मोहनविक्रम सिंह ##
जुन व्यक्ति ‘का. पाकेटमार’ का बारेमा मैले यो संस्मरण लेख्दै छु, उनीसित मेरो भेट रुसको मस्को रेलवे स्टेसनमा भएको थियो । उनले मास्कोको क्रेमलिनसहित कैयौँ दर्शनीय स्थानको दृश्यावलोकन गर्न मलाई मदत गरेका थिए । त्यो सबै स्थानको भ्रमण गरेपछि उनले मलाई पुन: मस्को रेलवे स्टेसनमा नै ल्याएर छोडेका थिए । मैले बिदा हुने बेलामा उनलाई १०० रुबलजति दिने विचार गरेको थिएँ तर बिदा हुनुभन्दा केही पहिले उनी पिसाब लाएको छ भनेर नजिकैको एउटा ट्वाइलेटतिर गए । त्यो बेला उनले मेरो एउटा झोला समातेका थिए । दिनभरि मलाई त्यति धेरै मदत गर्ने मान्छे पिसाब गर्न जान लागेका बेलामा उनले उचालेको झोला माग्नु उनीमाथि अविश्वास गरे जस्तो हुन्थ्यो ।
केही पर गएपछि उनी ट्वाइलेटतिर नगएर अर्काेतिर छिटो छिटो दगुर्न थाले । दगुरेको देखेर उनी मेरो झोला लिएर दगुरेर भाग्न खोजेको कुरा प्रष्ट थियो । छिट्टै नै उनी भिडमा कतै अदृश्य भए । म मनमनै हाँसे । त्यो झोलामा दिनभरि खर्च भएर बचेको २०–२५ रुबल मात्र बाँकी थियो । मैले दिउसो खर्च गर्ने पैसा त्यही झोलाबाट निकाल्ने गर्दथेँ । त्यसैले उनले सोचेका थिए होलान्, त्यो झोलामा धेरै पैसा छ । त्यो झोलामा पैसाको एउटा पर्स हुनुका साथै एउटा किताब एकाध कापी, टाबेल आदि सामान मात्र थिए । यो सोचेर मलाई दु:ख लाग्यो कि मैले ती मान्छेलाई करिन १०० रुबल दिने विचार गरेको थिएँ तर २०–२५ रुबल मात्र उनको हात परेको थियो तैपनि त्यस्तो व्यक्तिलाई मैले किन ‘कामरेड‘ भनेर उल्लेख गरेँ ? त्यो कुरामाथि प्रकाश हाल्ने छु ।
जर्मनीबाट मस्को जानका लागि दुईटा बाटाहरू थिए । एउटा प्लेनद्वारा सिधै मस्को जाने र अर्को रेलद्वारा । रेलद्वारा मस्को जाँदा बाटामा पोल्यान्ड र बेलारुस पर्दथे । मैले प्लेनबाट जानुको सट्टा रेलबाट मस्को जाने विचार गरेँ किनभने त्यसरी जादा बाटामा पर्ने दृश्य हेर्दै जान पाइन्थ्यो । जर्मनीका साथीहरूले मलाई भनेका थिए– रुसको भिसा भएपछि मलाई बिचमा पर्ने देशले रोक्ने छैनन् । म सिधै रुस जान सक्ने छु । त्यसपछि म रेलको टिकट लिएर मस्कोको लागि हिँडे ।
म पोल्यान्ड भएर मस्कोतिर जाँदै थिएँ । म रेलको आफ्नो बर्थमा सुतेको थिएँ । त्यही बेला पोल्यान्डको कुनै स्टेसनमा पुलिसहरूले मलाई उठाए र मेरो पासपोर्ट मागे । उनीहरूले मेरो पासपोर्ट हेरेर भने : ‘तपाईंसित पोल्यान्डको भिसा छैन । त्यसकारण तपाईं अगाडि जान पाउनुहुन्न ।’ त्यसपछि उनीहरूले मलाई र मेरो सामान स्टेसनमा उतारिदिए र भने : ‘तपाई अर्को ट्रेनबाट बर्लिन नै फर्कनुपर्छ ।’
त्यो मध्यरातको बेला थिए थियो । स्टेसन सुनसान थियो । एकदुई जना मान्छेसित भेट भयो तर उनीहरूले मेरो अङ्ग्रेजी भाषा बुझेनन् । त्यही बेला स्टेसनमा एउटी युवतीसित भेट भयो । उनी पन्जाबी रहिछन् । उनी खालिस्तान आन्दोलनकी कार्यकर्ता रहिछन् र शरणार्थीको रूपमा पोल्यान्डमा बसेकी रहिछन् । उनले मलाई पूरा मदत गरिन् । उनले मलाई टिकट काट्न मदत गरिन् र बर्लिन जाने ट्रेनमा बसालिदिइन् । त्यसपछि म बर्लिन फर्कें । बर्लिनमा मैले जर्मन साथीहरूसँग सम्पर्क गरेँ र प्लेनद्वारा मस्कोका लागि उडेँ ।
