कल्पना पोखरेल, उपाध्यक्ष, अखिल नेपाल महिला सङ्घ ##
स्रोता तथा दर्शकवृन्द । युगदर्शन मिडियाको तर्फबाट गोविन्दकुमार शर्मा म प्रकाश थापामगरको नमस्कार । गत भदौ २४ गते जेएनजी आन्दोलनको नाममा राष्ट्रिय जनमोर्चाका सुर्खेत, अर्घाखाँची, प्युठान बुटवलका कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । २०८२ असोज ३ गतेका दिन उक्त घटनाका प्रत्यक्षदर्शीसित कुराकानी गरेर हामीले एउटा सामग्री तयार पारेका छौँ । प्रस्तुत छ सो सामग्री ।
० कल्पनाजी । सर्वप्रथम त तपाईंलाई युगदर्शन मिडियाको तर्फबाट स्वागत गर्न चाहन्छौँ ।
:: हजुर, धन्यवाद ।
० अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको कार्यालयमा तोडफोड र आगजनी भयो । त्यो घटना कहिले, कसरी भयो ? बताइदिनुस् न ।
:: भदौको २४ गते बिहान आएर सुरुमा यहाँ सिसा हान्ने काम भयो । झ्यालबाहिरबाट सिसा हानेर तोड्ने, तोडफोड गर्ने काम भयो । यति मात्रै गर्ने रहेछन् भनेको, फेरि पछि दिउँसो फर्केर आएर एमालेको पार्टी कार्यालय जलाए । काङ्ग्रेसको कार्यालय र वडा कार्यालय जलाइसकेपछि फेरि हाम्रो अफिसमा आए । लगभग हजार मान्छेभन्दा कमको सङ्ख्या थिएन । एक्कासि झ्यामझुम तोडफोड गरेर भित्र पसेर यहाँका सामान नै आगो लगाउन थालेका थिए । आसपासका घरका मानिसले अनुरोध गर्यौँ, यहाँ यो जलाउँदाखेरि सबै नोक्सान हुन्छ, वरपरका घर जल्छन् । यहाँ जलाउनुहुन्न भनिसकेपछि, सामान सबै निकालेर पल्लोतिर खोलामा लगे । त्यहाँ भएका लगभग १८–१९ ओटा टिनका दराजलगायत कम्प्युटर, फोटोकपी मसिन सबै लगेर त्यहीँ जलाए । यहाँका पङ्खा पनि काम नलाग्ने बनाएका छन् । ढोका सबै निकालेर तोडेर लगे । त्यो भेलमा कसैको केही लागेन ।
० तपाईंहरूले केही सामान बचाउने प्रयास गर्नुभयो ?
:: सामान बचाउने कोसिस त गरेको तर त्यो भेलमा एउटाले एकफेर बोल्ने हो भने उनीहरू एकैफेर झुम्मिन्थे । मान्छेलाई लछारपछार गर्ने स्थितिमा आइराखेका थिए । त्यसो भएर यहाँका अलिअलि सामान, यसो एकदुइटा बिस्तरा बचाउने काम भयो । यहाँ टन्नै किताबको सङ्ग्रहालय थियो । त्यो जोगाउन सम्भवै थिएन । मान्छे धेरै भए । त्यसमध्ये कोही अलि खाएका थिए । कोही कस्ता मान्छे, कोही कस्ता मान्छे । त्यो बगाल कहाँबाट आएको थियो ? त्यो जोगाउन सक्ने अवस्था नै रहेन । यहाँका ढोकासम्म उखालेर खोलामा जलाए । ढोका, दराज, पङ्खा त पूरै निमोठेर काम नलाग्ने बनाए । नास्ता खाने भाडाकुँडा थिए, तिनी भाडा, बिस्तरा, कार्पेट, दुई सेट सोफा, कुर्ची थिए । करिब करिब ७०–८० ओटा कुर्सी थिए । सामान त धेरै नै थियो । सबै लगेर खोलामा जलाए । यो कन्ट्रोल गर्न सकिएन । फोटा थिए माक्र्स, लेनिन, स्टालिन, माओका, दुई/तीन सेट, ती फोटा जलाए । कुर्सी, बेन्चटेबुल ग्याँस केही नै राखेनन् । घर मात्र बच्यो भन्ने हो, ढोकाझ्याल केही बाँकी छैन । सकिएन बचाउन । सबै गए ।
० आगजनी हुनुभन्दा पहिला तपाईंको कार्यालयलाई आगजनी गर्न आउँदैछन् भन्ने खालको त्यस्तो पूर्व सूचना पाउनुभएको थियो कि थिएन ?
