विष्णु शर्मा
आमा तिमी चिच्याउँदै रोएकी बेला
म तिम्रो सन्तान हुँ म कसरी हाँसू ?
मेरा भाइबैनी क्षत्विक्षत् भएका बेला
तिज आयो भन्दै कोसँग खुसीले नाचूँ ?
मेरा दाजु दिदी बाढीले लापत्ता छन्
मैले तिजमा दर कोसँग बसी खाऊँ ?
मेरा नातेदार अङ्गभङ्ग अस्पतालमा छन्
तिज भनेर रातो सारी कुन मनले लाऊँ ?
मेरो छिमेकीको वंश नै उजाडियो
जो सुखदुखमा मेरुदण्ड थिए मेरा
जोसँग सम्बन्ध रुखको जस्तो थियो
अनुहारसम्म हेर्न पाइनँ एक फेर
म तिम्रो सन्तान तिमी आपत्मा पर्दा
भौतिक रूपमा उपस्थित भई पाइनँ स्याहार गर्न
सकेकी छैन आमा तिम्ले दिएको पहिचानको अनि
तिम्ले ख्वाएको दशधारा दुधको पनि भारा तिर्न
हुन त जहाँ भए पनि हजुरको तस्बिर
मेरो मन मुटुमा छापिएको छ
नागरिकलाई देशभित्रै गाँस, बास, कपासको
व्यवस्था नहुँदा दुरी टाढिएको छ
देशका सच्चा सपुत चाउचाउ र पानीको भरमा
ज्यानको बाजी लगाएर उद्धारमा खटेका छन्
उनीहरूलाइ सलाम छ मेरो हृदयबाट
जो बहादुरीका साथ मैदानमा डटेका छन्
भवितव्यमा ज्यान गुमाउनेलाइ मेरो बिच्छिप्त मनबाट
भावपूर्ण श्रद्धाञ्जली आफन्तहरूमा गहिरो समवेदना
घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना
शोकलाइ शक्तिमा बदल्दै बिपत्तीको सामना