मोहनविक्रम सिंह ##
मेरो उपन्यास का. जलजलाको पहिलो भाग कुमाउसित नै सम्बन्धित छ । त्यसैले त्यसको शीर्षक राखिएको छ– “कुमाउकी छोरी’ । कुमाउकी छोरी भनेकी सुनन्दा नै हुन् । उनी उपन्यासमा सुरुदेखि अन्तसम्म नै देखिन्छिन् ।
सुनन्दालाई खोज्न मैले गढवाल र कुमाउका धेरै स्थानको भ्रमण गरेको थिएँ; जस्तै कि देहरादुन, टिहरी, कौशनी, रानीखेत, अल्मोडा, नैनिताल, जौहर, धार्चुला । यी ता मुख्य स्थान भए । त्योबाहेक गढवाल, कुमाउका अन्य गाउँको पनि मैले भ्रमण गरेको थिएँ ।
तीमध्य धेरै स्थानमा म गढवाल, कुमाउमा घुम्न जाँदा प्रायश: दुर्गा मसित सँगै हुन्थिन् । उनी सँगै हुनाले त्यहाँका खास गरेर महिलाहरूसित कुराकानी गर्न र त्यहाँको जनजीवनलाई गहन प्रकारले बुझ्न मलाई धेरै मदत पुग्दथ्यो । मैले आफ्नो उपन्यासमा ती सबै पक्षबारे सकेसम्म चित्रण गर्ने गरेको छु ।
अन्तमा मैले सुनन्दालाई दाँतुमा फेला पारेँ । निश्चय नै उपन्यासको पहिलो भागसित सम्बन्धित कुमाउसम्बन्धी सामग्री जुटाउनका लागि मैले नैनिताल, अल्मोडा, दिल्ली र इलाहाबादका कैयौँ पुस्तकालयमा गएर पनि अध्ययन गर्नुपरेको थियो । दाँतु नेपालको दार्चुलाको कालीनदीको पल्लापट्टि पर्ने धार्चुला जिल्लाको दार्मा प्रगन्नामा पञ्चकन्या हिमालयबाट निस्कने एउटा हिमनदीको किनारमा बसेको एउटा गाउँ हो ।
दुर्गा र म कुमाउँका कैयौँ अग्ला घाँटीहरू पार गरेर जौहरमा पुग्यौँ । त्यो ठाउँ कुमाउको प्रसिद्ध लोककथा (राजुला बालु शाहीको अमर प्रेमकथा) का लागि जानिन्छ । त्यहाँबाट निस्कने एउटा नदीको तिरैतिर हुँदै हामी जौलजीवीमा पुग्यौँ । त्यो नेपाल र भारतको सीमा कालीनदीको तिरमा बसेको एउटा सहर हो र त्यहाँ प्रत्येक साल कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो हप्तामाझ ठुलो मेला लाग्दछ । त्यो मेला करिब १५ दिनजति चल्दछ ।
जौलजीवीमा पुगेपछि मैले दुर्गालाई त्यहाँको एउटा होटलमा राखिदिएँ । केही बेरमा फर्केर आउँछु भनेर म धार्चुलातिर लागेँ । धार्चुलाको सहर जौरजीवीबाट धेरै टाढा पर्दैनथ्यो । त्यो सहरबाट केही माथि गएपछि एउटा पहाडको काँखमा एउटा गाउँ बसेको छ । त्यो गाउँको नाउँ अहिले मलाई सम्झना भएन । त्यहाँ बाह्र/बाह्र वर्षको बिचमा एउटा मेला लाग्दछ । त्यसलाई केदालीको मेला भन्ने गरिन्छ । मैले आफ्नो उपन्यासमा त्यो मेलाबारे विस्तृत रूपले प्रकाश पारेको छु । त्यो मेला खास गरेर महिलाको मेला हो ।
एउटा लोककथाअनुसार गाउँका सबै लोग्नेमान्छेहरू काममा अन्यत्र गएका बेलामा केही आक्रमणकारीले त्यो गाउँमा हमला गरे छन् । त्यो गाउँका महिलाले सामना गरेर उनीहरूलाई भगाएछन् । उनीहरू केदाली फूलका झाडीमा लुके छन् । महिलाहरूले ती झाडीलाई मासेर दुस्मनलाई गाउँबाट भगाएछन् ।
त्यो केदाली फूल बाह्र/बाह्र वर्षमा फुल्ने गर्दछ । त्यसैले त्यो गाउँका महिलाले त्यो दिनको सम्झनामा बाह्र/बाह्र वर्षमा आफ्नो विजयको उत्सव मनाउने गर्दछन् ।
मेरो धार्चुला जानुको पछाडिको उद्देश्य दातुगाउँ र केदाली मेलाको पनि जानकारी जुटाउनु थियो ।
