काठमाडौँ । देशभरि मनसुनी वायुको प्रभाव रहिरहँदा आज असार १२ गते शुक्रबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे गरेको मौसम पूर्वानुमानमा सो सम्भावना व्यक्त गरिएको हो ।
दिउसो
महाशाखाका अनुसार मनसुनी वायुले देशभर आंशिकदेखि साधारणतया बदली रहेको अवस्था छ ।
त्यस क्रममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सोही क्रममा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले कोशी प्रदेशको तराई भूभागका तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको बताएको छ ।
राति
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले व्यक्त गरेको छ ।
सोही प्रकारले कोशी प्रदेश र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।