मोहन विक्रम सिंह ##
जर्मनीबाट उडेको टर्किस एयरलाइन्सको प्लेन टर्कीको प्रमुख महत्त्वपूर्ण सहर स्तानबुलमा आएर रोकियो । त्यहाँबाट अर्काे हवाईजहाज चढेर काठमाडौँ जानुपर्ने थियो । त्यहाँ खालि एक घण्टाको मात्र ट्रान्जिट थियो ।
मैले लिएको प्लेनको टिकटमा स्तानबुलमा ह्विल चियरको पनि व्यवस्था थियो । प्लेनबाट उत्रेर मैले सबैतिर हेरेँ तर कतै ह्विल चियर फेला पार्न सकिनँ । त्यहाँको ट्रान्जिटको समय एकदम कम थियो । त्यसकारण नयाँ ठाउँमा काठमाडौँ जाने प्लेन पत्ता लगाएर चढ्न गार्हो थियो । काठमाडौँको प्लेन चढ्ने ठाउँ केही टाढा पनि थियो ।
प्लेनबारे सोध्दासोध्दै मेरो काठमाडौँको प्लेन छुट्यो । त्यसपछि म टर्किस एयरलाइन्सको अफिसमा गएँ । उनीहरूले मेरा लागि पर्सिपल्टको टिकट बनाइदिए । उनीहरूले मलाई भने कि मेरा लागि खाने, बस्ने र होटेलको समेत व्यवस्था हुने छ । उनीहरूले मलाई एउटा ट्याक्सीमा चढाएर सहरको अलि परैको एउटा अफिसमा पठाइदिए । त्यहाँ त्यही अफिसको फोनद्वारा मैले दुर्गालाई मेरो प्लेन छुटेको समाचार गरिदिएँ । जर्मनीबाट उनी महिलाहरूको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ट्युनिसिया गएकी थिइन् भने म काठमाडौँतिर लागेको थिएँ । मैले उनलाई मलाई खान, बस्नका लागि होटलको व्यवस्था भएको र पर्सिका लागि काठमाडौँ जाने प्लेनको टिकट पनि भएको कुरा बताइदिएको थिएँ ।
त्यो बेलासम्म सबै कुरालाई मैले सामान्य रुपमा नै लिएको थिएँ । त्यो अफिसबाट गाडिमा हालेर मलाई अर्काे ठाउँमा पठाइयो । त्यो एयरपोर्टको एउटा अफिस थियो । मैले सोचेको थिएँ, त्यहाँबाट मलाई कुनै होटलमा पठाउने व्यवस्था गरिने छ । धेरै बेरसम्म होटलको कुनै कुरा नगरेपछि मैले होटेलबारे सोधेँ । उनीहरूले मलाई कुनै पनि जवाफ दिएनन् । केही बेरपछि पुन: दोहोर्याएर त्यसबारे सोधेँ ।
उनीहरूले होटेलबारे त केही बताएनन् तर मलाई भने : ‘तपाईंंसित टर्कीको भिसा छैन । त्यसकारण तपाईंं यो एरियामा घुम्न सक्नुहुन्छ तर बाहिर जान पाउनुहुँदैन ।’
मैले भनेँ : ‘मसित सेनगुइन भिसा छ । त्यसको आधारमा युरोपभरि मलाई अन्य देशको भिसा आवश्यक पर्दैन ।’
मेरो प्रश्नको उनीहरूले कुनै जवाफ दिएनन् ।
एक छिनपछि म जुन बाटो आएको थिएँ, त्यही बाटो म बाहिरतिर निस्केँ तर गेटमा पुगेपछि त्यहाँको गार्डले मलाई रोक्यो । उनीहरूले मलाई एक जना अफिसरकहाँ लगे ।
