काठमाडौँ । तीन किसान सङ्गठनले रसुवा बाढी र त्यसद्वारा सिर्जित भौतिक तथा मानवीय क्षतिको कारण खोज्न आग्रह गरेका छन् ।
मुख्यत: जलवायु परिवर्तनका कारण उक्त घटना घटेको उल्लेख गर्दै उनीहरूले त्यसको दिगो समाधानका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने बताएका हुन् ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष रामदुलार महतोको हस्ताक्षरमा २०८३ भदौ ११ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले सो धारणा व्यक्त गरेका छन् ।
रसुवा घटनाबाट आफूहरू हतप्रभ भएको बताउँदै वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदनासँगै राहत र उद्धारमा तीव्रता दिन सरकारसित माग गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“२०८३ भदौ १० गते भोटेकोशीमा आएको भयानक विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका पनि कतिपय भागमा जनधनको ठुलो र अपूरणीय क्षति भएर धेरै मानिस बेपत्ता हुन पुगेका, कैयौँको अकाल मुृत्यु भएको दुखद स्थितिप्रति हामी तीन किसान सङ्गठन अत्यन्तै दुखी र हतप्रभ छौँ ।
यस भयावह घटनामा परेर अकाल मृत्युवरण गरेका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । यो भयावह र त्रासद प्राकृतिक विपत्तिप्रति हामी तीन किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), क्रान्तिकारी किसान महासङ्घ नेपाल र अखिल नेपाल प्रगतिशील किसान सङ्घ गहिरो दु:ख व्यक्त गर्दै सम्पूर्ण पीडित परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।
त्यसैगरी सबै बेपत्ता भएका नेपाली दिदीबहिनी तथा दाजुभाइका साथै विदेशी नागरिकको तदारुकताका साथ खोजतलास र उद्धार गर्न राज्यसँग जोडदार माग गर्र्दै यस कार्यमा सहयोग पुर्याउन किसान दाजुभाइ, दिदीबहिनीमा आह्वान पनि गर्दछौँ । दु:खको यस घडीमा राज्यले सम्पूर्ण शक्ति एकीकृत रूपमा लगाएर खोजी, राहत र उद्धार गरोस् र क्षतिग्रस्त क्षेत्रबाट विस्थापित भएका सबैलाई सुरक्षित स्थानमा बसोबासका साथै आवश्यक अन्य सबै मानवीय सेवा र सहयोग पुर्याओस् तथा निरन्तर राहत, उद्धार खोजीको विवरण सार्वजनिक गरोस् भन्न् जोडदार माग पनि गर्दछा्रैँ ।
हामी यस्तो भयानक क्षति पुर्याउने गरी बाढी आउनुको प्राकृतिक र मानवीय सबै कारणको खोजी गर्न, आवश्यक सतर्कता र सुरक्षा व्यवस्था अवलम्बन गर्न र आगामी दिनमा यस्तो प्राकृतिक प्रकोप न्यूनीकरण गर्न, जनधनलाई क्षति हुनबाट जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्नुपर्ने सबै उपायको खोजी र जनधनको सुरक्षा हुने विश्वसनीय सुरक्षा, वातावरण सिर्जना गर्न भूगर्भविद्, हिमताल अध्ययन अनुसन्धान विशेषज्ञ तथा जलवायु परिवर्तनका कारण हुन सक्ने जोखिम कम गर्न चाल्नुपर्ने कूटनीतिकलगायतका सबै कदम तत्कालैदेखि चाल्ने आवश्यक कुरामा गम्भी रूपमा ध्यानकेन्द्रित गर्न पनि जोडदार आह्वान गर्दछौँ ।”