जनकपुरधाम । मधेस प्रदेश सरकार यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागी नुहने भएको छ ।
मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले एसईईका सम्बन्धमा राखेको चासो र गरेको निर्णय कार्यान्वयन नभएको भन्दै परीक्षा कार्यक्रममा सहभागी नहुने बताए ।
यही फागुन २६ गते एसइईलाई मर्यादित तथा व्यवस्थित बनाउनका लागि परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने र सो निर्णय प्रदेशका सबै जिल्ला परीक्षा समन्वय समितिले कार्यान्वयन गर्नुपर्ने निर्णय भएको थियो तर त्यसलाई बेवास्ता गरिएकाले प्रदेश सरकारका कुनै पनि निकाय परीक्षाका कुनै क्रियाकलापमा सहभागी नहुने स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले बाध्य भएर यस्तो निर्णय गर्नुपरेको मुख्यमन्त्री सिंहले दाबी गरे ।
प्रदेश सरकारको भूमिका कमजोर बनाउने कार्य स्वीकार्य हुँदैन,‘ उनले भने । मधेस प्रदेशका आठ जिल्लाका एसइईमा ८८ हजार आठ सय ५८ जना परीक्षार्थी सहभागी हुँदैछन् ।