इस्लामावाद । पाकिस्तानले अति आवश्यक रहेकाबाहेकका तथा विलासिताका सामानको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानको आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको हो ।
यसरी आयातमा रोक लगाइएका सामान तीन दर्जनभन्दा बढी रहेका छन् । पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक सङ्कटको समाधानसम्बन्धी कार्यक्रम ल्याएको छ । यहाँ पनि आर्थिक सङ्कट आउन सक्ने सङ्केत देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो ।
यसै क्रममा यहाँको सरकारले शुक्रबारदेखि यस्ता सामग्री आयात गर्ने काममा रोक लगाएको यहाँका सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिनुभयो ।
मन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि सङ्कट आइपर्ने सङ्केत देखिन थालेको भन्दै यसका लागि देशबासीले त्यसमा सहयोग गर्नुपर्ने बताउनुभयो । देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उहाँले बताउनुभएको छ । (रासस:सिन्ह्वा)