• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

मुख्यमन्त्री, मन्त्री र केही सय सांसदहरु भाडाका कार्यालयमा खडा गर्दैमा संघीयता संस्थागत हुँदैन


  •   बुधबार, असोज २९, २०७६ मा प्रकाशित
  • विमल पोखरेल, अध्यक्ष, अखिल (छैठौं)

    Advertisement

    अनेरास्ववियु (छैठौं)ले हालै राष्ट्रिय परिषद बैठक सम्पन्न गरेको छ । त्यो बैठकले पारित गरेका कार्यक्रम तथा योजनाबारे स्पष्ट पारिदिनुहोस् न ?

    हामीले सम्मेलन सम्पन्न भएको एक वर्षमा राष्ट्रिय परिषद् बैठक गर्ने गरेका छौँ । यो हाम्रो नियमित आन्तरिक सांगठनिक काम हो । परिषद्ले राष्ट्रिय सम्मेलनपछिको एक वर्षको कार्यको समीक्षा र आगामी कार्यक्रमको बारेमा छलफल गरेर निर्णय गर्ने गर्दछ । हामीले त्यही गरेका छौँ ।

    परिषद् मूलतः राजनीतिक तथा शैक्षिक मुद्दाहरुमा केन्द्रित भयो । त्यसबाहेक केही सांगठनिक निर्णयहरु पनि भएका छन् । संघीयताको कारण देश ठूलो घनचक्करमा फसेको छ । त्यसबाट देशलाई बाहिर निकाल्नुपर्ने उद्देश्यका साथ संघीयता खारेज गर्नको लागि संघर्ष गर्ने निर्णय भएको छ ।

    शिक्षाको व्यापारीकरण, निजीकरण र माफियाकरणका विरुद्धका आन्दोलनलाई संगठित गर्नको लागि पनि लगातार जोड दिने निर्णय भएको छ ।

    संघीयताविरुद्ध काठमाडौंमार्च गर्दै हुनुहुन्छ । आन्दोलन कहिले र कुन स्वरुपको हुन्छ, त्यसको तयारी कसरी गर्दै हुनुहुन्छ ?

    हामीले संघीयताको विरुद्ध काठमाडौं मार्च सञ्चालन गर्दैछौँ । मार्चको मिति केन्द्रीय समितिको अर्काे बैठकले घोषणा गर्नेछ । सम्भवतः चैतको पहिलो हप्तासम्म गर्न सकिन्छ भन्ने मनस्थिति बनाएका छौँ । कम्तीमा ५ दिनसम्म हामीले काठमाडौं उपत्यकामा प्रदर्शन गर्नेछौँ । त्यसले संघीयता विरुद्धको आन्दोलनलाई थप नयाँ उचाइमा लैजाने विश्वास लिएका छौँ ।

    काठमाडौं केन्द्रित मार्च भने पनि यो काठमाडौं केन्द्रित मात्रै हुने छैन । देशव्यापी रुपमा विद्यार्थीलाई संगठित, प्रशिक्षित, आन्दोलित बनाइनेछ । देशभरी नै प्रचारप्रसार गरिनेछ । भित्तलेखन, पर्चा वितरण, पोष्टरिङ, भेला, प्रशिक्षणहरु चलाइनेछ । व्यापक मात्रामा विद्यार्थीहरुलाई जनताको बीचमा परिचालन गरिनेछ । हाम्रो उद्देश्य संघीयताका विरुद्ध बढी भन्दा बढी समर्थन जुटाउनको लागि मेहनत गर्ने र त्यसलाई काठमाडौं मार्चमार्फत् बुलन्द गर्ने हो । अबको समय आन्दोलनको तयारी र व्यवस्थापनमै हामी केन्द्रित हुनेछौँ ।

    तपाईंहरुको आन्दोलनले संस्थागत हुँदै गरेको संघीयतालाई असर गर्ला ?

