काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मतदान प्रक्रियाबाट पदाधिकारी छानेको छ ।
केन्द्रीय सदस्यहरूले पदाधिकारी र पोलिटब्युरो छनौट गर्न मंगलबार गरेको मतदानको मत परिणाम सार्वजनिक भएको छ।
अन्तिम मत परिणामअनुसार एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन्।
यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन्।
उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन्।
त्यसगरी सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुसाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भएका छन्।
गएको असार तेस्रो साता भएको महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको एकीकृत समाजवादीले निर्वाचनबाट बाँकी पदाधिकारी चयन गरेको हो।
बाँकी पदाधिकारीमा सहमति हुन नसकेपछि एकीकृत समाजवादीले मंगलबार निर्वाचन गरेको थियो।
एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद पाण्डे यसअघि नै सर्वसम्मत भएका थिए भने महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरिएको थियो ।
