काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारका अभिव्यक्ति सामाजिक सञ्जालको निजी एकाउन्टबाट सार्वजनिक गर्दै आएका छन् । २०८३ भदौ १३ गते साँझ पनि उनले सामाजिक सञ्जालमार्फत राहत तथा उद्धारबारे जानकारी दिएका छन् ।
उनको सो सामग्री जस्ताको तस्तै :
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठुलो जनधन र भौतिक क्षति पुर्याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील छ । बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ । राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याउन चाहन्छौँ ।
प्रभावित क्षेत्रमा हालसम्म भएका उद्धार, उपचार, व्यवस्थापन र सञ्चार पुन:स्थापनालगायतबारे सङ्क्षिप्त विवरण निम्नानुसार छ :
खोजी तथा उद्धार
प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट आज साढे पाँच बजेसम्म ७,५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ, जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ । उद्धारमा भारतीय र चिनियाँ विज्ञहरू नेपाली सेनासँगको समन्वयमा खटिनुभएको छ ।
प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ ओटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ ओटा उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८,७०८ जना सुरक्षाकर्मी खटिनुभएको छ । हामीलाई प्राप्त सुझाव र गुनासोलाई समेत ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीको सङ्ख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् तर भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन । ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ । उद्धारका क्रममा आवश्यकतानुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौँ ।
उपचार तथा मनोपरामर्श
प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेलाई काठमाडौँका विभिन्न अस्पतालमा ल्याएर उपचार गरिरहेका छौँ । अन्य घाइतेलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ । यस्तै, काठमाडौँबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा २ गरी ५ स्थानबाट स्वास्थ्य सेवा दिइरहनु भएको छ, साथै घाइते र उहाँहरूका परिवारका सदस्यलाई मनोपरामर्श सेवासमेत प्रदान गरिरहेका छौँ । अस्पतालमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’ सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक रूपमा जानकारी दिने व्यवस्था मिलाएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाप्रवाहको थालनी गरिसकेका छौँ । विभिन्न अस्पतालमा उपचारार्थ घाइते नागरिक निको भएर घर जाने क्रम जारी छ ।
नागरिक व्यवस्थापन
प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रुसुवामा ३, नुवाकोटमा १५ ओटा शिविर स्थापना गरिएको छ । यी शिविरका लागि सङ्घीय सरकारले राहत सामग्री निरन्तर पठाइरहेको छ । नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयम्सेवी संस्थाका संयन्त्रसमेत परिचालित छन् । बाढीबाट विस्थापित करिब ३,५०० जना नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक/सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ । राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित ५ जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ ।
राहत सङ्कलन
नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुटाइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ । प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौओटा वाणिज्य बैङ्कका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ । त्यस्तै, हिमालयन र लक्ष्मी बैङ्कमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ । बिपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ । खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।
पीडितका तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीको सहज व्यवस्थापनका लागि पनि सरकार जुटिरहेको छ । यसै क्रममा त्रिभुवन विमानस्थलको वेयर हाउस, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको बिपद् तालिम केन्द्र र बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री सङ्कलन भइरहेको छ । सङ्कलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याउने काम भइरहेको छ, साथै मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रुसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्याउने गरिएको छ । त्यहाँ सङ्कलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुरक्षाकर्मी तथा अन्य सरोकारवाला सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरिरहेको छ । आज मात्रै एमआई–१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याइएको छ, साथै आजै स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री धुन्चे र उत्तरगया गाउँपालिका पठाइएको छ । विभिन्न सङ्घसंस्था र सहयोगी निकायले समेत सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क विन्दुमा राहत सामग्री पठाउने क्रम जारी छ ।
अन्तर्राष्ट्रिय सहयोग
प्रभावितको व्यवस्थापन र पुन:स्थापनाका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैङ्कबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अस्ट्रेलियाको सरकारबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग), एसियाली विकास बैङ्कबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ, साथै भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधी प्राप्त भएको छ । चीन र अमेरिकाबाट पनि सोही किमिसको सहायता आउँदैछ । चीनबाट ३० ओटा बेलीबिज्र सहयोग अनुरोध गरिएको छ । भारतबाट २ हजार र चीनबाट २ हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ प्राप्त भएको छ । स्विट्जरल्यान्डबाट १ मिलियन स्विस् फ्र्याङ्क (संयुक्त राष्ट्र सङ्घ) बाट खर्च हुने गरी प्राप्त भएको छ । त्यस्तै, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।
सञ्चार सम्पर्क
प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० र एनसेलका ७८ ओटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ ओटा टावरको सेवा अवरुद्ध भएको थियो । कतिपय ठाउँमा टावरमै ठुलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा ऊर्जाको अभाव भएको थियो । सरकारले तत्कालै हेलिकप्टर र सडकमार्गमार्फत इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावर पुन: सञ्चालनमा ल्याएको छ, जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ ओटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मतकार्य भइरहेको छ ।
वैकल्पिक सडक सञ्चालन
बाढीले मुख्य सडकमा क्षति पुर्याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला हाल काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ । यो सडकखण्ड खुलेसँगै रसुवा पुन: राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्छाएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेसी पुन: सडक सञ्जालमा जोडिएको छ ।
शव व्यवस्थापन
हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ ओटा शव फेला परेका छन् । फेला परेका शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ । यी शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ । पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधार सुरक्षित राखी सरकारले आफै व्यवस्थापन गर्न लागेको हो । परिवारले पहिचान गरेका शव भने उहाँहरूलाई जिम्मा लगाउने काम भइरहेको छ । त्यसैले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध गर्दछौँ ।
बिपद्को यस कठिन घडीमा सम्पूर्ण नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयम्सेवी संस्थाले देखाउनुभएको धैर्यता, तत्परता र सहयोगप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ । बिपद्को समयमा समाजले भरोसा, सही दिशा र सत्यतथ्य खोजिरहेको हुन्छ । त्यसैले पीडितको जीवनरक्षा र उहाँहरूको मनोबल बढाउने गरी सूचना प्रवाह गरिदिन हुन आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध समेत गर्दछौँ ।
नेपाल सरकार प्रभावित नागरिकको साथमा छ र उद्धार तथा पुनस्र्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्नेछ ।