८२ वर्षीय ढुण्डिराज खनाल राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समितिका सल्लाहकार हुनुहुन्छ । तुलसीपुर नगरपालिका–४ निवासी खनाल नेपाली कम्युनिस्ट आन्दोलनमा पनि सुरुदेखि नै सक्रिय हुनुहुन्छ । हाल नेकपा (मसाल) निकट राजमोमा रहनुभएका उनै खनालसँग गणेश आचार्यले लिनुभएको सङ्क्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० ढुन्डिराज खनालजी नमस्कार ।
:: नमस्कार ।
० सञ्चैआरामै हुनुन्छ ?
:: सञ्चै छु ।
० कति भयो तपाईंको उमेर ?
:: म अहिले ८१ वर्ष पूरा भएर ८२ वर्षमा लागेको छु ।
0 दिन कसरी बिताइरहनु भएको छ नि ?
:: घरका काममा अलि अलि सघाउने गरेको हुन्छु । वृद्ध उमेरका छिमेकी बुढाहरूसित भेटघाट गर्ने, पार्टीसङ्गठनका कुरा गाउँसमाजमा गर्ने, नजिकका सामाजिक काममा सामेल हुने, इष्टमित्र, आफन्तसित भेटघाट गरेर समय बिताइरहेको छु ।
० पार्टीसङ्गठनका कुरा पनि गर्नुभयो । तपाईं कुन पार्टीमा हुनुन्छ ?
:: म नेकपा (मसाल) निकट राष्ट्रिय जनमोर्चामा आबद्ध छु । म अहिले भर्खरै मसाल भएको हैन । २०१५ सालको आम निर्वाचनमा अर्घाखाँचीमा कम्युनिस्टको तर्फबाट खुबिराम आचार्य उम्मेदवार हुनु भएको थियो । म त्यो बेला नै उहाँलाई चुनावमा सघाउने काम गरेको थिएँ । त्यही बेला नै कम्युनिस्ट बन्नुपर्छ, कम्युनिस्ट पार्टी हाम्रो हितको पार्टी हो भन्ने चेतना आइसकेको थियो । त्यो बेलादेखि नै म कम्युनिस्ट पार्टीको नजिक भएको छु । औपचारिक सदस्यता लिने काम भने अलि पछि भयो ।
० तपाईं अहिले राष्ट्रिय जनमोर्चाको कुन जिम्मेवारीमा हुनुहुन्छ नि ?
:: म अहिले राष्ट्रिय जनमोर्चाको जिल्ला समिति दाङको सल्लाहकारको जिम्मेवारीमा रहेको छु ।
० यो उमेरमा त्यो जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ ?
:: उमेर अवस्थाका कारणले धेरै जिम्मेवारी लिएको छैन । साथीहरूले बोलाएसम्म बैठकमा सामेल हुने, सल्लाह दिने गरेको छु । अरू साथीहरूले धेरै जिम्मेवारी वहन गरिरहनुभएको छ । स्थानीय जिम्मेवारी मैले पूरा गर्ने गरेको छु ।
० पार्टी त अरू पनि धेरै छन् । तपार्इंले राष्ट्रिय जनमोर्चा नै किन रोज्नुभयो त ?
:: हो । पार्टी त अरू पनि छन् । तिनीहरूमा विचार र नैतिकता केही छैन । जनमोर्चाको नीति, विचार र कार्यक्रम राम्रो छ । नेतृत्व सही र सत्य छ । सही र सत्यको विजय हुन ढिला भए पनि अन्ततः सत्यकै विजय हुन्छ भनेर म नेकपा (मसाल) नजिकको राष्ट्रिय जनमोर्चामा आबद्ध भएको हुँ ।
० तपाई कम्युनिस्ट पार्टीको समर्थक बन्ने बेला कम्युनिस्ट जनमत पनि खास थिएन । त्यो बेलामा लागेर अहिलेसम्म त्यही पार्टीमा टिक्नुभएको छ है ?