:: त्यस्तो सूचना पाइएन । बिहान हानेर गइसकेपछि तिनीहरू आउँदैनन् होलाजस्तो लाग्यो । त्यसो भएर हामीले केही पनि सुरक्षित गर्न सकिएन । केही सूचना भएन । पछि एक्कासि त्यो भिड आएर तोडफोड गर्यो । पुलिस प्रहरीले पनि केही गर्न सकेनन् । जताततै छोडिदिए । उनीहरू आइसकेपछि यहाँ कसैको केही लागेन । पछाडि आउँदैछन् भन्ने थाहा भएन । अन्त अन्त जलाएपछि जान्छन् कि भन्ने भएर हामी यसो हेरेर आइयौँ तर सकिएन बचाउन ।
० यो तोडफोड, आगजनीको पछाडि कुन शक्तिले अथवा तपाईंहरूसँग कसैको रिसइबी भएको, कसको हात होला भन्ने लाग्छ, अनुमानको हिसाबले ?
:: त्यो त ठ्याक्कै भन्न त सकिन्न, प्रमाणित हुँदै जाला । हामीले पनि त्यो छानबिन गर्ने भनेर लागिराखेका छौँ । त्यो थाहा हुन्छ तर चिनेका मान्छे पनि थुप्रै हुनुहुन्छ । हामीसँग भिडियो छन् । कतिपय नचिनेका मान्छे पनि थिए, आगो लाउने बेलामा । केही जोगाउनै सकिएन । के मान्छेको हुल आयो ।
० त्यसरी आगजनी हुँदा प्रहरी प्रशासनको सहयोग माग्नुभयो कि माग्नुभएन ? प्रहरी प्रशासनले कस्तो व्यवहार गर्यो त्यति बेला ?
:: उहाँहरूले सबै छोडिदिनुभयो । हाम्रा सुरक्षामा कोही आएर बसेनन् । एमालेको पार्टी अफिस त सरकार पक्षकै भयो, त्यहाँ त पुलिस बसिराख्नुभएको थियो । हाम्रो ५ नम्बर प्रदेशको चेतनारायण आचार्यको घरमा पनि चार जना प्रहरी गार्ड बसिराख्नुहुन्थ्यो । हुल जाँदाखेरि उहाँका पुलिस भाग्नुभयो । केही लागेन नि । उहाँहरूले तमासा हेरिराख्नुभयो । यहाँ त प्रहरी आउँदै आउनुभएन । उहाँहरू पनि तर्सिनुभयो ।
० तपाईंले अगाडि भन्नुभयो केही मान्छेलाई चिनेका छौँ, चिनेका मान्छे पनि छन् भन्नुभयो । यो तोडफोडको विषयमा कानुनी उपचारमा जाने तपाईंहरूको केही सोचाइ छ कि छैन ?
