वासिङ्टन डीसी । अमेरिकाले आफ्नो देशको नागरिकता त्याग्न चाहने व्यक्तिहरूले तिर्नु पर्ने शुल्क करिब ८० प्रतिशतले घटाएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार संघीय रजिष्टरमा प्रकाशित अन्तिम नियममार्फत शुल्क २ हजार ३५० डलरबाट घटाएर ४५० डलरमा झारेको घोषणा गरेको हो ।
सन् २०१५ मा प्रशासनिक खर्च बढेको भन्दै शुल्क ४५० डलरबाट बढाएर २ हजार ३५० डलर पुर्याइएको थियो । त्यो समयमा अमेरिकी नागरिकता त्याग गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको थियो ।
उच्च शुल्कको विभिन्न अधिकार समूहहरूले विरोध जनाउँदै आएका थिए । विशेषगरी फ्रान्समा आधारित एशोसियशन अफ एक्सिडेन्टल अमेरिकन्सले शुल्क असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो । यस संस्थाले अमेरिकामा जन्मिएका तर जीवनको अधिकांश समय विदेशमा बिताएका व्यक्तिहरूको प्रतिनिधित्व गर्छ, जसले अनिच्छित रूपमा अमेरिकी नागरिकता पाएको दाबी गर्छ । संस्थाले दायर गरेको एक मुद्दा अझै विचाराधीन छ, जसमा नागरिकता त्याग गर्न कुनै शुल्क नै लाग्नु हुँदैन भन्ने माग गरिएको छ ।
अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया लामो, जटिल र संवेदनशील मानिन्छ । आवेदकहरूले विदेश मन्त्रालयका कन्सुलर अधिकृतसमक्ष बारम्बार लिखित र मौखिक रूपमा आफूले निर्णयको प्रभाव बुझेको पुष्टि गर्नुपर्छ । त्यसपछि मात्र औपचारिक रूपमा नागरिकता त्याग शपथ लिन अनुमति दिइन्छ, जसलाई विभागले अन्तिम रूपमा स्वीकृत गर्छ ।