पनि जोडिएका छौँ । पल्लोतिर हामी रुकुम पूर्वसँग जोडिएका छौँ । यी तीनोटै जिल्लासँगै हामी रोल्पासँग पनि नजिकै छौँ । त्यसरी हामी ती जिल्लाहरूसँग पनि जोडिने प्रकारका अर्थात् रोल्पासँग जोडिने, मुस्ताङसँग जोडिने, गुल्मीसँग जोडिने गरी सडक बनाउनुपर्ला । यस क्षेत्रका जुन हिमाल, पहाड, झरनासँगै कतिपय हाम्रो संस्कारसंस्कृति, मठमन्दिर छन्, ती सबैलाई जोडेर विकास गर्न सकियो भने बागलुङको विकास केही अगाडि बढ्छ भन्ने लाग्छ ।
० महत्त्वपूर्ण समय युगदर्शनलाई दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद ।
:: धन्यवाद छ । युगदर्शनले मलाई स्टुडियोमा बोलाएर आफ्नो कुरा भन्ने अवसर दिनुभयो । युगदर्शन परिवारलाई मेरो धन्यवाद छ ।
(२०८३ साउन १५ गते युगदर्शन मिडियाका लागि कार्यकारी सम्पादक प्रकाश थापामगरले लिनुभएको भिडियो अन्तर्वार्ताको सम्पादित सामग्री । भिडियो अन्तर्वार्ताको पूर्ण पाठ युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न सकिनेछ ।)