मस्कोमा पुगेपछि मलाई त्यहाँ छिचोल्न धेरै गार्हो भयो । युरोपका विभिन्न देशमा सबै कुरा व्यवस्थित थिए । त्यहाँ कुनै विषयमा सोधपुछ गरेपछि सजिलैसित जवाफ वा मदत मिल्दथ्यो तर रुसमा त्यस प्रकारको सुविधा थिएन । त्यहाँ सबैजसो मानिसले रुसी भाषा नै बोल्दथे र अङ्ग्रेजी भाषा बोल्ने मानिसहरू झट्टै पाइदैनथे । फोनमा कुरा गर्ने प्रणाली पनि धेरै जटिल थियो ।
म राति नजिकै एउटा होटलमा बसे तर त्यहाँ पनि फोनद्वारा सम्पर्कको कतै सम्पर्क गर्नु अत्यन्त कठिन थियो । मलाई अर्को राति मस्कोबाट जानुपर्ने थियो (मैले त्यो सहरको नाम मैले अहिले बिर्सें) । मसित दिनभरको समय खालि थियो । त्यो खालि समयमा म क्रेमलिन हेर्न जान चाहन्थे तर त्यहाँ कसरी पुग्ने र त्यहाँबाट पुन: कसरी रेलले स्टेसनमा फर्कने ? त्यो पत्ता लगाउन मलाई धेरै नै गार्हो परेको थियो । कतिपय मान्छेहरूले मलाई मेट्रोद्वारा त्यहाँ जान सकिन्छ भनेका थिए तर मेट्रोको टिकट लिने, त्यहाँ जाने र फर्कने काम पनि सजिलो थिएन । मैले कैयौँ
मान्छेलाई प्रश्न सोध्ने गरेको र सन्तोषजनक जवाफ नपाएर अलमलमा परेको देखेर एउटा युवक मेरा नजिक आएर भने : ‘हेल्प ?’ ।
मैले भनेँ : ‘यस’ ।
ती युवक छिटपुट अङ्ग्रेजी बोल्दथे । उनलाई मैले क्रेमलिन जान खोजेको तर जाने तरिका थाह नभएको बताएँ । उनले मलाई भने : ‘आई हेल्प’ ।
उनले हामी दुबै जनाका लागि मेट्रो को टिकट काटे । युरोपका अन्य देशमा भन्दा मस्कोका मेट्रोका सिढीहरू धेरै तल गहिराइसम्म पुग्दथे तर ती युवकको मदतले कुनै कठिनाइ भएन र हामीहरू सजिलैसित क्रेमलिन पुग्यौँ र त्यसको अवलोकन गर्र्यौँ ।
हामी दुबै जनाले एउटा होटलमा गएर खाना खायौँ । खाना खाने बेलामा उनले मसित विभिन्न विषयमा टुटेफुटेको भाषामा कुरा गरिरहे । उनले मलाई कुन देशबाट आएको हो भनेर सोधेका थिए । मैले नेपालबाट आएको हो भनेको थिएँ । उनलाई नेपाल देशबारे केहि थाह रहेनछ । अनि मैले भने : नेपाल इन्डियाको नजिकै उत्तरतिर पर्छ ।
त्यसपछि उनले उत्साहित हुँदै भने : ‘इन्डिया ! एस’ ।
उनले अगाडि भने : ‘इन्डिया एस, रसिया एस, अमेरिका नो ।’
त्यसपछि उनले मतिर फर्केर भने: ‘यू कामरेड, आई कामरेड ।’ त्यस प्रकारको कुराकानी उनले कैयौँपल्ट दोहोर्याए ।
खाना खाएपछि कुरा गर्दै हामीहरू पुन: रेलले स्टेसनमा पुग्यौँ । त्यहाँ पुगेपछि हामीले एउटा होटलमा नास्ता र जुस पियौँ । उनले बारम्बार मैले उचाल्ने गरेको ठुलो ब्याग माग्ने गर्दथे तर त्यो ब्यागमा केही बढी पैसा र महत्त्वपूर्ण कागज पनि थिए । त्यसैले मैले उनलाई मेरो ठुलो ब्याग बोक्न नदिएर सानो झोला मात्र उचाल्न दिएको थिएँ । उनले सोचेका हुन सक्दछन् । त्यही झोलामा नै धेरै पैसा हुन सक्दथ्यो । उनले देखेका थिए कि त्यही झोलाको पर्सबाट नै मैले पैसा निकाल्ने र खर्च गर्ने गर्दथेँ तर उनले यो बुझ्न सकेका थिएनन् र बुझ्न पनि सक्दैनथे : मैले त्यो झोलामा खालि चालु खर्चका लागि थोरै पैसा मात्र रा्रख्ने गर्दथेँ ।
अहिले पनि मैले उनलाई बारम्बार सम्झन्छु । उनलाई सय रुबल दिन नपाएर उनले चोरी गरेर खालि २०–२५ रुबल मात्र लगेको सम्झेर अहिले पनि पिर लागिरहन्छ ।
त्यो बेला युरोपका कैयौँ देशको भ्रमणपछि रुसको भ्रमण गर्न जानुको पछाडि के कारण थियो ? त्यसबारे अर्को कुनै संस्मरणमा मैले स्पष्ट गर्ने छु ।
मेरा पुस्तक र रचनाहरू कहाँ र कसरी हराउने गरेका छन ?