    संघीयता संस्थागत भएकै छैन । यो घोषणा मात्रै गरिएको हो । मुख्यमन्त्री, मन्त्री र केही सय सांसदहरु भाडाका कार्यालयहरुमा खडा गरेर संघीयता संस्थागत हुने होइन ।

    हामीले संघीयताका विरुद्ध निरन्तर आन्दोलन गरिरहेका छौँ । आन्दोलनले मात्रै होइन, संघीयता भित्रभित्रै आफै संकटमा फसेको छ । संघीयताबाट मुख्यमन्त्रीहरु नै सन्तुष्ट छैनन् । प्रदेश सरकारले काम गर्न सकेको छैन । ५० प्रतिशत बजेट खर्च हुन सकेको छैन । जनतालाई जुन प्रकारले आशा देखाइएको थियो, ती केही पनि पूरा भएका छैनन् । संघीयता जति जति संकटमा फस्दै जान्छ, हाम्रो आन्दोलनको गति तेज हुँदै जान्छ ।

    जनताले संघीयताको बारेमा बुझेकै थिएनन् । संघीयताले विकास ल्याउँछ, समृद्धि ल्याउँछ भनेर सोचेका थिए होलान् । तर अकल्पनीय कर बृद्धि, महंगी, भ्रष्टाचार मात्रै हुन थाल्यो । विदेशीबाट पैसा लिएर कर्मचारी पाल्नुपर्ने, अफिस भाडा तिर्नुपर्ने, गाडी किन्नुपर्ने भयो । देशमा संकलन भएको कर जनताको विकासको लागि होइन, नेता, मन्त्री र कर्मचारीहरुको विलासितामा सकियो । त्यसैले संघीयताको दुष्परिणामहरु जनताले भोगिरहेका छन् ।

    संघीयता विरुद्धको आन्दोलन हाम्रो मात्रै आन्दोलन होइन । यो सम्पूर्ण देशभक्त जनताको आन्दोलन हो । अन्य पार्टीभित्र पनि संघीयताका विरुद्ध बलियो मत रहँदै आएको छ । बुद्धिजीवी, प्राध्यापक, पत्रकार र अन्य पेशा र व्यवसायका हजारौँ हजार संघीयताका विरुद्धमा छन् । त्यो आवाजलाई एकै ठाउँ आएको समयमा संघीयता खारेज हुने अवस्थामा पुग्छ ।

    विगतमा विद्यार्थी आन्दोलनको पर्याय बनेको अखिल (छैठौं) अहिले सुस्ताएको जस्तो देखिन्छ नि किन ?

    विद्यार्थी आन्दोलन कहिले सुनिने गरी देखिन्छ, कहिले नसुनिने गरी काम गरिरहेको हुन्छ । सरकारले दिएका धेरै भ्रमहरुका कारण संयुक्त विद्यार्थी आन्दोलन अलमलिएको जस्तो देखिँदा छैठौं पनि सुस्ताएको हो कि भन्ने भान परेको हो । तर हामी सुस्ताएका छैनौँ । देशको राष्ट्रियता, सार्वभौमिकता रक्षाको आन्दोलन गरिरहेका छौँ । गत चैतमा जिल्लाहरुमा संघीयता विरुद्ध विद्यार्थी मार्च सञ्चालन गरेका थियौँ ।

    भारतीय सांस्कृतिक साम्राज्यवादको रुपमा काठमाडौं ल्याउन खोजिएको आइफाको विरुद्ध सडकमा गयौँ । विषादीयुक्त तरकारी भित्राइएपछि सडकमा गयौँ । त्यसबाहेक विभिन्न विषयमा अन्तरक्रियाहरु, छलफलहरु, भेला, बैठकहरु गरिरहेका छौँ । संगठनलाई आन्तरिक रुपमा मजबुत बनाउने काम गरिरहेका छौँ ।

    कतिपय विश्वविद्यालयमा महिनौँदेखि तालाबन्दी भइरहेको छ, मेडिकल कलेजको ब्रम्हलुट विरुद्ध विद्यार्थीहरु आन्दोलित छन्, सीटीइभीटीजस्ता संस्थाले विद्यार्थीलाई लुटिरहेको खबर आएका छन् । तर, विद्यार्थीहरु माझ तपाईंहरुको उपस्थिति प्रभावकारी देखिएन त ?

