देबेन्द्र बस्याल
नेपाली राजदूतावास जापानको आह्वानमा गैरआवासीय संगठन एनआरएनए जापान, तथा बिभिन्न संघसंगठनहरु, पार्टीहरु, समाजहरुसँग यहीअप्रिल २४ तारिक कोभिड–१९ ले ल्याएको माहामारीको विषयमा बृहत अनलाईइन बैठक भएको छ । त्यो बैठकले उब्जाएका कतिपय विषयहरुले निकै ठूलो महत्व राख्दछ । किनभने जापान प्राकृतिक प्रकोपहरुको दृष्टीले निकै जोखिमपूर्ण देश हो । बिगतमा कहिले महाभूकम्पहरु जाने गरेका छन् त कहिले आँधीबेरी, हिमपात, बाढीपहिरो जस्ता विपत्तीहरुबाट जापान नराम्ररी थला परेका कैयौं उदाहरण पनि प्रशस्तै छन् ।
त्यस्तो अवस्था जस्तै कि २०११ को महाभूकम्पको बेला र त्यसैको असरका कारण फुकुसिमा दाइईची आँणबीक भट्टी विष्फोटन र त्यहाँबाट उत्पन्न विकिरणको जोखिमका बेलामा जापान स्थित नेपाली राजदूतावासका राजदूत भागेर कतै गएको र नेपालीहरुलाई विपदको बेला अविभावकविहीन बनाएको तितो यथार्थ पनि बैठकमा उठेको थियो । तर यसपाली भने राजदूतावासको आह्वानमा यस खालको बृहत बैठकको हुनु, बैठकमा महामहिम राजदूतले सबै पक्षलाई समेटेर आड, भरोषा र हौसलाले ओतप्रोत सम्बोधन गर्नुले पनि अन्य संघसंगठनहरुमा हर्षका मुना पलाएको देखिएको थियो ।
बैठकमा जापान स्थित गैरआवासीय नेपाली संगठन जापानले जापानसहित कोरोना भाइरसद्वारा पीडित विश्वभरका नेपालीहरुलाई पनि हामीले हयोगका हातहरु फैलाउनु पर्छ भन्ने सोंचका साथ आर्थिक संकलनलाई तिब्रता दिएको, नेपाल सरकारसँग पनि आर्थिकको लागि आह्वान गरेको र अहिलेसम्म २ करोड पचास लाख जम्मा गरिसकिएको विषयमा पनि रिपोर्टिङ गरिएको थियो जुन आफैँमा उत्साहजनक काम थियो । यहाँनेर महत्वपूर्ण विषय के हो भने त्यो फन्डले कोरोनाको प्रकोपले थाला परेको नेपाली विजनेस क्षेत्रलाई मात्र माथि उकास्न उच्च वर्गलाई मात्र प्राथमिकता दिइने हो वा तल्लो वर्ग जस्तै कि विद्यार्थी, कुकहरु र अन्य गरीखाने वर्ग पनि त्यो कोषबाट लाभान्वीत हुने हुन्, यो प्रमुख प्रश्न हो ।
उक्त बैठकमा विषेश गरी दुईवटा विषयमा छलफल गर्ने भनेर नै बैठकको आयोजना गरिएको थियो । ती विषयहरुमा एउटा थियो कोरोनाले नेपाली समुदायमा कस्तो प्रभाव पारेको छ ? र दोस्रो थियो यसै विषयलाई लिएर एउटा सहयोगको लागि टास्कफोर्स कमिटी गठन गर्ने । बैठकमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेर आउनु भएका प्रतिनिधिहरुले गरेको रिपोर्टिङको अध्ययन र विश्लेषण गर्दा के देखिन्छ भने अवस्था गम्भीर छ । किनभने यो समस्या भिन्दै र जटिल हो यसभन्दा पहिले पहिले गर्ने वा आइपर्ने समस्याहरु जस्तो होइन, अहिले पहिले जस्तै आमनेसाम्ने बसेर समस्याको समधान गर्न सकिँदैन ।
यो एउटा डरलाग्दो प्राणघातक सरुवा रोगको महामारी युक्त प्रकोप भएकोले विनासावधानी विरामीको नजिक जाने त टाढैको कुरा हो सामान्य मान्छेहरुसँग पनि नजिकै भएर काम गर्न सक्ने अवस्था छैन । तैपनि जोखिमलाई वेवास्ता गर्दै केही नेपाली समाजहरुले प्रभावितलाई राहात बाँडेर सहयोग गरेको कुरा सुन्दा हामी सबै खुसी भयौं । त्यहाँ कतिपय केसहरु कस्ता पनि सुन्नमा आए भने जापानका ५्/६ वटा हस्पिटल घुमाउँदा समेत बिरामीलाइ भर्ना नलिने र यहाँ गठन गरिएका विभिन्न समाजहरुले हाम्रो मान्छे होइन भनेर उम्किने प्रयत्न गर्ने गरेको नमिठो तितो यर्थाथता सुन्नपर्दा हामी सबैको मन खिन्न बनाएको थियो । तर पछि राजदूतावासको पहलमा यहाँको परराष्ट्र मन्त्रालयसम्म फोन गरेर उक्त विरामीलाई भर्ना गर्ने काम भएको रहेछ ।
