पोखरा । भ्रष्टाचार तथा महँगीको विरुद्धमा राष्ट्रिय जनमोर्चा कास्कीले कार्यक्रम सम्पन्न गरेको छ ।
राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका अध्यक्ष शङ्कर बरालको प्रमुख आतिथ्यमा २०८२ साउन ३० गते शुक्रबार पोखराको पृथ्वीचोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले देशमा भ्रष्टाचार चरमचुलीमा पुगेको बताउनुभयो ।
‘देशमा भ्रष्टाचारले सीमा नाघेको छ’ उहाँले भन्नुभयो– ॅजबसम्म भ्रष्टाचारको अन्त्य हुँदैन, तबसम्म देशको विकासनिर्माणले गति लिन सक्दैन ।’
उहाँले देशका सत्तासिन शासक वर्गले नै भ्रष्टाचारलाई मलजल गरिरहेको आरोप लगाउनुभयो ।
‘तपाईंहामीलाई थाहै छ, सत्ताको वरिपरि बस्नेले नै भ्रष्टाचारलाई मलजल गरिरहेका छन्’ अध्यक्ष बरालको भनाइ थियो– ‘भ्रष्टाचारको मामिलामा काङ्ग्रेस, एमाले र माओवादीमा मात्रात्मक मात्रै फरक छ, गुणात्मक फरक छैन ।’
उहाँले भ्रष्टाचारको विरुद्धमा स्थानीयदेखि केन्द्रीयस्तरसम्मै आवाज उठाउन जनतासित आग्रह गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढाकाराम पौडेल र अखिल नेपाल जनजाति सम्मेलनका पूर्व उपाध्यक्ष केबी थापाले पनि सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य लक्ष्मी कुँवर, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का गण्डकी प्रदेश समितिका अध्यक्ष चन्द्रबहादुर जिसी, जनजाति सम्मेलनका गण्डकी प्रदेश समितिका अध्यक्ष डम्बरबहादुर थापा, अप्फा कास्कीका अध्यक्ष गङ्गाबहादुर थापा, अखिल नेपाल बुद्धिजीवी सङ्घ कास्कीका अध्यक्ष प्रवीण पौडेल, नेकपा (मसाल) कास्कीका पूर्व प्रवक्ता चन्द्रबहादुर केसी र जातीय समता समाज कास्कीका अध्यक्ष प्रेम विकको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले गर्नुभएको थियो ।