    तपाईंले जुन कुरा उठाउनुभयो, त्यहाँ धेरै जेलिएका समस्याहरु छन् । एकातिर कानूनले निजीकरणलाई मान्यता दिएको छ, अर्कातिर हामीले त्यसको विरोध गरिरहेका छौँ । जब हामीले विद्यार्थी भर्नाको बेलामा शुल्क बृद्धिको आन्दोलन गर्ने गर्दछौँ, विद्यार्थीका अभिभावकहरुले हामीलाई हाम्रा विद्यार्थीलाई विदेश धकेल्ने दाउ हो, हाम्रा विद्यार्थी भर्ना गर्न पाउनुपर्छ भनेर हाम्रै विरुद्ध आउँछन् । कैयौँ विद्यार्थीका अभिभावकले कलेजसँग अनुचित सम्बन्ध राखेर विद्यार्थी भर्ना गरेका कैयौँ उदाहरण हामीसँग छन् । त्यसले अन्य विद्यार्थीहरुलाई ठूलो असर गरिरहेको छ । बाहिर जे जस्ता समस्या देखाइएका छन्, ती कलेजका कारण मात्रै समस्या होइनन् । केही समस्या पैसावाला अभिभाकका कारण पनि सिर्जना भएका छन् ।
    मेडिकल कलेजमा सुरुमा विद्यार्थीका अभिभावक गएर अनुचित सम्बन्ध राख्छन्, ४० लाखमा पढाइ हुने कोर्षको लागि ५०, ६०, ७० लाख जति लाग्छ त्यति तिर्छाैं हाम्रो विद्यार्थी भर्ना गरिदिनुस् भन्छन् । कलेजहरुले शीर्षक विना, बील समेत नकाटिकनै त्यो पैसा लिन्छन् । कैयौँपटक तिनीहरुले सहमतिको आधारमा नै लेनदेन गर्दछन् ।

    मेडिकल कलेजहरु त माफियाको रुपमा विकास भइरहेका छन् । ७० लाख तिर्न तयार भएको अभिभावक पनि कहीं न कहीं कालोबजारी गरेर कमाएको पैसा हो । त्यो अवस्थामा गरिबका छोराछोरी त्यहाँ पुगेकै हुँदैनन् । गरिबका छोराछोरीले ४० लाख तिर्नै सक्दैनन् । त्यो एक प्रकारले पुँजीपतिहरुबीचकै टकराव हो । तर त्यसो भनेर हामी चुप लागेर बसेका छैनौँ ।

    धनीका छोराछोरी भए भन्दैमा मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिन पाउँदैनन् । त्यसैले हामीले विद्यार्थीको आन्दोलनलाई समर्थन गरेका छौँ । विद्यार्थीका अभिभावक र मेडिकल कलेजका बीचमा विद्यार्थी भर्नाकै बेलामा भएका अनुचित सम्बन्धहरुको पनि हामीले विरोध गर्दछौँ । त्यही अनुचित सम्बन्धको मारमा धेरै विद्यार्थी परेका छन् । २०–३० जनाले अनुचित सम्बन्धका आधारमा भर्ना गर्छन्, त्यसको मारमा मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी पर्दछन् । त्यो जेलिएको समस्याका कारण मेडिकल शिक्षामा भइरहेको माफियाकरणलाई रोक्न धेरै गाह्रो छ । मारमा पारिएका विद्यार्थीहरु एकजुट भएर नै आन्दोलनले सफलता प्राप्त गर्दछ । हामीले विद्यार्थीले सञ्चालन गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएका छौँ ।

