जोमसोम । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपियाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान छ ।
कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल छ सय ६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको हो ।
कृषि तथा पशु विकास प्रमुख डा लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ रु २३ करोड छ लाख र परम्परागत स्थानीय स्याउ रु ९१ करोड ९० लाख ९१ हजार बराबरको उत्पादन भएको छ । यस वर्ष मुस्ताङमा हाइब्रिड र स्थानीय जातका स्याउ गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।
प्रमुख डा अर्यालका अनुसार हाइब्रिड स्याउ नौ सय ५९ दशमलव ६२ मेट्रिक टन र स्थानीय परम्परागत स्याउ छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।
स्याउ बगैँचामा पुगेर कृषि प्राविधिकले क्रपकटिङ विधिअनुसार स्याउको औसत उत्पादन मापन गरिएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ । यसका अलावा स्याउको उत्पादन परिमाण अनुमान गर्न सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक तथा स्याउ किसानसँग समन्वय गरिएको उनले जानकारी दिए ।
रु ९४ करोड ८० लाख ९२ हजार बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने जनाइएको छ । त्यस्तै रु १७ करोड ५६ लाख बढीको स्याउ जिल्लाभित्रै खपत भएको छ । जिल्लामा हाइब्रिड स्याउ प्रतिकेजी रु २४० र स्थानीय परम्परागत स्याउ प्रतिकेजी रु १५१ बराबर मूल्य निर्धारण गरिएको छ ।
मुस्ताङमा गत वर्ष छ हजार छ सय ८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । प्रमुख अर्यालका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन सय ५४ दशमलव २४ मेट्रिक टन अर्थात् (पाँच दशमलव २९) प्रतिशत बढी स्याउ फलेको छ ।
जिल्लामा नौ सय १७ हेक्टर क्षेत्रफलमा स्याउबगैँचा विस्तार भएको छ, जसमध्ये हाइब्रिड स्याउको क्षेत्र ७६ हेक्टर र स्थानीय परम्परागत स्याउको क्षेत्र ८४१ हेक्टर रहेको छ । (रासस)





