काठमाडौँ । नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा रु ३९ करोड बढी आम्दानी घटेको छ ।
टेलिकमले २०८० कात्तिक २५ गते शनिबार सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तीय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ ।
उक्त रकम गत आवको सोही अवधिको कुल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा रु ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालु आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ ।
कम्पनीको कुल सञ्चालन आय पनि रु ४९ करोड २५ लाख २१ हजार घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय रु आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय रु नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा रु ४९ करोड २५ लाख २१ हजार (अर्थात्, ५.४३ प्रतिशत) ले कमी भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफामा पनि कमी आएको जनाइएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा रु दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिमा रु दुई अर्ब २२ करोड ५५ लाख छ हजार रहेको थियो । गत आवको तुलनामा चालु आवमा रु १९ करोड ८० लाख ७४ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा रु ४५.०५ रहेको छ । चालु आवमा राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटिटी सेवाको बढ्दो प्रयोग रहेको जनाइएको छ ।
राष्ट्रको सञ्चार भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको जनाइएको छ । सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियम परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकुल असर पर्नुका साथै बैङ्क व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब कमी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।