काठमाडौँ । अखिल नेपाल युवक सङ्घले सङ्घीयता विरुद्ध युवा अभियान सञ्चालन गर्ने भएको छ ।
हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
२०८१ माघ ७ गते सोमबार अध्यक्ष गणेश अधिकारीले जारी गर्नुभएको प्रेसविज्ञप्तिमा बैठकका निर्णयबारे जानकारी गराइएको छ ।
विज्ञप्तिमा युवाको बढ्दो विदेश पलायन, निराशा र हिनताबोधलाई चिर्दै देशभित्रै रोजगारीको सिर्जना र देशको विकासका लागि युवा परिचालन गर्न सरकारले नीति तथा कार्यक्रम ल्याउन आग्रह गरिएको छ ।
सङ्घीयता नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विरुद्ध भएको बताउँदै विज्ञप्तिमा त्यसको खारेजीका लागि देशव्यापी सङ्घीयता विरुद्ध युवा अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ ।
सङ्गठनको आन्तरिक जीवनसित सम्बन्धित विभिन्न निर्णयहरू गरिएको प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
“हाम्रो सङ्गठनको दोस्रो पूर्ण बैठक २०८१ माघ ३, ४ र ५ गते काठमाडौँमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णय सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।
१. बैठकमा देशको वर्तमान राजनीतिक परिस्थिति र युवाको अवस्थाका बारेमा केन्द्रित रहेर व्यापक छलफल गरी विभिन्न निर्णय गरिएको छ
देशको राष्ट्रियता झन् झन् कमजोर बन्दै गइरहेको छ । २०६२–६३ को महान् जनआन्दोलनद्वारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षतालगायतका ऐतिहासिक उपलब्धि विरुद्ध प्रतिगामी खतरा बढ्दै गएको हुँदा त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने कुरामा बैठकले जोड दिएको छ । युवाको बढ्दो विदेश पलायन, निराशा र हिनताबोधलाई चिर्दै देशभित्रै रोजगारीको सिर्जना र देशको विकास निर्माणका बारेमा युवाहरूलाई परिचालन गर्न राज्यले आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्ने कुरामा जोड दिन चाहन्छौँ । पछिल्लो समयमा रुस–युक्रेनलगायतका युद्धग्रस्त क्षेत्रमा नेपाली युवाहरू युद्धमा प्रयोग भइरहनु गम्भीर चिन्ताको विषय हो । उक्त कार्य रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्दछौँ ।
२. नेपालमा सङ्घीय प्रणाली राष्ट्र र जनताको आवश्यकता होइन भन्ने कुरा पछिल्लो समयमा आम नागरिकले महसुल गर्दै गइरहेका छन् ।
सङ्घीयताका कारणले देशको अर्थतन्त्र सङ्कटतर्फ गइरहेको छ । देशमा पूर्वाधार निर्माण, उद्योगधन्दाको विकास, रोजगारी सिर्जनालगायत समग्र आर्थिक विकासका लागि समेत महँगो सङ्घीय प्रणाली बाधक बन्न गएको छ । यसको परिणामस्वरूप नेपाली युवाको विदेश पलायन अरू बढेर गएको छ । समग्रमा नेपालमा लागु गरिएको सङ्घीयता विदेशी साम्राज्यवादी स्वार्थद्वारा निर्देशित भएको, नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डता विरुद्ध समेत भएको हुँदा सङ्घीय प्रणाली खारेज गर्नु आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ ।