त्यो मान्छेले मलाई भन्यो : ‘तपाईंको भिसा प्रब्लम छ । त्यसले फेरि पुलिस लगाएर पहिलेकै ठाउँमा पुर्यायो । त्यसपछि मैले अनुभव गरेँ, उनीहरूले मलाई गिरफ्तार गरेका छन् ।’
उनीहरूको कुराबाट मलाई लाग्यो, सम्भवत: भिसाको कुरा उठाएर ममाथि मुद्दा चलाउने वा गिरफ्तार गर्न पनि गर्न सक्दछन् ।
त्यो अफिसको आसपासमा घुम्ने मलाई अधिकार थियो तर बाहिर निस्कने अधिकार थिएन । त्यहाँको नजिकै एउटा टेलिफोन सेन्टर थियो । त्यहाँ गएर मैले गाबीलाई फोन गरे । उनी पनि दुर्गासित सँगै महिला सम्मेलनमा भाग लिन ट्युनेसिया गएकी थिइन् । म गिरफ्तार भएको समाचार पाएपछि उनी आत्तिइछन् र महिला सम्मेलनलाई छाडेर तुरुन्तै स्तानबुल आउने कुरा गर्न थालिछन् ।
गाबीहरूले उनलाई भने छन : ‘हामीले एयरलाइन्समा सम्पर्क गरेर पत्ता लगाउँछौँ । त्यसपछि के गर्र्ने ? सल्लाह गरौँला ।’
उनीहरूले मलाई राति कुनै होटेलमा लैजाने व्यवस्था पनि गरेनन् । खान दिने व्यवस्था पनि गरेनन् । मैले उनीहरूको अफिसको अगाडि खुला ठाउँमा बेन्चमा बसेर पूरै रात बिताउनु पर्यो ।
अर्काे दिन बिहान उनीहरूले मलाई गार्डसहित सहरको एउटा अफिसमा पुर्याए । म तीन/चार घण्टासम्म त्यहाँ बस्दा पनि उनीहरूले मलाई कुनै सोधपुछ गरेनन् । कैयौँपल्ट मैले गएर उनीहरूलाई सोध्दा उनीहरूको एउटै जवाफ हुन्थ्यो : ‘वेट’ (पर्ख) ।
करिब चार घण्टापछि उनीहरूले मलाई गार्डसहित एउटा नजिकैको एयरलाइन्स मजिस्ट्रेटकहाँ पठाए । उनले मेरो पासपोर्ट हेरे र भने : ‘तपाईंसित सेन्गुइन भिसा छ । त्यसकारण तपाईं आफ्नो खुसीले सहरमा घुमफिर गर्न सक्नुहुन्छ ।’
त्यसपछि म बिनागार्ड टर्किस एयरलाइन्समा गए । त्यहाँ पुगेपछि उनीहरूले मलाई खानका लागि एउटा कागज लेखेर एउटा होटलमा पठाइदिए । त्यहाँ गएर खाना खाएँ । उनीहरूले मलाई यो पनि भनेका थिए : ‘यो अफिसको माथि वेटिङरुम छ । त्यहाँ गएर तपाईंले आराम गर्न र सुत्न सक्नुहुन्छ ।’
टर्किस एयरलाइन्स अफिसबाट लिफ्ट चढेर म उनीहरूले भनेको होटेलतिर गएँ । होटेलतिर जाने सडक देखेर म आश्चर्यचकित भएँ । त्यो सडक अत्यन्त सफा र चम्किलो थियो । त्यसका दायाबायातिर भव्य दुकान थिए । युरोपमा अन्यत्र कहिँ पनि मैले त्यस प्रकारको सडक देखेको थिइनँ ।
स्तानबुलमा गिरफ्तारीबाट मुक्त भएपछि मैले ट्युनिसियामा दुर्गालाई फोन गरेँ । उनी ट्युनिसियाबाट टर्की आउन तयार भएकी रहिछन् । मेरो फोन पाएपछि उनी रोकिइन् ।
