चिदम्बरम, १५ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, चिदम्बरम नगर समितिअन्तर्गत कार्यकाल एरिया समितिको १५औँ वार्षिक एरिया सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।
भोटेकोशी बाढीका मृतकहरू तथा क्रान्तिकारी परिवर्तनका ज्ञात–अज्ञात सहिदहरूप्रति दुई मिनेट मौनधारण गर्दै सुरु भएको उक्त सम्मेलनमा उपस्थित सम्पूर्ण जनसमुदायलाई पवित्र शर्माले शब्दद्वारा स्वागत गर्नुभएको थियो भने सम्मेलनका प्रमुख अतिथि तथा केन्द्रीय सदस्य बालकृष्ण गायकले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि तथा नेता गायकले विदेशी साम्राज्यवादी प्रभाव बढ्दै गइरहेको देशको वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सबै राष्ट्रवादीहरू एकजुट हुनु अनिवार्य रहेको बताउनुभयो। उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित प्रवासी नेपालीहरूको अधिकारको रक्षा गर्ने मात्र नभई देशको राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने संगठनसमेत रहेको विचार व्यक्त गर्नुभयो ।
सो सम्मेलनमा नगर सदस्य गोकुलबहादुर गायक र जीवन पराजुलीले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्मेलनले रुद्रप्रसाद शर्मालाई अध्यक्ष चयन गर्दै एक स्थान रिक्त रहने गरी नौ सदस्यीय नयाँ एरिया समिति चयन गरेको छ। समितिमा सचिव जीवन पराजुली, कोषाध्यक्ष दुर्गादेवी हमाल तथा सदस्यहरूमा हिमबहादुर हमाल, पवित्र शर्मा, नारायण शर्मा र तारानाथ शर्मा चयन हुनुभएको छ। त्यस्तै, वैकल्पिक सदस्यमा विशाल पराजुली चयन हुनुभएको छ।
उक्त सम्मेलनको अध्यक्षता नारायण शर्माले र सञ्चालन रुद्रप्रसाद शर्माले गर्नुभएको थियो ।

