(घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी राष्ट्रिय जनमोर्चा दाङका जिल्ला सदस्य चन्द्रबहादुर रावत गाउँसमाज, टोलछिमेकदेखि राजमोका नेताकार्यकर्ता पनि उहाँलाई घोराहीका माल्दाइ भनेर सम्बोधन गर्छन् । उनै माल्दाइसित गणेश आचार्यद्वारा गरिएको सानो संवाद यहाँ प्रस्तुत गरिएको छ ।)
० माल्दाइ नमस्ते ।
ःः नमस्ते ।
० सन्चैआरामै हुनुन्छ ?
ःः हजुर आरामै छु ।
० आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?
ःः आजभोलि खेतीपातीको समय छ । त्यसैमा व्यस्त छु । कुलोमा पानी राम्रोसित चलेको छैन । पानी चल्यो भने खेती गर्ने हो । अहिले त्यसैको तयारीका काममा लागिरहेको छु ।
० हेर्दा त अलि ज्येष्ठ नै देखिनुहुन्छ । कति वर्षको हुनुभयो र खेती गर्दैछु भन्नुहुन्छ ?
ःः मेरो उमेर त ६७ वर्षको भयो । उमेरका हिसाबले ज्येष्ठ नै हो तर म अहिले पनि हलो जोत्छु । मैले अहिलेसम्म ट्रयाक्टर प्रयोग गरेको छैन । किसानले गर्नुपर्ने सम्पूर्ण काम गर्न सक्छु तर समस्या स्याहार गर्ने मान्छेको छ । मैले म बुढो भएँ, गर्न सक्दिनँ भनेर आफूले गर्ने कुनै काम रोकेको छैन ।
० खेतीपातीको प्रसङ्ग उठाउनुभयो । नेपालमा मलको सधैँ अभाव हुन्छ । अहिले त्यो अभाव छ कि छैन ?
ःः मलको अभावबाट अहिले पनि अछुतो छैन । मल पाइरहेको छैन । म टोलविकासको अध्यक्ष भएकाले किसानहरू मल गराइदिनुस् भन्न आउँछन् तर मल आएकै छैन । मलमा देश सधैँ पराधीन अवस्थामा छ । हामीले मल पाउने कुरा भएन । मैले आफ्ना लागि भने एक बिघाका लागि गाईभैँसीकै मलले पुग्ने गरेको छ । वैज्ञानिक हिसाबले कम्पोस्ट मल बनाउन सिक्न पाउने हो भने अझै धेरै जमिन पनि हुने थियोे होला । सरकार किसानलाई मल दिन त सकेन सकेन, किसानलाइ कम्पोस्ट मल बनाउन पनि सिकाउँदैन । त्यसैको पीडामा छन् किसानहरू ।
० खेतीपातीको अलावा अरू कुनै काम पनि गर्नुहुन्छ कि ?
ःः खेतीपातीको अलावा सामाजिक राजनीतिक काममा सक्रिय हुने गरेको छु । गाउँसमाजमा हुने झैझगडामा मेलमिलाप गराउन जाने गर्छु । समाजमा सानोतिनो सबै काममा समाजले खोज्ने गर्छन् । ती सबै काममा सामेल हुने गरेको छु ।
० पार्टीको काममा पनि सक्रिय हुने कुरा बताउनुभयो । तपाईं कुन पार्टीको कुन जिम्मेवारीमा हुनुहुन्छ ?
ःः म नेकपा (मसाल) निकटको राष्ट्रिय जनमोर्चाको जिल्ला समिति सदस्यमा छु । मेरो पार्टीप्रति ठुलो लगाव रहेको छ । मेरा लागि पार्टीको काम सबैभन्दा प्राथमिकताको हो ।
० तपाईं राष्ट्रिय जनमोर्चामा कसरी आबद्ध हुनुभयो ?
