भद्रपुर । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
२०८२ असोज १६ गते बिहीबार बिहान साढे ९ बजे विराटनगरबाट काँकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको प्र १–०१–००१ ख ४४५९ नम्बरको बस बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टिस्टेटअगाडि अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन् । दुर्घटनामा परी अरू १३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा इटहरी–११ का ३८ वर्षीय गुलशनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अङ्किता शर्मा, ६ वर्षीया छोरी मनसुई शर्मा र ३७ वर्षीया बिनु शर्मा छन् । मनसुई र बिनुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङ, विराटनगर–२ का ४२ वर्षीय सहचालक सोमकुमार भुजेल, पाँचथर कुम्मायक–६ की २८ वर्षीया गङ्गा लिम्बू, झापा कमल–७ का ८ वर्षीय लोजिहाङ लावती, २३ वर्षीया सुहाना लिम्बू र ५ वर्षीय भतिजा मेङ्सो लिम्बू पनि घाइते भएका छन् ।
एवम् प्रकारले विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ की ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू छन् ।
उनीहरूलाई हातखुट्टा र अनुहारमा चोट लागेकाले सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ । घाइतेलाई बिएन्डसी अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।