काठमाडौँ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण शनिबार देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार अघिसम्म वर्षा गराएको चक्रवात ‘मोन्था’ भने नेपालबाट बाहिरिसकेको हो ।
पछिल्ला केही दिनमा देशका कतिपय स्थानमा भारी वर्षा र हिमपातसमेत भएको छ । पछिल्लो वर्षाले खासगरी बिपी राजमार्गमा सवारी आवागमनमा समस्या निम्त्याएको ट्राफिक प्रहरीले जनाएको छ ।
यता मनसुन सकिएपछि भइरहेको पछिल्लो बर्खाले चिसो पनि बढाउने मौसमविद्ले बताएका छन् । उनीहरूका अनुसार नेपालमा हिउँदयाममा भूमध्य सागरबाट आउने वायुले वर्षा गराउँछ ।
भूमध्यसागरबाट आउने वायु इरान, अफगानिस्तान, पाकिस्तान र भारतको उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिमबाट भित्रिन्छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिवार साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी र मधेस प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।
त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले शुक्रबारसम्म गरिरहेको चक्रवात मोन्था नेपालबाट बाहिरिएर अहिले बङ्गलादेश पुगेको तर त्यसको असर केही दिनसम्म रहनेछ ।
त्यस क्रममा कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आइतबार पनि हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।
त्यस्तै आजभन्दा भोलि र भोलिभन्दा पर्सि मौसममा सुधार हुँदै जाने विभागको पूर्वानुमान रहेको छ ।