मनोज भट्ट
कोभिड–१९ का कारण सम्पूर्ण मानवजाति सङ्कटमा परेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्पूृर्ण मानवजाति एक हुनुपर्ने आवश्यकता छ । यदि यो सङ्घर्षमा कहिँ कतैबाट मानवजाति धर्म वा समुदायको आधारमा विभाजित हुने अवस्था कसैबाट उत्पन्न गरिएमा त्यो कार्यले सङ्घर्षलाई कमजोर पार्ने छ ।
कोभिड–१९ विश्व महामारीका विरुद्धको सङ्घर्षमा भारतीय सरकारले अपनाएका केही अन्धराष्ट्रवादी नीतिले समस्या पैदा गरिरहेको छ । भारतले अपनाएको गलत नीतिले नेपाललाई समेत प्रभावित पार्ने खतरा बढेर गएको छ । त्यसैले यो सवालमा समयमा नै सचेत हुनुपर्ने आवश्यकता छ ।
भारतीय सरकारको नेतृत्व भारतीय जनता पार्टीजस्तो अति हिन्दुवादी सङ्गठनले गरिरहेको छ । हिन्दुत्वको आडमा हिन्दुइतर अन्य धर्म वा सम्प्रदायलाई विभिन्न प्रकारले दबाउने नीति अपनाउने गरेको छ । त्यो कार्यका लागि राज्यसंयन्त्रलाई समेत प्रयोग गरिँदै आएको छ । भारतले मुसलमानलाई अनागरिक बनाउनका लागि वा भारतीय नागरिक हुन चाहने मुुसलमानलाई मुिस्लम धर्म परिवर्तन गरी हिन्दु धर्म ग्रहण गराउनका लागि बाध्यात्मक अवस्था सृजना गर्नका लागि नागरिकता, राष्ट्रिय नागरिक पञ्जीकरण तथा राष्ट्रिय जनसङ्ख्या रजिस्ट्रेसनसम्बन्धी तीन वटा मुसलमान विरोधी कानुन पारित गर्नु त्यसका ज्वलन्त उदाहरण हुन् । ती कानुनको विरोध गर्ने क्रममा समेत भारतस्थित मुसलमानमाथि ठुलो दमनचक्र चलाइएको थियो ।
कोभिड–१९ विरुद्धकोे सङ्घर्षलाई पनि भाजपाको सरकारले अन्धराष्ट्रवादी रूप दिने कोशिस गर्दै छ, जसको परिणाम यो सङ्घर्षमा समेत भारतीय समाज विभाजित हुन पुगेको छ । कोभिड–१९ का विरुद्ध भारतीय समाजलाई एक ढिक्का बनाउनुको सट्टा सरकारले मुस्लिम समुदायका विरुद्ध हिन्दुलाई खडा गर्ने प्रयत्न गर्दै छ । मुस्लिम समुदायलाई कोभिड–१९ रोगको बाहकको रूपमा वा मुस्लिमले यो रोग भारतमा भित्राएका हुन् भन्ने रूपमा प्रस्तुत गरेर तिनीहरूका विरुद्ध जुध्न हिन्दुलाई उक्साउने काम भइरहेको छ ।
भारतीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालले कोभिड–१९ का कारण भारतमा उत्पन्न समस्याको मुख्य दोषी मुस्लिम समुदायलाई देखाएर उनीहरूलाई सामाजिक रूपमा एकल्याउने, बहिस्कृत गर्ने र दमनका लागि वातावरण तयार पारिँदै छ । समाजलाई हिन्दु र मुसलमानका बिच विभाजित गरेर भारतले कोरोनामाथि नियन्त्रण कायम गर्न सक्दैन ।
मुस्लिमभित्रको सुन्नी समुदायको एउटा शाखालाई हनफी विचारधारा भनिन्छ । त्यो विचारधारा मान्नेलाई तबलिगी जमात भनिन्छ । यो जमातको भारतस्थित मुख्यालय नयाँदिल्लीको निजामुद्दिनमा रहेको छ । १९२६ देखि नै यो समुदाय धार्मिक रूपमा निजामुद्दिनमा कार्यरत रहँदै आएको छ । यो समुदाय मुसलमानभित्रको कट्टरपन्थी अतिवादी समूहभित्र पर्दछ । यो समूहले २०२० मार्च १ देखि १५ तारिखसम्म निजामुद्दिनमा सरकारको मौन सहमतिमा धार्मिक सभा सञ्चालन गरेको थियो ।
