मोहनविक्रम सिंह ##
(पहिले मैले ‘हाँक साप्ताहिक’ विविध शीर्षकले एउटा स्तम्भ लेख्ने गर्थें, पछि मैले त्यसलाई नियमित गराउन सकिनँ । अहिले ‘युगदर्शन साप्ताहिक’ सँग सल्लाह गरेर ‘सङ्क्षिप्त संस्मरण स्तम्भ’ लेख्ने विचार गरेको छु – लेखक ।)
मेरा पुस्तकहरू धेरै पल्ट हराउने वा नष्ट हुने गरेका छन् । त्यस सन्दर्भमा पहिलो घटना पाल्पा जेलसित सम्बन्धित छ । २०११ सालमा प्युठानको भ्रष्टाचार विरोधी आन्दोलनमा गिरफ्तार भएका छ जना साथीहरूमध्ये तीन जना खगुलाल गुरुङ, नेकाका हेमराज पण्डित र मलाई पाल्पा जेलमा पठाइएको थियो । पछि २०१२ सालको अन्ततिर पाल्पा जेलबाट हामीलाई प्युठान र त्यहाँबाट सल्यान पठाइयो । करिब डेढ वर्षपछि हामीहरू सल्यान जेलबाट छुट्यौँ ।
पाल्पा जेलबाट चलान हुने बेलामा मैले पाल्पा जेलमा लेखेका सबै रचनाहरू; जसमध्ये दुईओटा उपन्यास र १०० ओटा जति कथा र केही निवबन्धहरू थिए । प्युठानमा ती सबै रचनाहरू तानसेनमा दुकान गरेर बस्ने प्युठान कुटेचौरका व्यापारीकहाँ राख्न दिएको थिएँ । सल्यान जेलबाट छुटेर त्यहाँ आउँदा उनले ती सबै सामग्रीहरू नष्ट गरिदिएका रहेछन् । त्यो बेला लेखेका र सँगै लगेका दुईओटा कथा र कविताहरू मात्र बचे ।
२०१८ सालमा तौलिहवामा शक्ति लम्लास र म गिरफ्तार भयौँ । शक्ति लम्साल र खिमासिंह गुरुङ ता तौलिहवा जेलबाट नै छुट्नु भयो । २०२२ सालतिर मलाई भैरहवा जेलमा चलान गरियो । त्यो बेला मैले आफ्ना चार/पाँच बाकस पुस्तक र रचनाका बाकस कपिलवस्तुका टेकबहादुर पन्थीकहा राख्न पठाएको थिएँ । टेकबहादुरलाई राख्न पठाएका रचनामध्येमा त्यो जेलमा बस्दा तीन/चार वर्ष लगाएर लेखेको ओखरकोट सम्बन्धित एउटा उपन्यास पनि थियो । २०२७ सालको चैतमा जेलबाट छुटेर तौलिहवा आउँदा पन्थीको मृत्यु भइसकेको रहेछ । मैले आफ्ना ती पुस्तक र रचनाहरू खोज्ने धेरै प्रयत्न गरेँ तर केही पनि पाइएनन् ।
२०२७ सालमा जेलबाट छुटेर प्युठानको घरतर्फ जाँदा मसँग सात/आठ बाकस पुस्तक र कैयौँ रचना पनि थिए । ती सबै मैले प्युठानमा एउटा भाइकहाँ राख्न दिएको थिएँ । २०३४ सालको पर्चा आन्दोलनपछि प्युठानमा व्यापक गिरफ्तारी भयो । त्यो डरले मेरो भाइले मैले राख्न दिएका सबै पुस्तक र रचनाहरू जङ्गलको एउटा ओडारमा फालिदिएछ । पछि म प्युठान पुग्दा ती सबै ओढारमा सडिसकेका थिए ।
२०१८ सालमा म गिरफ्तार हुँदा मेरी आमा तारा कुमारी बनारसमा डेरा लिएर बस्नुहुन्थ्यो । त्यही डेरामा मेरा कैयौँ पुस्तक, रचना र दस्तावेज पनि थिए । म जेलमा परेपछि आमा प्युठान जानुभयो । हाम्रा साथीहरूले आमाको डेरामा भएका सबै पुस्तक, रचनाहरू बाँडेर लगे छन् । म काठमाडौँबाट छुटेर बनारस आउँदा दाङका केही साथीहरूले त्यहाँबाट लगेर आफ्नो साथमा सुरक्षित रूपले राखेको एउटा टिनको बाकस मात्र फेला पर्यो ।