    सीटीइभीटी र अन्य निजी विश्वविद्यालयका समस्याहरु धेरै हदसम्म मिल्दाजुल्दा छन् । एक प्रकारले भन्ने हो भने ती सबै पैसासित सम्बन्धित समस्याहरु हुन् ।
    हामीले अहिलेको विद्यार्थी भर्ना प्रक्रियालाई पूरै बदल्न चाहन्छौँ । गरिबहरुको पहुँच पुराउन चाहन्छौँ । देशको लागि आवश्यक पर्ने डाक्टरहरुलाई पूर्ण छात्रवृत्तिमा पढाउनुपर्छ र उनीहरुले कम्तीमा १० वर्ष राज्यले पठाएकै ठाउँमा गएर सेवा गर्नुपर्छ ।

    निजी विद्यालयहरुले लिने अस्वभाविक शुल्कका कारण अभिभावको ढाड सँधै सेकिएकै हुन्छ । तर, विद्यार्थी संगठनहरु नयाँ भर्नाको बेला २-४ दिन कराउने अनि वर्षभरी चुप लाग्ने गरेका छन् । यो विषयमा प्रभावकारी दबाब दिन किन नसकिएको?

    यो पनि बडो विचित्रको अवस्था छ । जब हामीले आन्दोलन गर्ने गर्दछौँ, अभिभावकहरुले हामीलाई साथ दिँदैनन् । कतिपय अवस्थामा विद्यार्थीकै साथ पाईंदैन । लाखौं तिरेर ठूलठूला कलेज पढ्ने विद्यार्थीको लागि त्रिचन्द्र, पद्मकन्या, आरआर क्याम्पसका विद्यार्थीले सडकमा आन्दोलन गरिदिनुपर्ने अवस्था छ । त्यही विद्यार्थी आफू पैसा नभएर आरआर पढ्न आएको छ, त्यही गरिब विद्यार्थीले धनी विद्यार्थीको लागि आन्दोलन गरिदिनुपर्ने जुन अवस्था छ, यो धेरै जटिल अवस्था हो । कैयौँ कठिनाइका बाबजुद हामीले विद्यार्थीका पक्षमा आन्दोलन गरिरहेका छौँ ।

    यसरी हेर्ने हो भने विद्यार्थी आन्दोलनको जटिलता धेरै छ । तर हामीले सैद्धान्तिक रुपमा हेर्नुपर्ने हुन्छ । निजी शिक्षणसंस्थाहरुले जसरी चर्काे शुल्क उठाइरहेका छन्, त्यो गलत छ । सँगसँगै अभिभावकहरु के कुरामा सचेत हुनुपर्दछ भने हामीले उठाएको मागलाई समर्थन गर्नुपर्दछ । पैसा तिर्न गाह्रो भयो भने खोइ विद्यार्थी संगठन भन्दै कराउने, विद्यार्थीले आन्दोलन गर्न थाले भने विद्यार्थी संगठन खारेज गर्नुपर्छ भन्ने एउटा विचित्रको मध्यम वर्ग छ, त्यसले कुरा नबुझेरै बर्बराउँछ । त्यो वर्गलाई कुरा बुझाएर हामीले आन्दोलन गर्नुपरेको छ । त्यसरी नै हामीले आन्दोलनलाई निरन्तरता दिएका छौं ।

    अहिलेको शिक्षा नीतिप्रति अखिल (छैठौं)को दृष्टिकोण के हो ? कमजोरी कहाँ–कहाँ देख्नुहुन्छ, र सुधारको सम्भावना के छ ?

    देशमा दुईखालको शिक्षा छ । यो विभेदकारी व्यवस्था हो । शिक्षामा विभेद भइसकेपछि त्यसको असर जतासुकै पर्दछ । अहिलेको शिक्षाले लाखौँ विद्यार्थीको मनोविज्ञानलाई विभाजित गरिदिएको छ । एउटै उमेरका विद्यार्थीको मनोविज्ञान विभाजित गरिदिने शिक्षाप्रणालीले देशको हितको पक्षमा होइन, देशको विरुद्धमा दुरुपयोग भएको छ । त्यो अवस्थाको अन्त्य गर्नको लागि एकै प्रकारको शिक्षाप्रणाली लागु गर्नुपर्दछ ।

    यो विषयमा हामीले आफ्नो धारणा दस्तावेजमा उल्लेख गर्दै आएका छौँ र आम जनतालाई बुझाउँदै आएका छौँ । वर्तमान शिक्षाप्रणाली देश र जनताको पक्षमा छैन । यसले बेरोजगार उत्पादन गरिरहेको छ । युवा जनशक्तिलाई विदेश पठाइरहेको छ ।

    सरकारले उच्चस्तरीय शिक्षा प्रतिवेदन सार्वजनिक गरेको छैन । त्यो प्रतिवेदनमा निजी शिक्षालाई निरुत्साहित गरिएको छ । शिक्षाले नागरिकलाई देश, जनताप्रति उत्तरदायी, श्रमप्रति आस्थावान, अध्ययन अनुसन्धान, उत्पादनप्रणालीलाई बदल्ने शिक्षाप्रणाली लागु गर्नुपर्दछ । जसलाई हामीले व्यवहारिक र वैज्ञानिक शिक्षाप्रणाली भन्ने गरेका छौँ ।

    विगतमा कैयौँ राष्ट्रिय महत्वका विषयमा विद्यार्थी संगठनहरु संयुक्त रुपमा आन्दोलनमा होमिने गरेका थिए । अहिले संयुक्त भएर अघि बढ्न किन सकिरहेका छैनन् ?

    अहिलेको संयुक्त आन्दोलन विचित्रको छ । सायद यस्तो विचित्र यसअघि कहिल्यै थिएन । नेकपा निकट विद्यार्थी संगठनले पूरै सत्ताको ताबेदारीबाहेक केही गर्न छोडेको छ । कांग्रेस निकट विद्यार्थी संगठन विघटन भएको छ । अन्य केही विद्यार्थी संगठन पनि छन्, तिनीहरुले राप्रपाको विद्यार्थी संगठनलाई मिसाएर कहिलेकाही वक्तव्य निकाल्छन् ।

    संयुक्त आन्दोलन लथालिङ्ग अवस्थामा छ । हामीले नेकपाको सरकारको ताबेदारी पनि गर्न सक्दैनौँ । नेविसंघको सत्ता गुमेको छटपटीमा पनि साथ रहन सक्दैनौँ । कतिसम्म भने भारतीय फिल्म अवार्ड आइफा नेपालमाथिको सांस्कृतिक साम्राज्यवादी हमला थियो । त्यो आन्दोलनमा पनि उनीहरु आउन चाहेनन् ।
    हामीलाई के विश्वास छ भने सधैँभरी यो अवस्था रहँदैन । जब भ्रमका पर्दाहरु च्यातिन्छन्, अन्य विद्यार्थी संगठनलाई सडकमा नआइकन सुखै छैन । तिनीहरु हामी भएको ठाउँमै आउने हुन् । अहिले तिनीहरु जहाँ छन्, त्यो ठाउँ छाडेर तिनीहरुको आउने ठाउँ भनेको सडक नै हो । तिनीहरुका एजेण्डा विक्न छोडे भने हाम्रो एजेण्डामा आउँछन् । हामी त्यस विषयमा प्रष्ट छौँ ।

    अखिल (छैठौं)लाई कम्युनिष्ट पार्टीको नर्सरीको रुपमा लिइन्छ । त्यो नर्सरीमा अहिले नयाँ विरुवाहरु कत्तिको हुर्काउनुभएको छ ?

    गज्ज्बको प्रश्न । हामीसँगै काम गरिरहनुभएका साथीहरुले देशका विभिन्न जिल्लाहरुमा पार्टीको राजनीति हाँकिरहनुभएको छ । मेचीदेखि महाकालीसम्मै त्यो देख्न सकिन्छ । २०६३ सालमा पार्टी फुटको अवस्थामा हामीले अखिल (एकीकृत)भित्रै कोअर्डिनेसन बनाएर छैठौंको पुनस्र्थापना गरेका साथीहरु नै देशभर पार्टी काममा लागिरहनुभएको छ । छैठौंमा अहिले काम गरिरहनुभएका सबै साथीहरु पार्टी काममा जानको लागि तयार नै हुनुहुन्छ ।

    हामीेले विद्यार्थी आन्दोलन मात्रै गरिरहेका छैनौँ, गरिब वर्गको पार्टी निर्माणको प्रशिक्षण पनि दिइरहेका छौँ । विद्यार्थी आफैमा स्वतन्त्र संगठन होइन, हामी एउटा निश्चित विचारधारा बोकेका पार्टीका सिपाही पनि हौँ । फरक यत्ति हो कि अहिले हामीले विद्यार्थी मोर्चामा रहेर काम गरिरहेका छौँ । जब हामी विद्यार्थी मोर्चाबाट विदा हुन्छौँ, गरिब वर्गको पार्टी नेकपा (मसाल) र त्यसका अन्य मोर्चाहरुमा रहेर काम गर्न तत्पर रहन्छौँ । अखिल (छैठौं) नेकपा (मसाल) र कम्युनिष्ट आन्दोलनको नर्सरीको रुपमा रहँदै आएको छ । त्यसले निरन्तर आफ्नो काम गरिरहेको छ ।

    तपाईंहरुमाथि राजधानी केन्द्रित र फेसबुकमै सीमित हुने गरेको आरोप लाग्ने गरेको छ नि ?

    आरोप लगाउनेहरुले लगाइहाल्छन् । हामीले हाम्रो काम गर्न छोडेका छैनौँ । यो आरोप मूलतः संगठनबाट भागेकाहरुले फेसबुकबाटै लगाउने गर्दछन् । आन्दोलनमा लागेकाहरुले लगाउँदैनन् । किनभने उनीहरुलाई थाहा हुन्छ, आन्दोलन गर्न कति गाह्रो हुन्छ भन्ने कुरा । कुनामा बसेर छैठौंले काम गरेन भनेर फेसबुकमा लेख्न त सजिलो हुन्छ ।

    म नेतृत्वमा आएपछिका आन्दोलन र संगठन परिचालन हेर्नुभयो भने त्यो आरोप गलत हो भन्ने पुष्टि हुन्छ । हामीले संगठनलाई देशव्यापी रुपमै महत्व दिइरहेका छौँ । सानो मेहनतले झापामा राष्ट्रिय सम्मेलन हुन सक्दैनथियो । ठूलठूला अभियानहरु हुन सक्दैनथिए । प्रकाशनको क्षेत्रमा हामीले पार्टीका रातो तरबारजस्ता ऐतिहासिक दस्तावेजहरु प्रकाशन गरेर कम्युनिष्ट आन्दोलनमा योगदान गरेका छौँ ।

    आन्दोलन हुनेबेलामा सडकमा नआउने, परपर भाग्ने, अन्तमा संगठनबाटै बाहिरिने अनि सडकमा त्यति थोरै मान्छे भन्दै कराउने पनि छन् । विद्यार्थी आन्दोलनमा यो समस्या सधैँ रहिरहन्छ । तैपनि बढी भन्दा बढी विद्यार्थीहरुलाई संगठित गरेर हामीले आन्दोलनलाई निरन्तर अगाडि बढाइरहन्छौँ । तर उनीहरुको आरोप पूरै असत्य पनि होइन । संगठन र आन्दोलनमा कैयौँ कमजोरीहरु पनि रहेका छन् । त्यसलाई सच्याएर हामी अगाडि बढ्न चाहन्छौं ।
    सूचना र सञ्चारको कारणले भएका गतिविधिहरुलाई फेसबुकमार्फत् प्रचार गर्ने गरिएको छ । जुन ठीक पनि हो । तर फेसबुकमै रमाउने कुरा पनि गलत हो । पहिले संगठन, आन्दोलन अनि बल्ल प्रचारका कामहरु गर्ने हो ।

    अखिल (छैठौं)मा प्रायःजसो नेतृत्व दोहोरिने र लामो समयसम्म एउटा व्यक्ति नेतृत्वमा रहने गरेको देखिन्छ । यसले संगठनको नेतृत्व विकासमा असर पारेको जस्तो लाग्दैन ?