ःः यसको कहानी धेरै लामो छ । म सन् १९७८ मा भारतमा मजदुरी गर्न पुगेको थिएँ । त्यो बेला देशमा पञ्चायती व्यवस्था थियोे । जालीफटाहा शोषण गर्थे । म नारायणपुर स्कुलमा पढ्थेँ । साहका छोराहरू बाबुसाब भन् भन्थे । मैले तिमीहरू बाबुसाब हैन, साथीहरू हौँ भन्थे । मलाई काङ्ग्रेस–कम्युनिस्ट थाहा थिएन । मैले मेरो स्कुलको गुरु सेनराज साहलाई सोधेँ– काङ्ग्रेस र कम्युनिस्ट भनेको के हो भनेर । उहाँले काङ्ग्रेस भनेको व्यक्तिविशेष हो र व्यक्तिले जति लुटे पनि राज्यले बचाउँछ । कम्युनिस्ट सामाजिक हुन् र उनीहरू गरिखाने वर्गका मान्छे हुन् भन्नुभयो । त्यो कुराले मलाई त्यो १८ वर्षकै उमेरमा म कम्युनिस्ट रहेछु भन्ने भयो र म भावनाको हिसाबले त्यो बेलादेखि नै कम्युनिस्ट भएँ ।
म भारतमा काम गर्ने बेला कम्युनिस्ट लेखेको देखेँ । त्यो देखेपछि यस्ता राम्रा मान्छेहरू कहाँ होलान् भन्ने भयो । त्यहाँ भारतमा काम गर्ने मजदुरको पीडा सुनेँ मैले । त्यो पीडा सुनेपछि ती पनि कम्युनिस्ट हुन् भन्ने लाग्यो । त्यहाँ मैले धेरै नेपाली मजदुरमाथि मालिकबाट शोषण भएको देखेँ । काम गरेको पैसा नमिलेको, हात कुहिँदासम्म काम गराइरहेको, कामको पैसा माग्दा उल्टै पिटेको देखेँ । त्यो देखेपछि मलाई ती पीडित मजदुरको हितमा काम गर्न मन लाग्यो । अरू एक जनाको साथ लिएर हामीले छ महिनामा सहरका सम्पूर्ण नेपाली मजदुरको रेकर्ड निकाल्यो । त्यो सहरमा मात्र ४८० नेपालीको रेकर्ड आयो । तिनीहरूको मुक्ति कसरी गर्ने भन्ने विषयमा धेरै चिन्तित भएँ । निद्रा नै लागेन । साहुसित कुरा गर्दा उल्टै हामीलाई समेत हप्काउने काम भयो ।
पछि यसरी नहुने रहेछ भनेपछि पत्र काटेर सबै नेपाली मजदुरलाई जम्मा ग¥यौँ । एक जना सँगै काम गर्ने साथी हुनुहुन्थ्यो, उहाँलाई मैले मामा भन्थे । उहाँलाई मैले कार्यक्रम गरौँ मामा, कि तपाईं मलाई बोलाउनू, म बोल्छु, कि म बोलाउँछु, तपाईं बोल्नू भनेँ । मामाले तपाईं बोल्नू भान्जा भन्नुभयो ।
मैले सबैलाई सम्बोधन गरेँ । म सबै समस्याको बारेमा बोलेपछि अब यहाँ नेपालीको सङ्गठन बनाऊँ भनेर मैले भनेँ । त्यो सङ्गठनमा बस्नेले नाम दिनू भनेपछि ७२ जनाको नाम आयो । यो समितिको अगुवा कसलाई बनाऊँ भन्ने भयो । मलाई समिति बनाउने भएपछि त्यसका पद के के हुने भन्ने केही थाहा थिएन । पञ्चायतको बेला कता कता सभापति भन्ने सुनेकाले एक जनालाई सभापति बनाउने कुरा भयो । सबैले मलाई सभापति बनाउनुभयो । म लेख्न जानेको, अरू धेरैले लेख्न पनि नजान्ने भएकाले मलाई लेखनदास पनि भन्थे ।
केही समयपछि अर्को सभा गरियो । त्यो सभामा झन् धेरै मान्छे आए । त्यो सभामा एक जना भारतीय पन्जाबी सरदार पनि आएका थिए । तिनले के गरेको भनेर सोधेछन् । बुझ्नको लागि सबैले मलाई देखाएछन् । त्यो भएपछि ती सरदारले मलाई भेटे । उनलाई मैले हाम्रो कुरा बताएपछि धेरै राम्रो काम भनेर प्रशंसा गरे अनि उनले म कम्युनिस्ट पार्टीको सदस्य हुँ भने । त्यो सुनेपछि उनलाई कुर्सीमा राखेर विशेष अतिथि बनाइयो । उनले विश्वभरि श्रमजीवीको श्रम लुटिएको छ, हामी धेरैलाई थोरै पुँजीपतिले शोषण गरेका छन् । त्यसैगरी, हामी सङ्गठन बनाउँदै जाने हो भने मजदुरको राज्यव्यवस्था आउँछ भनेर हामीलाई सुनाए । त्यो सुनेपछि हाम्रो काम धेरै ठुलो रहेछ भन्ने लाग्यो ।
