ढकनप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय पार्टीस्कुलमा भाग लिन सल्यानबाट आउनुभएका ढकनप्रसाद शर्माजीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
० आरामै हुनुहुन्छ ?
:: धन्यवाद, आरामै छु ।
० त्यति टाढाबाट प्रशिक्षण लिन आउनुभयो । यो प्रशिक्षणको त्यति धेरै महŒव के छ ?
:: यो प्रशिक्षणको महत्त्व समाज विकासको सिद्धान्त बुझ्नु हो । समाजमा विद्यमान व्यवस्था र ती व्यवस्थाबाट जनतामाथि हुने सेवाप्रवाह, खासगरी अहिलेको पुँजीवादी व्यवस्थाले सिर्जना गरेका यावत समस्याबारे बुझ्न प्रशिक्षण आवश्यक छ । समस्या केवल समस्याका रूपमा मात्र नभई नीतिगत र सैद्धान्तिक–राजनीतिक धरातलको आधारमा जनतामाझ आएका हुन्छन् र तिनले राजनीतिक तथा सांस्कृतिक पकड जमाइरहेका हुन्छन् । ती पकडलाई अन्त्य गर्दै सभ्य र सुन्दर समाज निर्माण गर्ने लक्ष्यका साथ स्थापनाकालदेखि नै कम्युनिस्ट आन्दोलन अघि बढ्दै आएको छ ।
नेपालमा कम्युनिस्ट पार्टीहरू विभिन्न खेमामा विभाजित भए पनि उतारचढावका बिच नेकपा (मसाल) को राजनीति वस्तुवादी, यथार्थपरक र परिवर्तनको सिद्धान्तमा आधारित छ । द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त र परिवर्तनको निश्चित नियमका आधारमा राष्ट्रिय जनमोर्चा तथा नेकपा (मसाल) जनतामाझ गइरहेका छन् ।
रणनीतिक लक्ष्यमा पुग्न नीति वा अन्य कार्यनीति हुन सक्छन् भने रणनीतिक प्रश्नका रूपमा चुनावी मोर्चाको प्रयोग (उपयोग वा बहिष्कार) गर्ने नीति पार्टीले तय गर्छ । हाल उपयोगको नीति अवलम्बन गरिएकाले हामीले चुनावमा भाग लियौँ र त्यसका परिणामलाई सहर्ष स्वीकार गरेका छौँ । चुनावको उपयोग गर्दा जुनसुकै परिणाम आए पनि हामी कुन धरातलमा छौँ र हाम्रो लक्ष्य के हो भन्ने कुरा जनतामाझ लैजान अझै धेरै प्रयास गर्नुपर्ने देखिन्छ ।
० त्यसै सिलसिलामा यो प्रशिक्षण सम्पन्न भयो भन्न सकिन्छ ?
:: पार्टीले सञ्चालन गर्दै आएको पार्टीस्कुलको यो बाइसौँ सत्र हो । यसअन्तर्गत विभिन्न विषयवस्तुमा आधारित रहेर प्रशिक्षण र स्कुलिङ गर्ने गरिन्छ । यसको मुख्य ध्येय जुझारु र सशक्त कार्यकर्ता निर्माण गर्नु हो । कार्यकर्ता सीमित नभई देश, जनता र राष्ट्रको नेतृत्व गर्न सक्ने बनुन्, समाजविज्ञानको सिद्धान्तलाई अङ्गीकार गरेर समाज परिवर्तनको सही बाटो पहिल्याउन सकुन् भन्ने कुरामा यो क्लासको अत्यन्तै महŒवपूर्ण भूमिका रहेको छ र त्यो अनुभूति पनि भएको छ ।
० यो प्रशिक्षण कत्तिको प्रभावकारी भएको ठान्नुभयो ?
:: चुनावबाट सत्ता र शक्तिमा पुग्ने शक्तिले जनताका आधारभूत समस्या समाधान गर्दैनन् भन्ने कुरामा हामी नीतिगत रूपमा प्रष्ट छौँ । त्यसै आधारमा हाम्रो कार्यनीतिक सवाल चुनाव उपयोगको हो । विगतमा जनताले चुनावी मोर्चामा प्रतिनिधि पठाएको इतिहास पनि छ ।
अहिले जेनजी विद्रोहका नाममा पश्चिमा साम्राज्यवादीको जुन हावा चल्यो, त्यसको उठान जसरी भए पनि दिशा भने समाज विज्ञान र परिवर्तनको सिद्धान्त विपरीत सीमित साम्राज्यवादी शक्तिको पक्षपोषण गर्नेतर्फ लक्षित देखियो । ‘नयाँ’ र ‘पुरानो’ को भाष्य खडा गरेर स्थापित सरकार राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा छैन भन्दै भ्रम छर्ने काम भइरहेको छ । नयाँ के हो र पुरानो के हो भन्ने कुरा जनतालाई बुझाउन आवश्यक छ ।
माक्र्सवादी सिद्धान्तमा ‘निषेधको निषेधको नियम’ छ, जहाँ पुरानोलाई नयाँले निषेध गर्दै जान्छ र यो चक्र चलिरहन्छ; जस्तै : मकैको घोगाबाट अङ्कुरण भई बुटा बन्छ, बुटाबाट फेरि घोगा र बिउ बन्छ । समाजविज्ञानको सिद्धान्तअनुसार सत्तामा को जान्छ भन्ने मात्र मुख्य कुरा होइन, उसले अङ्गीकार गरेको राजनीतिक लाइन सही छ कि गलत ? आम शोषितउत्पीडित जनताको पक्षमा कसको नीति छ भन्ने कुरा मुख्य हो । सही दिशानिर्देश गर्ने नीति नै सधैँ नयाँ हुन्छ । नयाँ र पुरानोको कृत्रिम भाष्य खडा गरेर फैलाइएको भ्रम दिगो हुँदैन । जनतालाई सशक्त बनाएर अघि बढ्न हामी दृढ छौँ । यो प्रशिक्षण शिविरले हामीलाई अझ योग्य बनाउनुका साथै धेरै ऊर्जा थपेको छ ।
० यसअघि पनि कैयौँ प्रशिक्षणमा भाग लिइसक्नुभएको छ र आफैँले प्रशिक्षण पनि दिनुभएको छ । ती प्रशिक्षण र यो प्रशिक्षणमा के फरक पाउनुभयो ? नयाँ विषय के छन् ?
