कोहलपुर । बाँकेको कोहलपुरमा सुकुम्वासी र स्थानीय तहका प्रतिनिधिमाझ वास्तविक सुकुम्वासी खोजी गर्ने सहमति भएको छ ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसिराम सापकोटाका अनुसार आन्दोलनका विभिन्न चरण सम्पन्न गरिएपछि २०८३ भदौ ८ गते सो सहमति भएको हो ।
सहमतिमा आन्दोलनकारी सुकुम्वासीको तर्फबाट तीन जना र स्थानीय तहका तीन जना प्रतिनिधि सम्मिलित कार्यदलले यथाशक्य छिटो वास्तविक सुकुम्वासी पहिचान गर्ने उल्लेख छ ।
अखिल नेपाल सुकुम्वासी सङ्घका अध्यक्षसमेत रहनुभएका सापकोटाले युगदर्शनसँग भन्नुभयो– ‘छानबिनपछि पनि वास्तविक सुकुम्वासीलाई बसोबासका लागि कुनै स्थान उपलब्ध नगराइएमा आन्दोलन उठाइनेछ ।’
वार्ताअघि कोहलपुरका सुकुम्वासी आन्दोलनकारीले काठमाडौँ पुगेर भूमि आयोगका अध्यक्षसँग भेटघाट गर्दै ज्ञापनपत्र बुझाइसकेका छन् । त्यस्तै बाँकेका स्थानीय निकायका प्रमुखलाई पनि उनीहरूले धर्नाजुलुससहित ज्ञापनपत्र बुझाइसकेका छन् ।

बस्ती ध्वस्त पारिएपछि केही सुकुम्वासीलाई कोहलपपुर बसपार्कस्थित होल्डिङ सेन्टरमा राखिएको र अन्यलाई कोहलपुर नगरपालिकाले आआफ्नो जिल्ला जाऊ भन्ने उर्दी जारी गरेको थियो । त्यसको विरोधमा सुकुम्वासीहरू आफू बसेकै स्थानमा पाल टाँगेर बस्न खोज्दा प्रहरीप्रशासनले हस्तक्षेप गरेर बस्न दिएको थिएन । त्यसको विरुद्धमा कोहलपुरका सुकुम्वासी आन्दोलनमा उत्रिएका थिए ।
कोहलपुरमा वैशाख १६ गते सुकुम्वासी बस्ती खाली गर्न नगरपालिकाद्वारा एकहप्ते सूचना जारी गरिएको थियो । वैशाख २६ गतेदेखि सुरक्षाकर्मीको उपस्थितिमा डोजर चलाएर कोहलपुरका बस्ती ध्वस्त बनाइएका थिए । त्यसपछि अहिलेसम्म सुकुम्वासीहरू अस्तव्यस्त अवस्थामा रहँदै आएका छन् ।
‘कोहलपुरसहित देशैभरि समुचित व्यवस्थापनविना सुकुम्वासीलाई बेघरबार बनाइएकाले आन्दोलनको उठान टड्कारो आवश्यकता देखिएको छ’ महासचिव सापकोटाले पुन: भन्नुभयो– ‘हामी कोहलपुरमा सुकुम्वासी आन्दोलन उठाउने योजनामा छौँ ।’