सङ्गठनको नाम के राख्ने भन्ने विषयमा धेरै कुरा सोच्दा सोच्दा विश्व मानव कल्याण समिति भन्ने नाम दिएर सङ्गठन बनाइयो । त्यसको विधान पनि मैले नै बनाएँ । आर्थिक समस्या भएपछि १०० तलब खानेले एक रुपियाँ सङ्गठनलाई दिने नीति बनाइयो । भैलो खेलेर आर्थिक समस्या समाधान गर्याे ।
म जागिर छोडेर इलेक्ट्रोनिक इन्जिनियर कलेजमा भर्ना भएर दुई वर्ष पढेँ । त्यो पढाइपछि म दिल्ली आए । मलाई धेरै राम्रो सुविधासितको काम थियोे । दिल्ली आएपछि सङ्गठनसितको सम्बन्ध छुट्यो । दिल्लीमा सङ्गठन छ भन्ने सुनेको थिएँ ।
दिल्लीमा हुँदा एक जना प्युठानका मान्छे मद्रासमा छन् । ती कम्युनिस्ट हुन् । नेपालमा खतरा भएपछि भारतमा छन्, पिताको तमसुक च्यातेर फाल्दिएका हुन् भन्ने सुनेको थिएँ । त्यो कुरा मसित मिल्ने विचार हो भन्ने लागेको थियोे । उहाँको नाम मोहनविक्रम सिंह रहेछ ।
म भारतको सेवासुविधा छोडेर घरमा आएर नारायणपुरमा रेडियोको पसल सुरु गरे । त्यही बेला होटल गर्ने मोटा मोटा बुद्धिराम खड्कासित भेट भयो । उहाँले मलाई तानेर भित्र लैजानुभयो । यो काम कहाँबाट सिक्नुभयो भनेर सोध्नुभयो । मैले भारतको दिल्लीमा भनेँ । उहाँले पनि मद्रासबाट होटल गर्न सिकेको बताउनुभयो । मद्रासमा मोहनविक्रम बस्छन् भन्ने सुनेकाले उहाँलाई त्यो सोधे । बुझ्दै जाँदा उहा नेकपा (मसाल) को पार्टीसदस्य बनिसक्नुभएको रहेछ ।
मलाई मोहनविक्रम सिंहको सम्पर्क दिनुभयो । म गोरखपुरमा मोहनविक्रमलाई भेट्न पुगेँ । त्यही बेलादेखि औपचारिक रूपमा म मसाल बनेँ । यता, यहाँ पनि पञ्चायत विरोधी आन्दोलन उठ्यो । मैले गरेका सम्पूर्ण कामको तालमेल मसालमा भेटेँ र त्यो बेलादेखि अहिलेसम्म त्यही मसालनिकटको राष्ट्रिय जनमोर्चामा छु ।
० तपाईंको यो सम्पूर्ण कुरा सुन्दा निकै चाखलाग्दो कहानी रहेछ । के आजका कम्युनिस्ट कार्यकर्तामा यस्तो निष्ठा र इमानदारिता भेटिन्छ त ?
ःः यहीँनेर मलाई सारै दुख लाग्छ । मरिच आफ्नो रागले खुम्चिन्छ भन्छन् । राम्रा मान्छेहरू खुम्चिँदै जाँदा साँच्चिकै रहेछ कि भन्ने पनि लाग्छ तर त्यो कुरा सत्य हैन । निष्ठा र नैतिकता कतै छैन । सरकारमा जानेहरू सबै भ्रष्ट र नैतिकताहीन भएका छन् । कम्युनिस्ट आदर्श, नैतिकता र दर्शनमा लागेका मान्छेहरू घरबारविहीन भएका छन् । यत्रो त्याग गरेर लागेको कम्युनिस्ट नैतिकता पथभ्रष्ट भएको छ । हिजो साम्यवादको कुरा सिकाउनेहरू अहिले पालैपालो सरकारमा छन् । तिनको चरित्र हेर्दा तिनले बोकेको कम्युनिस्ट पार्टीको झन्डाको पनि अपमान भइरहेको छ । झापामा टाउका काटनेदेखि १० वर्ष जनयुद्ध गरेकासम्म सरकार र टोलछिमेकमा छन् । उनीहरूको भ्रष्ट चरित्र हेर्दा म वाक्कदिक्क भएको छु तर कम्युनिस्ट विचार भनेको वैज्ञानिक विचार हो । तत्काललाई जे जे भ्रम भए पनि कम्युनिस्ट विचारको विजय अवश्यम्भावी छ ।
० तपाईं कम्युनिस्ट आन्दोलनप्रति आस्था राख्ने मान्छे । कम्युनिस्ट पार्टीमध्ये ठुला त अरू नै छन् तर तपाईंले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा नै किन रोज्नुभयो ?
