टोकियो जापान । जापानको आओमोरी प्रिफेक्चर नजिकै समुद्रमा माछा मार्ने डुङ्गा र मालवाहक जहाज ठोक्किँदा ४ जनाको ज्यान गएको छ । स्थानीय कोस्ट गार्डका अनुसार उक्त दुर्घटना मंगलबार बिहान करिब १ः१५ बजे मिसावा बन्दरगाहबाट करिब २० किलोमिटर उत्तरपूर्वमा भएको हो।
७४८ टन क्षमताको मालवाहक जहाज “Suehiro Maru” र १४० टनको “Kofuku Maru No. ६५” नामक माछा मार्ने डुङ्गाबीच ठोक्किँदा डुङ्गा पल्टिएको थियो । उक्त डुङ्गामा १३ जना सवार थिए, जसमा ९ जनालाई दुर्घटनापछि छिट्टै उद्धार गरिएको थियो ।
हराइरहेका ४ जनालाई बिहान करिब ७ बजेसम्म खोजी गरिँदा भेटिएको थियो, तर उनीहरूको मृत्यु भइसकेको पुष्टि गरिएको छ । उद्धारमा संलग्न एक ७३ वर्षीय व्यक्तिका अनुसार रातको अँध्यारोका कारण खोजी कार्य निकै कठिन भएको थियो ।
डुङ्गा पूर्ण रूपमा डुबेको अनुमान गरिएको छ भने मालवाहक जहाज भने सुरक्षित रहेको बताइएको छ । दुर्घटनाको समयमा मौसम सफा भए पनि करिब २६ किलोमिटर प्रतिघण्टा हावाहुरी चलिरहेको थियो र समुद्रमा करिब १ मिटर उचाइका छालहरू थिए । पानीको तापक्रम करिब ८ डिग्री सेल्सियस रहेको थियो ।
कोस्ट गार्डले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।