अखिल नेपाल युवक सङ्घले “सङ्घीयताको विरुद्ध युवा अभियान” भन्ने मूल नाराका साथ देशभरि सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सोअन्तर्गत विभिन्न जिल्लामा जुलुस, सभा, कोणसभा, अन्तरक्रियालगायतका कार्यक्रम गरिने छ । त्यसैगरी, राष्ट्रिय जनमोर्चाद्वारा घोषित चैत २४ देखि ३० सम्म सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलनप्रति एक्यबद्धता प्रकट गर्दै सो आन्दोलनलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि व्यापक रूपमा युवा परिचालन गर्ने निर्णय गरिएको छ ।
बैठकले सङ्गठनसम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको छ ।
क. पदाधिकारीहरू रहने गरी सात सदस्यीय सचिवालय गठन गरेको छ, जसमा अध्यक्ष गणेश अधिकारी, उपाध्यक्षहरू कुलराज खनाल र चोपबहादुर विक, महासचिव विष्णु पुन, सचिवहरू ठाकुर पन्थी र वीरेन्द्र थापा र कोषाध्यक्ष कमल पौडेल ।
ख. निम्नअनुसार प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकिएको छ ः कोशी प्रदेश सीता कार्की, मधेस प्रदेश चोपबहादुर विक, पृथ्वी रोका, बागमती प्रदेश विष्णु पुन, गण्डकी प्रदेश वीरेन्द्र थापा, लुम्बिनी प्रदेश कुलराज खनाल, कर्णाली प्रदेश कमल पौडेल, चोहन मिदुन मगर, सुदूरपश्चिम प्रदेश ठाकुर पन्थी, निर्जन शाही । त्यस्तै, जिल्लाको इन्चार्ज र जिम्मेवारी पनि तोकिएको छ ।
ग. सङ्गठनलाई थप चुस्तदुरुस्त र क्रियाशील बनाउन देशका सातओटै प्रदेशको भेला र जिल्लाको भेला गर्ने निर्णय भएको छ । जसअनुसार, सुदूरपश्चिम प्रदेश माघ १९ गते, कर्णाली प्रदेश माघ २१ गते, लुम्बिनी प्रदेश माघ १८ गते, बागमती प्रदेश माघ १९ गते, गण्डकी प्रदेश फागुन ३ गते, मधेस प्रदेश र कोशी प्रदेशको भेला कार्यालयले तोकेका मितिमा सम्पन्न हुने छन् । मधेस प्रदेश र कोशी प्रदेशको भेला केन्द्रीय कार्यालयले पछि निश्चित गर्ने छ ।
घ. विभिन्न विभाग गठन गरिएको छ । त्यसका संयोजक र सदस्यहरू पनि तोकिएका छन् । सङ्गठन विभाग संयोजक विष्णु पुन, सदस्यहरू कुलराज खनाल, कमल पौडेल, ठाकुर पन्थी, सीता कार्की, चोपबहादुर विक र वीरेन्द्र थापा । आर्थिक विभाग संयोजक कमल पौडेल, सदस्यहरू सीता कार्की, लेखत कुँवर । प्रकाशन विभाग संयोजक गणेश अधिकारी, सदस्यहरू विष्णु पुन, कमल पौडेल, वीरेन्द्र थापा, लेखत कुँवर । खेलकुद विभाग संयोजक भिषम छन्त्याल, सदस्यहरू दुर्गा थापा, सगर सुवेदी, पृथ्वी रोका । सांस्कृतिक विभाग संयोजक मेस्मा पुन, सदस्यहरू उषा तरामु, विक्रम केसी । सूचना तथा प्रविधि विभाग संयोजक सगर सुवेदी, सदस्यहरू पृथ्वी रोका, विक्रम केसी ।
३. “सङ्घीयता विरुद्ध युवा अभियान” मूल नारासहित माघ र फागुन महिनाभरि सदस्यता वितरण, पालिका, जिल्ला र प्रदेशको प्रशिक्षणात्मक भेला तथा सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी, चैत २४–३० सम्म चल्ने सङ्घीयता विरोधी आन्दोलनलाई सफल पार्न फागुन महिनाको २५ गतेदेखि नै युवा साथीलाई राजधानीमा परिचालन गर्नेसमेत निर्णय यस बैठकद्वारा गरिएको छ । साथै आम नेपाली देशप्रेमी जनतालाई आआफ्नो ठाउँबाट सहयोग र एक्यबद्धता जनाउनुका साथै सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ ।”