स्तानबुलको मेरो त्यो सम्झना अत्यन्त अप्रिय थियो । नियमअनुसार सेनगुइन भिसा भएपछि मेरो टर्कीको भिसा छैन भनेर मलाई त्यसरी रोक्नु, एक प्रकारले गिरफ्तार गर्नु र खाने र सुत्ने व्यवस्थासमेत नगरिकन रातभरि खुला आकाशमुनि बेन्चमा बस्न बाध्य गर्नु बिल्कुल गैरकानुनी कार्य थियो । टर्कीमा तानाशाही व्यवस्था थियो र उनीहरूको व्यवहारबाट थाहा भएको थियो : त्यहाँको प्रशासन पनि एकदम गैरजिम्मेवार र नोकरशाही प्रकारको थियो । त्यसबाट म धेरै नै क्षुव्द भएको थिएँ ।
काठमाडौँ आएपछि मैले थाहा पाएँ, जुन प्लेनबाट म काठमाडाँै आउने कुरा थियो, का. बलराम बासकोटाहरू पनि स्तानबुलबाट काठमाडौँ आउन त्यही प्लेनमा चढ्नु भएको रहेछ तर बिच बाटोमा कतै त्यो प्लेनमा केही टेक्निकल समस्या पैदा भएछ । त्यसपछि त्यो प्लेन फर्केर स्ताम्बुल नै गएछ र उहाँहरू अर्का प्लेनबाट काठमाडाँै आउनुभएको रहेछ ।
स्तानबुलबाट काठमाडौँ आएपछि मैले गुगल र युट्युबटहरूमा टर्कीसम्बन्धी केही सामग्री खोजेर पढेँ । त्यस सिलसिलामा टर्कीका एकाध सिनेमा र सिरियल पनि हेरेँ ।
तिनीहरूमा कुनै उत्ताउलो वा छाडापन थिएन । तिनीहरू गम्भीर प्रकृतिका र मानवीय भावनाद्वारा ओतप्रोत थिए । तिनीहरूबाट यस्तो भान हुन्थ्यो, टर्कीको समाज पनि, खास गरेर मानिसका भावना हाम्रो नेपालका जस्तै थिए । ती सिनेमा हेरेर मलाई टर्कीका जनतासित नजिकको आत्मीय सम्बन्ध भए जस्तो अनुभव भयो । तिनीहरूद्वारा मलाई महसुस भयो : म टर्कीका जनताको मनको गहिराइमा पुगेको थिएँ । त्यसले गर्दा मेरो मनमा त्यहाँ तानाशाही व्यवस्था र प्रशासनको प्रकृति नोकरशाही प्रकारको भए पनि स्तानबुलमा मेरो मनमा टर्कीप्रति जुन क्षोभ पैदा भएको थियो, त्यसको ठाउँमा टर्कीका जनताप्रति धेरै नै आत्मीयता र सदभावनाको भाव पैदा भयो ।
केही दिनअघि टर्कीमा ठुलो भूकम्प आयो । टर्की र सिरियामा गरेर ४० हजारभन्दा बढी मानिसको मृत्यु भयो । त्यसमध्ये ठुलो सङ्ख्या टर्कीबासीको नै थियो । जो बाँचेका थिए, उनीहरू पनि घरबासविहीन भए । लाखौँ मानिसहरू जाडोमा खुला आकाशमुनि बस्ने गर्नु परिरहेको छ । टर्कीका जनताले भोगेको त्यो ठुलो दु:खका आगाडि स्तानबुलमा एक रात खुला आकाशमुनि बिताएको दु:ख एकदम सामान्य र नगन्य थियो ।
अहिले मेरा मनमा टर्कीमा भूकम्पद्वारा मृत ती हजारौँ जनताप्रति श्रद्धाञ्जली र त्यहाँका भूकम्पद्वारा पीडित जनताप्रति गहिरो समवेदनाको भाव पैदा भएको छ । क्रमश: २०७९ फागुन ९ गते
मेरा पुस्तक र रचनाहरू कहाँ र कसरी हराउने गरेका छन ?