पाँचौँ महाधिवेशनपछि पार्टीमा फुट भएपछि हाम्रो कार्यालय गोरखपुरमा थियो । माओवादीहरूको—त्यो बेलासम्म उनीहरूको सङ्गठनको नाम माओवादी रहेको थिएन—र हाम्रा कार्यालय बेग्लाबेग्लै थिए । पहिले हाम्रो कार्यालय जाहिदावादमा थियो । त्यो कार्यालयमा हाम्रा धेरै पुस्तक र सामग्री थिए । त्यो कोठा पहिलेदेखि नै हामीले लिएको कोठा थियो । हामीले त्यहाँ गएर माओवादी साथीहरूसित हाम्रो कोठा छाडिदिन भन्यौँ । उनीहरूले अर्काे दिन बिहान छाडिदिने कुरा गरे । राति उनीहरूले त्यहाँ भएका सबै पुस्तक र सामग्रीहरू ओसारे छन् । अर्काे दिन बिहान जाँदा त्यो कोठा खाली थियो । त्यो बेला पनि हामीले जम्मा गरेका धेरै पुस्तक र दस्तावेजहरू हराए भन्नुपर्यो ।
रिमसित सम्बन्ध टुटेपछि म युरोप र रुसका समेत कैयौँ पार्टीसित सम्पर्क गर्न वा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अध्ययन गर्न गएको थिएँ । त्यो बेला मैले लेखेका डायरी र सम्पर्कका ठेगान दिल्ली पठाएको थिएँ । पछि दिल्लीबाट गोरखपुर पठाइदिन समाचार पठाएको थिएँ तर ती मलाई कहिल्यै प्राप्त हुन सकेनन् । दिल्लीका साथीले एक जना साथीका हात पठाएको भन्नुभयो तर त्यो साथीको नाम उहाँले भुलेको बताउनुभयो । त्यसरी युरोप र रसियाको भ्रमणद्वारा जम्मा गरेका मेरा धेरै सामग्री नष्ट भए ।
नेपालमा बहुदलीय व्यवस्था आएपछि गोरखपुरमा फाइल गरेर राखेका मसालका सबै अङ्क मैले गोरखपुर मगाएर पठाएँ । गोरखपुरबाट त्यहाँ बस्ने साथीहरूले एक जना साथीका हात पठाएको भन्नुहुन्छ तर ती कहिल्यै पनि बुटवल पुगेनन् । त्यसैले रातो तरबारको दोस्रो अङ्क प्रकाशित गर्दा त्यो बेला हराएका मसालका सामग्री हामीले दिन सकेनौँ ।
बनारसमा छँदा मैले एउटा सानो उपन्यास लेखेको थिए; जसको शीर्षक थियो : तारा । त्यो उपन्यासको हस्तलिपि मैले काठमाडौँमा सँगै ल्याएको थिएँ तर पछि त्यो उपन्यास भेटिएन । काठमाडौँमा ‘का. जलजला’ का टाइप गरेका सबै प्रति चोरी भएको थियो । कसले चोरी गर्यो ? थाहा हुन सकेन तर ती सामग्री कम्प्युटरमा भएको हुनाले सुरक्षित रह्यो । उपन्यासका ती प्रति कसले चोरी गर्यो र तिनीहरूलाई लगेर के गरियो ? मैले अहिलेसम्म पनि केही बुझ्न सकेको छैनँ ।
मेरा पुस्तक हराएका माथिको विवरणबाहेक डेरा सर्दा वा यात्राको बेलामा कैयौँ पुस्तक, दस्तावेज वा रचनाहरू फुटकर रूपमा हराएका कैयौँ उदाहरण छन् । तिनीहरूको विवरण दिनु सम्भव छैन ।