काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ ।
यस क्रममा पछिल्ला २४ घण्टामा सुर्खेत र पर्वतमा अध्यधिक वर्षा भएको जल तथा मौसम विभागले जनाएको हो ।
विभागका अनुसार सुर्खेतको खानी खोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन मिलिमिटर अर्थात् मुसलधारे वर्षा भएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले न्यूनचापीय प्रणाली सक्रिय रहेकाले पश्चिम क्षेत्रको निश्चित केन्द्रमा बढी, तर सीमित क्षेत्रमा खण्डित वर्षा भएको बताइन् ।
विभागका अनुसार पर्वतको पञ्चासेमा पनि १७९ दशमलव तीन मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा मापन हो । यस्तै, बाँकेमा पनि १४६ दशमलव तीन मिलिमिटर वर्षा भएको ।
यसैगरी दाङमा १३८, दार्चुलामा १०७, सिन्धुपाल्चोकमा १०५ मिलिमिटर वर्षा भएको छ भने १२ भन्दा बढी स्टेसनमा ८० देखि १०० मिलिमिटरको बिचमा वर्षा भएको छ ।
धेरै मापन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बिचमा वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ । मौसमविद् मानन्धरले आज दिउँसो र साँझसम्म वर्षा अलि बढी हुने र भोलि भने केही कम हुने बताइन् ।
स्थानीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षा भएको र पूर्वमा भने बङ्गालको खाडीबाट आएको प्रणालीको असर भएको विभागले जनाएको छ ।