अर्को एउटा केस कस्तो सुनियो भने उक्त केस जापानमा बसेर नेपालीहरुलाई आइपर्ने भिजा लगाएत अन्य समस्याहरुको बारेमा लामो समय निरन्तर वकालत र सहयोग गर्दै आउनु भएका बरिष्ठ कानुनविद बलराम श्रेष्ठले उठाउनु भएको थियो कि कतिपय कम्पनीहरुले वेतलवी विदामा घरमा बस्न लगाउने र अन्तत ‘म मेरो राजी खुसीले काम छाडेको हुँ’ भनेर लेखिएको कागजमा सही गर्न लगाउने जस्ता केसहरु पनि उहाँको अफिसमा आएको कुरा गर्नु भएको थियो । र उहाँले भन्नु भएको छ कि त्यसरी भुलेर पनि यो समयमा कुनैपनि कागजमा कोही कसैले पनि सही नगर्नु होला त्यसको कानुनी उपचार गर्नु पर्छ भनेर सुझाव दिनुभएको थियो ।
त्यसरी अहिले जापानभरी विभिन्न कम्पनी वा उनीहरुका मालिकहरुले मजदुरहरुलाई विभिन्न समस्यामा पार्ने र भैपरी आउने आर्थिक समस्याबाट साहुहरु बँच्न गर्ने सबैखाले हर्कतहरुदेखि मजदुरहरु सतर्क रहनु पर्छ । कोभिड सँगसँगै गलत काम गरेर फसाउन चाहनेहरूसँग पनि उत्तिकै सतर्क हुनु जरूरी देखियो । त्यसैगरी यो विसम् परिस्थितिमा विभिन्न तह र तप्का साथै स्वयम् राजदुत क्वारेन्टिनमा रहेका वेलामा पनि उपनियोग मार्फत मजदुरहरुका पिरमर्का र व्यथाका कुरा सुनेर तिनको निराकणको लागि बृहत बैठकको आयोजना गर्नु, अन्य क्षेत्रबाट सहयोगका हातहरु फैलाउनेकाममा संघसंगठनहरु जागरुकहुनु, सबै नेपालीहरु मिलेर समस्यासंग सामना गर्नुपर्छ भनेर प्रण गरेको कुराले एउटा आषाको टुशा पलाएको छ । अब हामी सबैले मिलेर नै उक्त टुशालाई मलजल गर्नुको विकल्प छैन ।
त्यसैगरी अन्तमा आपतकालिन सहयोग समिति बनाउने विषयमा विभिन्न क्षेत्र तथा राजदुत स्वयम्ले अलि बृहत बताउनु पर्छ भनिरहँदा एनआरएनएका प्रतिनिधिले एकाधिकारवादी प्रकारको प्रबृती देखाउने काम भयो त्यो काम त्यती राम्रो भएन । यो अवस्थामा कस्तो समिति बन्नु पर्छ भनेर राजदुत राणले भने जस्तै उपल्लो स्तरमा एउटा एडभाइजर कमिटी बनाउने र तल्लो स्तर समेतलाई समेट्नेगरी विभिन्न संघसंगठन, राजनीतिक पार्टी, समाज आदीका प्रतिनिधिलाई समेट्नेगरी कमिटि बनाएको खण्डमा त्यसले प्रभावकारी तवरले काम गर्न सक्छ किनभने अहिलेको अवस्थामा फिल्डमा गएर काम गर्नु पर्ने भएकोले त्यसखालको समिति बनाउदा निकै उपयोगी देखिन्छ । त्यसकारण जापान नेपाली एकता समाजले पनि त्यो खालको धारणा त्याहाँ व्यक्त गरीएको थियो ।
अन्तमा एनआरएनए जापान तथा नेपाली राजदुताबासले गरेको प्रयासलाई हामीले उच्च प्राथमिकताका साथ लिँदै भावी दिनहरुमा अरु राम्रा काम हुनेछन भन्ने अपेक्षका साथ नेपाली राजदूतावास र एनआरएनए लगाए सबै संघसंगठन काँधमा काँध र मिलाएर र हातेमालो गरेर यस दुःखको बेलामा अघि बढेको खण्डमा यस महामारीलाई परास्त गर्न सक्नेछौं ।