त्यसको केही दिनपछि धार्मिक सभामा सहभागी तबलिगी जमातलगायतका अन्यमा कोभिड–१९ को सङ्क्रमण देखा परेपछि योजनाबद्ध रूपमा भारतले तबलिगी जमातका विरुद्ध प्रशासनिक कारबाही अगाडि बढायो । त्यही क्रममा भागेर जमातीहरू नेपालमा समेत लुक्न आएका थिए । यी जमातीलाई मुस्लिम धर्मसँग जोडेर सिङ्गो मुस्लिम धर्मका विरुद्ध नै अभियान चलाउने काम भइरहेको छ ।
यद्यपि अहिले भारतमा बढ्दो कोरोनाको सङ्क्रमण तथा त्यसबाट मृत्यु हुने कुल सङ्ख्यालार्इु हेर्दा मुस्लिम सम्प्रदायको सङ्ख्या जम्मा २९ प्रतिशत मात्र रहेको भारतका विभिन्न सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाले तथ्याङ्क सार्वजनिक गरेका छन् । त्यसबाट पनि यो कुरा प्रष्ट छ कि कोभिड–१९ को कहरमा मुस्लिम समुदायभन्दा अन्यको सङ्ख्या बढी छ । कोरोनाको कहरमा परेका मुस्लिमको सङ्ख्यालाई पनि हलुका रूपमा लिन मिल्दैन । तसर्थ कोरोनाको कहरमा सबै धर्म, जात, लिङ्ग तथा समुदाय परेको छ ।
तर सङ्क्रमणलाई फैलाउने कार्यमा योजनाबद्ध रूपमा लागेका ब्यक्तिविशेषलाई कानुनको दायरामा ल्याउने कुरामा कसैको विमति हुन सक्दैन । त्यसका लागि भारतसँग पर्याप्त कानुन पनि छन् । कुनै ब्यक्तिमा रोग देखिएका कारण वा कसैले जानी जानी अरूलाई रोग सार्ने गलत नियतका साथ गरेको कार्यलाई उसको धार्मिक आस्थासँग जोडेर लाञ्छित गर्ने कार्य राम्रो होइन । भारतीय जनता पार्टीको सरकारले मुस्लिम सम्प्रदायलाई दबाउनका लागि कोरोना महामारीलाई उपयोग गर्ने प्रयत्न गरिरहेको छ ।
उदयपुर जिल्लाको एउटा मस्जिदमा लुकेर बसेका १२ जना जमातीको स्वास्थ्य परीक्षणबाट कोरोना सङ्क्रमण देखा परेको छ । त्यसबाट नेपालमा पनि मुस्लिम धर्मका विरुद्ध भारतमा चलिरहेको अनर्गल प्रचारको प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । सामाजिक सञ्जाल तथा कतिपय सञ्चार माध्यममा मुस्लिम विरुद्ध भ्रम फैलाउने प्रकारका सङ्केत पनि देखा परिरहेका छन् । रोगीलाई सञ्चो बनाउन रोगलाई मार्नुपर्ने सिद्धान्त अपनाउनुपर्ने हुन्छ। न कि रोगीलाई मार्ने ।
यदि नेपालमा कसैले जानीबुझी कुनै उद्देश्य प्राप्तिका लागि रोगको सङ्क्रमणलाई फैलाउनका लागि षड्यन्त्र गर्दछन् भने त्यो जुनसुकै धर्म सम्प्रदायसँग जोडिएको भए पनि त्यसलाई कानुनको दायरामा ल्याउनुपर्दछ । तर व्यक्तिविशेषले गरेको गल्तीलाई धर्मसँग जोड्दा त्यस्तो कार्यमा संलग्न नभएका हजारौँ–लाखौँ विश्वभरि छरिएर रहेका निर्दोष व्यक्तिहरूको धार्मिक आस्थामा चोट पुग्दछ । धार्मिक आस्थामा पुग्ने चोटले प्रायःजसो साम्प्रादायिक रूप लिने खतरा हुन्छ । त्यो स्थिति आउन नदिन हामी सबै सचेत हुनुपर्दछ ।
नेपालमा काठमाडौँदेखि बाजुरासम्म ४२ वटा गाउँमा मुसलमानको बसोबास छ । कतिपय गाउँमा तिनीहरू अन्यभन्दा अपेक्षाकृत रूपमा बहुमतमा पनि छन् । तराई क्षेत्रमा पनि मुसलमानको राम्रो उपस्थिति रहेको छ । नेपालका विभिन्न वाम तथा प्रजातान्त्रिक आन्दोलनमा यो समुदायको महत्त्वपूर्ण योगदानसमेत रहँदै आएको छ । एक मधेश एक प्रदेशजस्तो घातक अवधारणालाई कमजोर पारेर राष्ट्रिय एकता कायम गर्ने सवालमा पनि थारू जातिजस्तै मुसलमान समुदायको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो ।
