गोपालप्रसाद भट्टराई, नुवाकोट (अर्घाखाँची) ।
खेलकुदलाई स्थानीय पर्यटन प्रवद्र्धनसँग जोड्ने उद्देश्यका साथ अर्घाखाँचीको भूमिकास्थान–१० धनचौरस्थित पर्यटकीय स्थल आरिचौर खेलमैदानमा प्रथम धनचौर टी–१२ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
मुनलाइट युवा क्लबको आयोजना र धनचौर युवा समाजको सह–आयोजनामा २०८३ कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगिताको भूमिकास्थान नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताले स्थानीय युवाको खेलप्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्नुका साथै धनचौरका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । खेलकुदमार्फत स्थानीय क्षेत्रको पहिचान विस्तार गर्ने र युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
उद्घाटन समारोहमा नगरप्रमुख थापा र भूमिकास्थान–१० का वडाध्यक्ष खगेश्वर पन्थीले खेलकुदले शारीरिक स्वास्थ्य, प्रतिभा विकास, सामाजिक एकता र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
खेल तथा खेलाडीको विकास र हितका लागि आफूहरूले काम गरिरहेको उल्लेख गर्दै उहाँहरूले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुदको माध्यमबाट धनचौरका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटन विकासमा योगदान पुर्याउने आयोजकको प्रयासको उहाँहरूले खुलेर प्रशंसा गर्नुभयो ।
नगरप्रमुख थापाले सेङलेङ होमस्टे सञ्चालनका लागि नगरपालिकाले गरेको लगानी र अघि सारेका योजनालाई सफल बनाउन स्थानीयवासीको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले सेङलेङमा रहेको चिया बगानलाई समेत कृषि पर्यटनसँग जोड्न सकिने उल्लेख गर्दै स्थानीय सम्भावनाको सदुपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो ।
धनचौर तथा आसपासका क्षेत्रमा धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्त्व बोकेका विभिन्न स्थल रहेका छन्, । सुपादउराली आएका पर्यटकलाई सेङलेङ स्थित पाथीभरा मन्दिर दर्शन गराउनुपर्नेमा उहाँको जोड रहेको छ । सेङलेङ होमस्टेमा बास बसालेर सेङलेङदह, आरिचौर, लक्ष्मीडाँडा गुम्बा, मृगस्थली झरना, सिद्धगुफा र नुवाकोट दरबार, पोखेडाँडा,दुर्बाङ, भुकफेदी, खाकबेसी लगायतका स्थल हुँदै भूमेकाथान मन्दिर सम्म पुर्याउने र त्यहिंबाट सन्धिखर्क सहित अन्तरपालिका भ्रमण गराउन सकिने नगरप्रमुख थापाले बताउनुभयो । यी पर्यटकिय स्थलमा व्यावसायिक पर्यटकीय गतिविधि विस्तार गर्न सकिने नगरप्रमुख थापाको तर्क छ ।
यी सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्न प्रचारप्रसारसँगै पूर्वाधार विकास, स्थानीय सहभागिता र पर्यटकीय गन्तव्यबिचको समन्वय आवश्यक देखिन्छ । खेलकुद प्रतियोगिताजस्ता कार्यक्रमले स्थानीय क्षेत्रलाई चिनाउने अवसर प्रदान गर्ने भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिन सके धनचौरको पर्यटन विकासमा समेत योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा भूमिकास्थान–१० का जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा, खेलप्रेमी युवा तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटन समारोहको सहजीकरण आयोजकका तर्फबाट सन्दीप गैरे, लीलबहादुर जिसी र कृष्णप्रसाद गैरेले गर्नुभएको थियो ।
स्थानीय युवाको सक्रियता र सामुदायिक सहकार्यमा सुरु भएको प्रतियोगिताले खेलकुदको विकाससँगै धनचौरका पर्यटकीय सम्भावनालाई व्यापक रूपमा चिनाउने अवसर प्रदान गरेको छ । अब यस्ता प्रयासलाई दीर्घकालीन पर्यटन योजना, स्थानीय सहभागिता र आवश्यक पूर्वाधार विकाससँग जोड्न सके धनचौरको पर्यटकीय पहिचान विस्तार गर्न थप मदत पुग्नेछ ।