:: हामी जाने सोचेका छौँ । प्रहरीहरू पनि आउनुभएको थियो । मुचुल्का उठाएर लैजानुभएको छ सामानको । यहाँ तोडफोड भएको पनि देख्नुभयो । फोटा खिचेर लानुभएको छ । हामीले सामानको कति क्षति भएको छ भन्ने सबै मुचुल्का उठाएर दिएका छौँ । केही न केही पोलिसी बन्दै जाला नि । हामीले पनि चिनेका मान्छे छन् । आन्दोलन चलिरहेको थियो जेनजीको । त्यसमा अरूको संलग्नता भयो । घुसपैठ भयो । सबै तिनीहरू होइनन् । घुसपैठ भएकाजस्तै विभिन्न दलबाट कुण्ठित भएर बसेका, कुनै दलमा सरोकार नराख्ने वा समर्थन नगर्ने व्यक्ति पनि हामीले देख्यौँ । सानो बच्चाले मात्रै यत्रो गर्न कहाँ सक्छन् ? उहाँहरूको आन्दोलन हुँदो हो एउटा विषयलाई लिएर । घुसपैठ भएर नै यस्तो भएको हो । सामान फाल्दा फुटबल खेलाएर भाच्ने, तोडेर खोलामा लग्ने, त्यमाथि उफ्रिने । ती त मानव नैतिकता नभएका मान्छे हुन् ।
० जुन आगजनी भएको छ, यसको पुनर्निर्माणका लागि केही योजना बनाउनुभएको छ ?
:: पुनर्निर्माण त गर्नुपर्ला । अलिकति नगरीकन यसो बस्नेजस्तो केही छैन । त्यसको लागि योजना बनाउँदैछौँ ।
० त्यहाँको घटनासम्बन्धी केही छुटेका केही छन् कि, त्यस्तो भन्नुपर्ने अरू केही छ ?
:: मोटामोटी रूपमा यही हो । त्यसरी आएर हमला भयो । के रिसइबी थियो ती मान्छेलाई ? त्यो एउटा आन्दोलनको नाममा अरूले आएर हमला गर्नुपर्ने ? कुन स्पिरिट हो ? उहाँहरूको उद्देश्य के हो ? कुन उद्देश्यले नोक्सान गरेको हो ? न त हाम्रो पार्टीले कहिले भ्रष्टाचार गरेको छ । सधैँभरि भ्रष्टाचारको विरोध गरेकै छ । सधैँभरि सङ्घीयता खारेज गर्नुपर्छ भनेको छ । कसैले हामीलाई दाग लाउन सकेका छैन बरु हाम्रो पार्टी सानो भएर बसेको होला । कोही अवसरवादी जन्मिन्छन् । अरू पार्टीका हाई हाई देखेर हाम्रो पार्टीमा त्यस्तो गर्न खोज्छन् । त्यतिखेर हाम्रो पार्टीले कारबाही गरेको छ । त्यसकारण हाम्रो पार्टी सानो भएको छ ।
अरू दोष लगाउने ठाउँ हाम्रो पार्टीमा अहिलेसम्म छैन । हाम्रो पार्टीको फलानो नेताले भ्रष्टाचार गर्यो भनेर अहिलेसम्म कसैले दोष लाउन सकिराखेका छैनन् । कोही कोही अरू पार्टीमा गएर रमाउनका लागि जानुभएको छ । कमाउनको लागि जानुभएको छ । यहाँ छिमेकीले पनि भनिराख्नुभएको छ, अरूको जलाए पनि जनमोर्चाको पार्टी अफिस नजलाउनुपर्ने, कति गरेर चन्दा उठाएर सबैसित सहयोग मागेर जोडेका सामान हुन् । सहयोग उठाएर बनाएको अफिस हो । हामीले पनि चन्दा दिएका छौँ । न त सरकारमा छ, न भ्रष्टाचार गरेको छ । त्यो पार्टीको नजलाउनुपर्ने, किन जलाए भन्ने कुरा त यहाँ सबै बजारवासीबाट आइराखेको छ ।
० कल्पनाजी, महत्त्वपूर्ण जानकारी दिनुभयो, त्यसको लागि युगदर्शनतर्फबाट धेरै धेरै धन्यवाद ।
:: हस्, धन्यवाद, मलाई पनि केही कुरा राख्ने दिनुभएकोमा धन्यवाद ।