म त्यो सहर मात्र गएँ तर त्यहाँ जाने बेलामा मलाई यो थाह थिएन कि धार्चुला निषेधित क्षेत्र हो र विदेशीलाई त्यहाँ प्रवेश गर्ने अधिकार छैन तर त्यहाँ आउँदा मलाई चेकपोस्टमा कुनै सोधपुछ गरिएन र म सरासर नै त्यो ठाउँमा पुगेँ । त्यहाँ पुगेपछि नै मलाई त्यो निषेधित क्षेत्र हो भन्ने थाह भयो । मैले सोध्न थाले कि त्यहाँबाट फर्केर जौजीवी जाँदा मलाई पक्रने ता होइनन् ? तैपनि म त्यहाँ अनिश्चित समयसम्म बस्न सक्दैनथेँ र लुकेर जाने कुनै बाटो पनि थाह थिएन ।
म अबेलासम्म नआएको देखेर जौलजीवीमा बसेकी दुर्गा आत्तिएकी रहिछन् र मलाई खोज्न धार्चुला सहरतिर नै हिँडिछन् ।
त्यो बेला मोबाइलको कुनै चलन थिएन । हामीहरूसित आपसमा सम्पर्कका लागि अन्य कुनै माध्यम पनि थिएन । धार्चुला सहर ठुलो थियो । त्यो सहरमा म कहाँ हुन्थेँ र ? उनी कहाँ आइपुगेकी थिइन् ? त्यो निश्चित थिएन । म बस पक्रन बसअड्डातिर जाँदै थिएँ । त्यही बेला मैले दुर्गालाई बाटोमा हिँडिरहेको देखेँ । संयोगले अकस्मात हाम्रो भेट भयो । त्यो सुखद संयोग थियो । त्यसपछि हामीहरू बस चढेर जौलजीवीतर्फ फर्कियौँ ।
बाटामा हामीलाई कसैले केही सोधपुछ गरेन । अहिले पनि त्यो कुरा सम्झेर सोच्दछु : धार्चुलामा त्यसरी हाम्रो भेट नभएको भए दुबै जनाका लागि त्यो कति अप्ठ्यारो कुरा हुन्थ्यो ?
मेरो उपन्यासमा कुमाउबाट खोजेकी मुख्य पात्र सुनन्दा नै हुन् । उनी जलजलापछिकी उपन्यासकी दोस्रो मुख्य पात्र पनि हुन् । त्यो भागमा मैले मेरो उपन्यासमा अरू पनि कैयौँ पात्र लिएको छु; जस्तै कि चन्द्रसिंह गढवाली, का. गढवाली, सरला बहन, सुन्दरलाल बहुगुणा, विमला बहुगुणा, मालतीदेवी । ती पात्रहरूमध्ये कतिपय वास्तविक हुन् भने कतिपय काल्पनिक ।
अन्य कतिपय पात्रहरू जस्तै मालतीदेवी वास्तविक पात्र हुन् । उनी साधारण गाउले महिला हुन् तर उनले तिलौराकोटको पर्यावरण आन्दोलनको नेतृत्व गरेकी थिइन् । दुर्गा र म उनलाई भेट्न तिलौराकोटको उनको घरमा नै गएका थियौँ । उनले भनेकी थिइन्– उनका पुर्खाहरू नेपालबाट नै आएका थिए तर नेपालको कुन ठाउँँबाट आएका थिए ? त्यो कुरा उनलाई थाह थिएन । उनले भनेकी थिइन्– बालाजुको सिद्धार्थ वनस्थलीमा आयोजित पर्यावरणसम्बन्धी कार्यक्रममा भाग लिन उनी नेपाल पनि आएकी थिइन् । क्रमश:
छुट :
(अघिल्लो अङ्कमा लेख्न छुटेको एउटा अंश तल दिँदै छु ।)
२०१० सालमा प्युठानको रातामाटामा तीन महिनासम्म चलेको जनता शिक्षण शिविरमा हामीले २०० भन्दा बढी फोटा खिचेका थियौँ । ती फोटाका नेगेटिभ पाल्पा गएर धुलाएर हामीहरू जनकपुरको अखिल नेपाल किसान सङ्घको सम्मेलनमा भाग लिन गएका थियौँ । त्यहाँबाट कृष्णनगरको बाटो फर्केपछि हामीहरू बहादुरगञ्ज हुँदै प्युठानतिर लागेका थियौँ । त्यो बेला पोको पारेर झोलामा राखेको नेगेटिभसहित सबै फोटा सुराइखोलाको तिरमा खतै खसेछन् ।
पछि खोज्न जाँदा तिनीहरूमध्ये ती नेगेटिभ र फोटा फेला परेनन् । सायद बाटोमा हिँड्ने मान्छेले ती फोटा फेला पारेर लगिसके होलान् । पछि हामीले ती फोटामध्ये दुईटा फोटा मात्र हाम्रा झोलामा बचेका थिए । ती दुईटामध्य एउटा मच्छीको फाँटमा बन्दुकले घेरेर नारिकोटका साहुमुखियालाई घेरा हालेर लगेको दृश्यको फोटो थियो । त्यो फोटो पनि पछि हरायो । अर्को कमलराज रेग्मी, जगत्बहादुर जोशी, बुबा खिमविक्रम र हेमराज पण्डितसमेतको फोटो थियो । त्यो एउटा फोटो मात्र अहिले पनि सुरक्षित छ ।
२०७९ माघ २९ गते
खलङ्गा, प्युठान