काठमाडौं । राष्ट्रिय जनमोर्चाले बैतडीकी किशोरी भागरथी भट्ट हत्या घटनाको छानविन गरी दोषीलाई कडा कारबाही पीडित परिवारलाई क्षतिपुर्ती दिन सरकारसँग माग गरेको छ ।
आइतबार विज्ञप्ति प्रकाशित गरी राजमो उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले कञ्चनपुरकी बालिका निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधीले अहिलेसम्म सजाय नपाएको भन्दै भागरथी भट्टको सन्दर्भमा निर्मला पन्तको नियति दोहोरिने त होइन भन्ने आशंका गर्नुभएको छ ।
बलात्कार तथा हत्या जस्तो जघन्य अपराधका घटनामा सरकार उदासिन रहने गरेको भन्दै राजमोले सरकारको गम्भीर आलोचना समेत गरेको छ ।
यस्तो छ, वक्तव्य
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया बालिका भागरथी भट्टको बलात्कारपछि निर्मम र पाशविक ढंगले हत्या गरिएको छ । भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । हत्या गरिएको स्थानमा घिसारिएकोले घटना कति धेरै पाशविक थियो भन्ने कुरा प्रष्ट हुन्छ ।
निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्षसम्म कारवाही गर्न नसक्नुले सरकार बलात्कार र हत्याका घटनामा उदासिन रहेको देखिएको छ । भागरथी भट्टको पनि निर्मला पन्तको घटना जस्तै कारवाही हुन नसक्ने अवस्था सिर्जना हुने त होइन भन्ने आशंका पैदा भएको छ । गम्भीर ढंगले घटनाको छानविन गर्न माग गर्दछौं ।
भागरथी भट्टका बलात्कारी र हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दछौं । हाम्रो पार्टीको तर्फबाट भागरथी भट्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।
२०७७ माघ २५ गते
दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता





