पेरिस । युक्रेन युद्ध अन्त्यका लागि निष्पक्ष समाधान खोज्न र इरानमाथि सम्भावित थप आक्रमण रोक्न कूटनीतिक प्रयास अघि बढाउने उद्देश्यले जी–७ राष्ट्रका विदेशमन्त्रीहरू सोमबारदेखि पेरिसमा दुईदिने बैठकमा सहभागी हुँदैछन् ।
बैठकमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाका विदेशमन्त्री सहभागी हुनेछन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो दुवै दिन बैठकमा उपस्थित हुनेछन् ।
युक्रेन युद्ध अन्त्यका लागि अमेरिका, रुस र युक्रेनबिच मङ्गलबार र बुधवार आबुधाबीमा हुने वार्तामा युरोपको भूमिका सुनिश्चित गर्नुपर्ने विषय पनि बैठकको प्रमुख चासो रहनेछ ।
फ्रान्सका विदेशमन्त्री जिननोएल बारोटले आबुधाबी वार्तामा युरोपेली राष्ट्रको प्रतिनिधित्व हुने र फ्रान्स पनि सहभागी हुने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग समग्र युरोपलाई समेट्ने ठुलो सम्झौताको सम्भावना औँल्याएपछि युरोपेली राष्ट्रमा युक्रेनलाई प्रतिकूल सर्त स्वीकार गर्न बाध्य पारिने हो कि भन्ने चिन्ता छ ।
इरानमाथि थप आक्रमणको सम्भावना ट्रम्पले अस्वीकार नगरेपछि मध्यपूर्वको तनाव र हर्मुज जलघाँटीबाट हुने ऊर्जा ढुवानी सामान्य अवस्थामा फर्काउने विषय पनि बैठकमा उठ्नेछ । ट्रम्पले शुक्रबार इरान सम्झौता गर्न निकै इच्छुक रहेको बताएका थिए ।
बैठकका अवसरमा फ्रान्सले चेर्नोबिल आणविक केन्द्रको क्षतिग्रस्त सुरक्षा गुम्बज मर्मतका लागि दाता सम्मेलन पनि आयोजना गर्नेछ ।
मर्मतका लागि करिब ५० करोड युरो आवश्यक पर्नेमा अहिलेसम्म आधाभन्दा केही बढी रकम मात्र जुटेको छ । सन् २०२७ को बसन्तसम्म बाँकी रकम जुटाउने लक्ष्य राखिएको छ ।
फ्रान्सेली विदेशमन्त्री बारोटका अनुसार मार्सेमा लागुऔषध तस्करी विरुद्ध सहकार्य गर्न १४ अन्तर्राष्ट्रिय बन्दरगाहको सञ्जाल स्थापना गर्ने कार्यक्रमसमेत हुनेछ । (रासस/एएफपी)