:: हो । त्यो बेला धेरै गाह्रो थियो तर मलाई साथीहरूले धेरै कुरा बुझाउनुभयो । मेरो फुपूको छोरा कुलानन्द बन्जाडे अलि अगुवा र बौद्धिक हुनुहुन्थ्यो । उहाँले मलाई ऊर्जा दिनुभयो । जनतामाथि निरङ्कुश पञ्चायतले अन्याय गरेको थियो । त्यो अन्यायका विरुद्धमा लाग्नुपर्छ भनेर मेरो दाजु र पार्टीका नेताहरूले बताउनुभयो अनि मैले निरन्तर काम गरेँ । समाजले पनि मलाई सम्पूर्ण कुरामा विश्वास गऱ्यो । पञ्चायतको बेला पनि वडाअध्यक्ष भएर काम गरेँ । स्कुल स्थापना गर्ने, तिनलाई सञ्चालन गर्ने काम गरेँ । स्कुल व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेँ । त्यसरी नै म पार्टीमा आबद्ध भएदेखि निरन्तर काम गरिरहेको छु । अहिले पनि त्यति नै पार्टी र कम्युनिस्ट आन्दोलनप्रति अगाध आस्था रहेको छ ।
० तपाईं पञ्चायतको प्रतिनिधिदेखि बहुदल हुँदै गणतन्त्रसम्म भोगेको मान्छे । अहिले गणतन्त्रभन्दा राजतन्त्र र पञ्चायत सही भनेर पनि आन्दोलन गरेको देखिन्छ । के तपाईंलाई पनि त्यस्तै लाग्छ त ?
:: लाग्दैन । त्यो लाग्ने त राजनीतिक चेतना नभएका मान्छेलाई मात्र हो । गणतन्त्रभन्दा पञ्चायत र राजतन्त्र सही हो भन्ने त हुनै सक्दैन । हामीले धेरै कुरा भोग्दै आयो । पञ्चायतमा राजाको जयजयकार गर्दै पनि आयो । त्यो सही भएर हैन, बाध्यताले गर्नुपरेको हो । त्यो पञ्चायत र राजतन्त्रभन्दा गणतन्त्र धेरै राम्रो र जनताको व्यवस्था हो, मात्रै समस्या के हो भने गणतन्त्रका शासक र शासक दलहरू सही नभएका मात्र हुन् । तिनीहरूले रान्रो गर्न नसकेका मात्र हुन्, गणतन्त्र गलत हैन ?
० तपाईंले त पञ्चायत र राजतन्त्रभन्दा गणतन्त्र र कम्युनिस्ट पार्टी नै सही भन्नुभयो तर अहिलेका युवाका कम्युनिस्टमा भन्दा अन्यत्र नै भिड देखिन्छ । यसको खास कारण के होला ?
:: उनीहरूमा पहिलो कुरा त राजनीतिक चेतना र अध्ययन नै छैन । अर्को कुरा, अहिले सरकारमा भएका दलले राम्रो सुशासन दिन नसकेका कारण अर्को कुनै ठाउँबाट हुन्छ कि भन्ने भ्रम छ । त्यही भ्रमको पछि लागेका हुन मान्छेहरू । यस्ता भ्रम योभन्दा पहिला पनि अहिले सरकारमा हुने दलले दिने गरेका थिए । त्यो सम्भव हुने कुरा हैन ।
० तपाईं त उमेरले वृद्ध र जिम्मेवारीले नेतृत्वमा नभएको मान्छे अहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा भएकालाई केही भन्नुछ कि ?
:: मेरो यसमा के भनाइ छ भने नेतृत्वमा बस्ने साथीहरूले अहिलेका युवा पिँढीलाई क्लासप्रशिक्षण गरेर उनीहरूलाई नेतृत्वमा ल्याउने, कम्युनिस्ट विचार, दर्शन र आदर्शको कुरा बुझाउने, नेताहरूले दृढतापूर्वक जनताका मुद्दा उठाउने र युवालाइ परिचालन र नेतृत्व प्रदान गर्न ध्यान दिनुपर्दछ ।
० अन्तमा केही छ भन्नुपर्ने ?
:: खास कुरा केही छैन । हामीले अघि नै धेरै कुरा गऱ्यो । कम्युनिस्ट पार्टीमा आबद्ध भएका साथीलाई क्लासप्रशिक्षण गरेर उत्साहित गराउने, युवाहरू देशमा केही हुँदैन भनेर पूरै निराश भएको अवस्था छ । त्यसलाई चिर्नको लागि कार्यक्रम बनाउनेजस्ता काम गर्न जरुरी छ । अहिले इमानदारिता निराश र बेइमान उत्साहित भएको समय हो । यसलाई दृढतापूर्वक चिरेर अगाडि जाने कुरामा नेतृत्वले ध्यान दिन जरुरी छ ।