    हामीले सामूहिक नेतृत्वमा विश्वास गर्दछौँ । हामीले सामूहिक पद्धतिबाटै कार्यसम्पादन गर्दछौँ । संगठनको नेतृत्वमा कति समय रहने भनेको संगठनको आवश्यकताले हो । विद्यार्थी संगठन भएकाले छिटोछिटो फेरबदल भइरहन्छ । कहिलेकाहीँ दोहोरिने हो । व्यक्तिको रहरले कोही पनि नेतृत्वमा आउन सक्दैन र दोहोरिने कुरा पनि हुँदैन । संगठनले जसलाई निर्णय गर्छ, उही रहने हो ।
    संगठनले विश्वास गर्न सक्ने हुनको लागि कुनै पनि व्यक्ति संगठनले दिएको जिम्मेवारी पूरा गरेर, आन्दोलनमा सामेल भएर, खारिएरै नेतृत्वसम्म आइपुग्ने हो । कहिलेकाहीँ हाटहुट गरेर नेतृत्व दाबी गरेर मात्रै हुँदैन । हाम्रो संगठनको निश्चित विधि र पद्धति छ, त्यही पद्धतिअनुसार संगठनको नेतृत्वमा रहने हो । कहिलेकाहीँ हाटहुट गरेर क्रान्तिकारी देखिने, अनि संगठनमा काम गर्न नसकेर छिटो विदा लिएर निस्कृय हुने साथीहरु पनि छन् ।

    संगठनप्रति पूर्ण लगाव भएका साथीहरुले पार्टीका विभिन्न मोर्चा सम्हालेर बसेका छन् । छोटो समय हाटहुट गर्ने कुराले संगठनलाई खासै फाइदा पुग्दैन । त्यसैले हामीले संगठनात्मक काम, जिम्मेवारी र आन्दोलनबाट खारेरै नेतृत्वमा ल्याउने गरेका छौँ ।

    अहिलेको राजनीतिक अवस्थाप्रति यहाँको मुल्यांकन के छ ?

    वर्तमान राजनीतिक अवस्था चिन्ताजनक छ । पहिलेजस्तो हरेक ९ महिना वा वर्षदिनमा सरकार परिवर्तन हुने अस्थिरता हटेको भए पनि अन्य समस्याहरु यथावत छन् । राजनीतिक नेतृत्वमा सुझबुझ कमजोर छ । प्रतिगामी शक्तिहरुले गणतन्त्रका विरुद्ध षड्यन्त्र गर्ने मौका पाएका छन् ।

    वर्तमान सरकारका गलत क्रियाकलापका कारणले नै प्रतिगामीहरुले खेल्ने मौका पाएका हुन् । महंगी, भ्रष्टाचार, विकास निर्माणमा भइरहेको लापरवाही, बेरोजगारी जस्ता समस्याहरु निरन्तर रहिरहेका छन् । सरकारका गलत क्रियाकलापका विरुद्ध हामी निरन्तर आन्दोलित भइरहनुपर्दछ र जनतालाई सचेत बनाइरहनुपर्दछ ।

    अन्तमा केही भन्नु छ कि ?

    विचार राख्ने अवसर दिनुभएकोमा धन्यवाद ।

    बुधबार, असोज २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति
    प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न जोड
    बुक फ्री फ्राइडे र स्किल इन एजुकेसन आगामी शैक्षिक सत्रदेखि लागु हुँदै
    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.