काठमाडौँ । जसले वि.सं. २१११ सम्ममा नेपाल एक बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ। यसले स्वभावतः आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौतीको सिर्जना गर्ने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
नेपालको करिब ८० प्रतिशत जनसङ्ख्या ६० वर्षसम्म बाँच्ने अपेक्षा गरिएको छ। यस उमेरसम्ममा ८५ प्रतिशत महिला र ७५ प्रतिशत पुरुष बाँच्नसक्ने देखिन्छ।
सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
६० वर्षको उमेरसम्म बाँच्नसक्ने अनुपात सम्पन्नताको उच्चतम पञ्चमकमा पर्ने परिवारका जनसङ्ख्याको हकमा ८४.७ प्रतिशत छ भने अति विपन्न परिवारका जनसङ्ख्याको हकमा ७७.७ प्रतिशत मात्र छ। पहाडी दलिततर्फ यो अनुपात ७२.८ वर्ष छ भने तराई दलिततर्फ ७६.७ वर्ष जुन जातजातितर्फका सबैभन्दा न्यून यस्तो अनुपात भएका समूहमा पर्दछन्।
राष्ट्रिय तथ्यांक कार्यालयअन्तर्गको जनसंख्या शाखाका निर्देशक विनोदशरण आचार्यकाअनुसार विश्वका मानिसहरूको औसत आयुमा सन् १९९० को ६४.२ वर्षबाट सन् २०१९ मा ७२.६ वर्ष पुगेर उल्लेखनीय वृद्धि भएको छ।
उनले यसमा अझै वृद्धि भई सन् २०५० मा ७७.१ वर्षसम्म पुग्ने पूर्वानुमान गरिएको बताए। यस अवधिमा सामान्यभन्दा अत्यधिक प्रगति भएको देखिएको भएपनि असमानताहरू अझै पनि कायम छन्।
यस्ता असमानताहरू अल्पविकसित देशहरूमा बढी देखिएका छन्। सन् २०५० सम्म विश्वभरि प्रत्येक ६ जनामा एक जना बुढ्यौली जनसङ्ख्या अर्थात ६५ वर्ष र सोभन्दा माथिका हुने अनुमान गरिएको छ।
यस्तो अवस्था उत्तर अफ्रिका, पश्चिमी एसिया र ल्याटिन अमेरिकामा बुढ्यौली जनसङ्ख्याको वृद्धिको गति तिब्र हुनुको साथै सय वर्षसम्म बाँच्ने व्यक्तिहरूको सङ्ख्या तीनगुणाले बढ्ने अनुमान गरिएको छ।
जन्मदर र मृत्युदर घटिरहेको अवस्था सँगसँगै नेपालको जनसङ्ख्या पनि संक्रमणकालतर्फ तिब्र गतिले प्रवेश गरिरहेको छ। साठी वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसङ्ख्या विसं २०६८ को ८.१ प्रतिशतबाट २०७८ मा १०.२ प्रतिशतमा बढेको छ।
नेपालमा वृद्ध व्यक्तिहरूको जनसङ्ख्या वि.सं. २०४८ देखि लगभग तीन गुणा बढेको छ। जनसङ्ख्या पिरामिडले युवाबहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ। यसका पछाडि मुख्यतया जन्मदरमा आएको कमी र समुद्रपारतर्फको प्रवासनमा भएको वृद्धि कारक रहेको छ।
बालबालिकाको जनसङ्ख्या घट्दै गएको छ। त्यसैगरी काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घट्दै गएको छ जसले आश्रित जनसङ्ख्याको अनुपातलाई अझै वृद्धि गरेको छ। भौगोलिक क्षेत्र र प्रदेश तहमा पनि वृद्ध जनसङ्ख्याको वितरणमा वि.सं. २०६८ र २०७८ को जनगणनाले केही भिन्नताहरू देखाएका छन्। यी दुई गणना अवधिका बीचमा पहाडी क्षेत्रको बुढ्यौली जनसङ्ख्या उल्लेखनीय वृद्धि भएको देखिन्छ।
वि.सं. २०६८ मा बुढ्यौली जनसङ्ख्या पहाडमा २५.७ प्रतिशत रहेकोमा १० वर्षपछि अर्थात वि.सं.२०७८ मा ४३.६ प्रतिशत पुगेको छ। यो प्रवृत्तिलाई हिमाली र तराई क्षेत्रले पनि निकटतम दरका साथ पछ्याएको देखिन्छ। तथापि, तराईको तुलनामा पहाड र हिमाली क्षेत्रले बुढ्यौली जनसङ्ख्याको तिब्रतर वृद्धि दरलाई प्रश्तुत गरेका छन्।