काठमाडौँ । सर्वोच्च अदालतले माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा। कुमार चुडालको संवैधानिक इजलासले यसअघि तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो।
काभ्रेका अर्जुन लामाको अपहरणपछि २०६२ वैशाख १६ गते हत्या गरिएको थियो। श्रीमानको हत्यापछि पूर्णिमायाले सापकोटासहित माओवादी नेता कार्यकर्ताविरूद्ध किटानी जाहेरी दिए पनि प्रहरीले लिन मानेन। त्यसविरूद्ध रिट परेपछि २०६४ सालमा जाहेरी दर्ता गर्न सर्वोच्चले आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि पूर्णिमायाले माओवादी नेता सापकोटा, सूर्यमान दोङसमेत ६ जनाविरूद्ध २०६५ साउन २६ मा जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएकी थिइन्।
जाहेरी दर्ता भएर अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। तर, डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ साउन १२ गते रिटमा भएको आदेश र जाहेरी नै तामेलीमा राख्ने निर्णय गरेको थियो।