विश्वका कैयौँ मुस्लिम तथा मुस्लिमबहुल देशमा समेत कोरोनाको कहर छ । त्यसबाट त्यहाँको अर्थतन्त्र नराम्रोसँग बिग्रिँदै गइरहेको छ भने ठुलो सङ्ख्यामा रोगको सङ्क्रमण र त्यसबाट मर्नेको सङ्ख्या बढ्दो छ । यो स्थितिमा मुस्लिम धर्ममाथि लाञ्छना लगाउनु सही हुँदैन ।
विगत केही समयदेखि तराईमा सञ्चालित मुस्लिमका बालबालिकालाई पढाउन खोलिएका मदरसाको आडमा नेपालको सुरक्षामा आँच पुग्ने प्रकारका गतिविधि हुने गरेका समाचार आउने गरेका छन् । यी समाचार वास्तविक हुन् वा प्रायोजित हुन् ? त्यो कुरा आउँदा दिनले नै प्रष्ट पार्ने छ । यदि मदरसाको आडमा त्यस प्रकारका काम हुने गरेका छन् भने त्यसमा छानबिन हुनुपर्दछ । तर कोरोनाको आडमा समाजलाई विभाजित गर्नुहुँदैन।
विगतमा एक मधेश एक प्रदेशका पक्षधरले मुसलमानमाथि विभिन्न ठाउँमा आक्रमण गरेर साम्प्रदायिक सद्भाव खल्बलाउने कोशिस गरेका थिए । साम्प्रदायिक दङ्गा भड्काउनमा विश्व हिन्दु महासङ्घले पनि पूरा कोसिस गरेको थियो । नेपालका हिन्दुवादीको भारतीय जनता पार्टीसँग सम्बन्ध रहेको छ । नेपालका हिन्दुवादीलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सुरुदेखि नै सहयोग गर्दै आएका छन् ।
यी सबै कडीलाई आपसमा जोडेर हेर्दा नेपाली समाजलाई पनि विभाजित गर्न चाहने तत्त्व यो समाजमा विद्यमान छन । ती तत्त्व धमिलो पानीमा माछा मार्न उद्यत हुन सक्ने सम्भावना पनि रहेको छ । त्यसैले सामाजिक सद्भावलाई कायम राखेर नै राष्ट्रिय एकता कायम गर्न सकिन्छ । राष्ट्रिय एकताको बलमा मात्र कोरोना महामारीका विरुद्ध लड्न सकिने छ ।
सामाजिक सद्भावलाई कायम राख्नुका साथै महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले त्यस्तो कुनै कार्य गर्नु हुँदैन, जसले कोरोना विरुद्धको राष्ट्रिय एकता खण्डित होस् । कोरोना विरुद्धको राष्ट्रिय एकतालाई खण्डित हुन नदिनका लागि सानो घेरामा सीमित रहेर होइन, बृहत्तर सोचका साथ सरकार अगाडि बढ्नुपर्दछ ।
तर सरकारको कार्यशैली हेर्दा कोरोना विरुद्धको राष्ट्रिय एकतामा आँच पुग्ने त होइन ? सरकारले केही समययता कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लिएका नीति वा देखाएको व्यवहार हेर्दा त्यो एकाधिकारवादी प्रकारले अगाडि बढेको देखिन्छ । सरकारले देखाइरहेको एकाधिकारवादी शैलीले समस्या उत्पन्न भइरहेको छ । त्यसैले सर्वप्रथम आन्तरिक रूपमा विभिन्न गुट-उपगुटमा विभाजित नेकपाले कम्तीमा यो सङ्कटको घडीमा एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
त्यो अवस्था सृजना गर्नका लागि मूल नेतृत्वकोे दायित्व र भूमिका अपेक्षाकृत रूपमा बढी हुन्छ । महामारी विरुद्धको अभियानमा सबैलाई सामेल गरेर अगाडि बढ्ने सवालमा समेत सरकार गम्भीर हुन आवश्यक छ । त्यसबारेमा प्रतिनिधि सभाअन्र्तगतको राज्यव्यवस्था समितिले कोरोना महामारी विरुद्ध सबैलाई समेटेर अगाडि बढन सर्वपक्षीय उच्चस्तरीय समिति गठन गर्न सरकारलाई सुझाव दिएको छ, जुन सही छ ।

