काठमाडौँ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले मृत्यु संस्कारलाई समयानुकूल परिवर्तन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
२०८१ असार २७ गते बिहीबार आयोजित अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य लालबहादुर भण्डारीकी आमा तथा राष्ट्रिय जनमोर्चाकी ज्येष्ठ सदस्य बोमकुमारी भण्डारीको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
राजमो गढवा गाउँपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा उहाँले अगाडि भन्नुभयो– समाज, कानुन र धर्मलाई अलग गर्न सक्ने वातावरण बनेको छ । त्यही आधारमा संस्कार पनि बदल्दै लैजानुपर्छ ।
त्यसैगरी, अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले जन्मपछि मृत्यु अनिवार्य र स्वाभाविक भएको बताउनुभयो ।

राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले मृत्युसंस्कारमा रहेको रूढीलाई हटाउदै लैजानुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य दिनामणि आचार्य, जिल्ला सल्लाहकार गुणनिधि शर्मा, युवक सङ्घका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, राजमो गढवा पालिका समितिका अध्यक्ष कपिलदेव खनाल, गढवा–४ वडासमितिका अध्यक्ष चिन्ता पोख्रेल, शिक्षक सङ्घका जिल्ला अध्यक्ष रुमालप्रसाद बसेल, प्रगतिशील पत्रकार सङ्घका जिल्ला अध्यक्ष महेश रिजाल, मृतककी छोरी कमला केसीलगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
मृतकका जेठा छोरा लालबहादुरको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन राजमो गढवा पालिका समितिका सचिव टुकमान कुँवरले गर्नुभएको थियो ।