सियोल । उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा पुन: निर्वाचित भएका छन् ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार राजधानी प्योङयाङमा जारी चौथो दिनको बैठकमा हजारौँ प्रतिनिधिको इच्छाका आधारमा किम पुन: महासचिव चयन भएका हुन ।
पार्टी नियमअनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने कङ्ग्रेसले महासचिव चयन गर्दै आएको छ ।
४२ वर्षीय किमले शासनकालमा शीर्ष पद सम्हालिरहेका छन् । उनी सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको उपाधिमा रहँदै आएका छन् ।
बैठकले केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै नेतृत्व तहमा पुस्तागत परिवर्तनको सङ्केत दिएको छ । एक सय ३८ सदस्यीय निकायमा केही वृद्ध सैन्य अधिकारी र सर्वोच्च जनसभाका ७६ वर्षीय अध्यक्ष चोइ रियोङ हे बाहिरिएका छन् । मार्सल पाक जोङ चोन र री प्योङ चोललगायत विगत दशकमा आणविक विकाससँग जोडिएका केही उच्च अधिकारी पनि सूचीमा समावेश छैनन् ।
अन्तरकोरियाली मामिलामा संलग्न किम योङ चोल र री सोन ग्वोनलाई समेत हटाइएको दक्षिण कोरियाली एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले बताए । (रासस/एपी)