ःः मैले नेकपा (मसाल) नै रोज्नुको पहिलो कारण मोहनविक्रमको भूमिका हो सुरुमा । अझ महत्त्वपूर्ण कुरा त मैले जे सोच्थेँ, पार्टीले ठ्याक्कै त्यही विचार ल्याउँथ्यो । अरू जति पनि कम्युनिस्ट नामधारी छन्, ती कम्युनिस्ट नै हैनन्, नेकपा (मसाल) मात्र खास क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । त्यही बुझाइका आधारमा, बहुमतको आधारमा भन्दा पनि सही बुझाइको आधारमा कम्युनिस्ट पार्टी बन्ने हो । त्यो नेकपा (मसाल) ले मात्र प्रमाणित गरेको छ । अरू नेपालका सम्पुर्ण राजनीतिक घटनाक्रममा मसाल ले जे भनेको छ, त्यही कुरा सही भएको समयक्रमले प्रमाणित गरेको छ । त्यसैले म यो पार्टी हुने मात्र कुरा हैन, यो देशको हितका लागि सर्वोत्तम पार्टीसमेत हो ।
० तपाईं कम्युनिस्ट पार्टी धेरै राम्रो पार्टी हो भनेर कुरा राख्नुभयो तर अहिले त कम्युनिस्ट पार्टीको काम छैन भनेर युवाहरू अन्यत्र भिड लागेको देखिन्छ त ?
ःः ती अन्यत्र लाग्नेहरूमा राजनीतिक ज्ञानको अभाव छ । कम्युनिस्ट पार्टी काम नलाग्ने भन्ने हँुदैन । विश्वव्यापी युद्ध भइरहेको छ तर कसैले अशान्ति चाहदैन । अन्ततः चाहिने भनेको शान्ति र समानता हो । मान्छेहरू व्यक्तिगत रूपमा शीघ्रलाभका लागि लागेका हुन सक्छन् । अर्को कुरा कम्युनिस्ट र काङ्ग्रेसको नाममा अगुवाले जे कुरा सिकायो, त्यही गरेका होलान तर त्यो तत्कालीन कुरा मात्र हो, त्यसले दीर्घकालीन समाधान दिन सक्दैन ।
० त्यसो हो भने अन्यत्र लागेका युवालाई के भन्नुहुन्छ ?
ःः मेरो युवा साथीलाई के अनुरोध छ भने तपाईंहरूले धर्तीको यथार्थलाई बुझ्नुपर्छ । झुटको कुरा क्षणिक हुन्छ, त्यसले हामीलाई झन पछाडि लैजाने हो । त्यसैले कुनै पनि देशमा भएको असमानता र विकृतिको सही समाधान गर्ने भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र हो । क्षणिक लाभले अन्ततः देशलाई अन्त्यहीन घाटामा पुर्याउँछ । त्यो कुरा विशेषगरी आजका युवाले बुझ्न जरुरी छ ।
० अन्तमा भन्नैपर्ने केही छ कि ?
० हामीले अहिले धेरै कुरा गर्याैँ। मानवताका लागि सबैले कर्तव्य पूरा गर्नुपर्छ । निराश हुनुहुँदैन । धेरै महत्त्वाकाङ्क्षी पनि बन्नु हुँदैन । श्रम र मजदुरी गरेर उत्पादन र आर्थिक विकास गर्नुपर्दछ । यस प्रकारका विचार निरन्तर जनताको बिचमा पु¥याउनुपर्दछ ।
तपाईंले युगदर्शन मिडियामार्फत् मलाई मेरो विचार र भावना राख्न दिनुभएकोमा धन्यवाद ।