:: विगतमा मुख्य रूपमा सिद्धान्त, दर्शन र राजनीति मात्र पढाउने प्रणाली थियो । त्यसमा क्रमिक सुधार हुँदै आएको हो । अंशअंश मिलेर नै समग्र रूप बन्छ । त्यसैले हिजोको तुलनामा आज पार्टीले स्कुलिङ सञ्चालन गर्ने प्रणालीमा धेरै विकास गरेको देखिन्छ ।
विशेष गरी व्यावहारिक क्लास कस्तो होला भन्ने चासो थियो । यो व्यावहारिक क्लासले हाम्रो ज्ञान र क्षमतालाई प्रत्यक्ष रूपमा जनताका समस्यासँग जोड्न र समाधान गर्न सक्ने बनाएको छ । अन्तरसंवादको माध्यमबाट प्रशिक्षार्थी पनि आफ्ना अनुभव साझा गर्दै प्रशिक्षककै रूपमा प्रस्तुत हुने अवसर पाएँ । यो प्रणालीले सिक्ने प्रक्रियालाई धेरै उचाइमा पुर्याएको महसुस गरेको छु ।
० भनेपछि विगतका प्रशिक्षणभन्दा यो व्यावहारिक प्रशिक्षण फरक छ ?
:: हो, व्यावहारिक प्रशिक्षण नबुझ्ने मान्छेले पनि छिटो बुझ्न सक्ने खालको छ । दर्शन, सिद्धान्त र सामाजिक गतिशीलताका कुरा दार्शनिक पक्ष भए तर तिनलाई व्यवहारमा उतार्नु मुख्य कुरा हो । यो काम सजिलो छैन तर यस व्यावहारिक क्लासबाट हामी विपक्षी विचार राख्नेसँग पनि वैचारिक तथा राजनीतिक रूपमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका बनेका छौँ । यो नै ठुलो उपलब्धि हो ।
कम्युनिस्ट आन्दोलनभित्र धेरै उतारचढाव आए । कतिपय अवस्थामा वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी अतिरञ्जित र मनोगत नीतिका आधारमा परिवर्तनको सपना देख्दा दुर्घटना भए । रेल निश्चित लिकमा गुडेन भने दुर्घटना भएजस्तै क्रान्तिका लागि पनि निश्चित नियमलाई आत्मसात गर्दै व्यवहारसँग जोडेर जानु आवश्यक हुन्छ । क्रान्ति भनेको हतियार उठाउनु मात्र होइन, ठोस परिस्थितिको ठोस विश्लेषण गरी नेपाली समाजको चेतना र मौलिकताका आधारमा अघि बढ्नु हो भन्ने कुरा यो कार्यक्रमले प्रष्ट पारेको छ ।
० अब यहाँबाट फर्किएपछि त्यहाँको सङ्गठन र सङ्घर्ष अघि बढाउन के कस्ता योजना छन् ?
:: यहाँबाट फर्किएपछि हामी समाजमा जान्छौँ । समाजमा विभिन्न विचारका मानिस छन् । कतिपयले परिवर्तनका नाममा जातिवाद वा क्षेत्रीयताका कुरा मात्र उठाएर समस्यालाई एकाङ्गी रूपमा प्रस्तुत गर्छन् तर हामी सिङ्गो समाज र संसारभरि हुने न्यायअन्याय तथा सामाजिक व्यवस्थाले सिर्जना गरेका वास्तविक समस्यालाई जनतामाझ ल्याएर अघि बढ्छौँ ।
० अन्तमा युगदर्शन मिडियामार्फत केही भन्न चाहनुहुन्छ ?
:: आज प्रविधिको जुन विकास भएको छ, गलत शक्तिले यसको प्रयोग जनताको अहितमा गरिरहेका छन् । हामी प्रविधिको प्रयोगमा केही पछाडि छौँ कि जस्तो लाग्छ । पार्टी स्कुलमा हामीले प्रविधि र अल्गोरिदमका विषयमा पनि सामान्य क्लास लियौँ ।

