• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाललाई आत्मनिर्भर बनाऔं, संकटमा काम लाग्ने आफ्नै देश हो


  •   आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    अहिले विश्वव्यापीरूपमा देखापरेको कोरोना भाइरसको सङ्कटले हाम्रो देशको सन्दर्भमा पनि दुईवटा कुराहरू प्रस्ट गरेको छ । प्रथम, नेपाल विदेशी सहायता र आयातमा अत्याधिक रूपमा निर्भर छ र त्यसको अभावमा नेपालको अस्तित्व र सामान्य जीवन निर्वाह पनि सम्भव छैन । द्वितीय, नेपालीहरू संसारको जुन कुनामा गए पनि अन्तमा दुःख वा सङ्कटको बेलामा काम लाग्ने आफ्नो देश नै हो ।

    त्यो वस्तुगत अवस्थाले हामीलाई दुईवटा शिक्षा दिएको छ । प्रथम, नेपाललाई आत्मनिर्भर बनाउनुपर्दछ । द्वितीय, नेपालीहरूले आफ्नो देश बनाउने काममा मुख्य जोड दिनुपर्दछ ।

    हामीले उक्त शिक्षा ग्रहण गर्ने र तिनीहरूलाई लागू गर्ने कार्यमा कति ध्यान दिने छौँ ? त्यसमाथि नै देश र जनताको भविष्य निर्भर गर्नेछ ।

    हाम्रो देश विदेशमाथि कति धेरै निर्भर रहेको छ ? कोरोना भाइरसको विश्वव्यापी सङ्कटको बेलामा धेरै नै प्रस्ट भएको छ । त्यो कुरालाई अर्को शब्दमा यसरी भन्न सकिन्छ – हाम्रो स्थिति कति कमजोर रहेछ ? त्यो कुरा एकदम उदाङ्गो भएको छ । यहाँसम्म कि स्वयं कोरोना भाइरसको प्राथमिक उपचारका लागि आवश्यक पर्ने प्राथमिक औषधी वा उपकरणहरू पनि अन्य देशहरूबाट नल्याउने हो भने हामी बाँच्न पनि सक्दैनौँ । त्यो बाहेक जीवन निर्वाहका लागि आवश्यक पर्ने उपभोग्य सामग्रीहरूका लागि पनि हामी काफी हदसम्म विदेशमा नै निर्भर छौँ । त्यो स्थितिले बताउँछ कि, हाम्रो अर्थतन्त्र विदेशबाट आयात गरिएका सामग्रीहरूमाथि नै निर्भर छ ।

    विदेशी भूमिलाई कुनै पनि रूपमा उपयोग नगर्ने भन्ने होइन । आजको युगमा त्यसो गर्नु सम्भव पनि हुँदैन । तर, सबै नेपालीहरूले प्राथमिक रूपमा आफ्नो देशमा बस्ने र देशलाई बनाउने कुरामा नै जोड दिनुपर्दछ । भारतबाट विभिन्न समयमा गरिएको नाकाबन्दीले पनि बताएको थियो, विदेशबाट आयात बन्द हुने बित्तिकै हाम्रो सम्पूर्ण जीवनप्रणाली नै धराशायी हुन्छ । अहिले चीनबाट आएका स्वास्थ्यसम्बन्धी केही औषधि वा उपकरणहरूका कारणले कोरोना भाइरसको उपचारका लागि केही मद्दत पुगेको छ । ती सामग्रीहरू पनि विश्व स्वास्थ्य सङ्गठनले निर्धारित गरेको मापदण्ड अनुसार नभएको कुरा अगाडि आएको छ । तैपनि हाम्रो अगाडि तिनीहरूमाथि भर पर्नु बाहेक अरू कुनै विकल्प छैन । अहिले चीनबाट आएका सामग्रीबाट तात्कालिक रूपमा केही काम चलेपनि त्यो समस्याको स्थायी समाधान होइन ।

    अहिले कोरोना भाइरसको विश्वव्यापी सङ्कटका कारणले संसारभरि फैलिएका नेपालीहरूमा खलबल मच्चिएको छ । प्रथमतः बिभिन्न देशहरूमा उनीहरूको रोजगारी समाप्त भएको छ वा त्यसमा ठूलो मात्रामा कटौती हुने स्थिति उत्पन्न भएको छ । त्यो स्थितिमा ती देशहरूमा बस्नु नेपालीहरूका लागि सम्भव हुने कुरा भएन र उनीहरूका अगाडि एउटै विकल्प बाँकी रहन्छ – स्वदेशमा फर्किनु ।

    कैयौँ देशहरूका सरकारहरूले विदेशी नागरिकहरूलाई देश छाडेर जान भन्न थालेका छन् । उदाहरणका लागि, अस्ट्रेलियामा सबै विदेशी विद्यार्थीहरूलाई त्यहाँबाट आफ्नो आफ्नो देशमा फर्कन भनिएको छ भने अमेरिकी राष्ट्रपतिले पनि अमेरिकामा भएका विदेशी नागरिकहरूलाई देश छाडेर जान सूचना जारी गरेका छन् ।

    यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न कि, सम्भवतः अन्य देशहरूमा पनि ढिलो छिटो नेपालीहरूले त्यसप्रकारको स्थितिको सामना गर्नुपर्नेछ । पहिले बर्मा (म्यानमार) र आसामबाट समेत ठूलो सङ्ख्यामा नेपालीहरूलाई निकालिएका उदाहरणहरू पनि हाम्रा अगाडि छन् । त्यसरी निकालिएका नेपालीहरू नेपालमा नै फर्केर आउनु परेको थियो । ती केही उदाहरणहरूले पनि यो कुरा प्रस्ट गरेका छन् कि विदेशमा तात्कालिक रूपमा केही फाइदा उठाउन सके पनि हामीले अन्तिम र स्थायी समाधान देशभित्र नै खोज्नुपर्दछ । देशभित्र स्थायी समाधान खोज्नुको अर्थ हो– देशलाई बनाउनुपर्दछ । संक्षिप्तमा सूत्रका रूपमा त्यो कुरालाई यसरी भन्न सकिन्छ- देशमा नै बसौँ, देशलाई बनाऔँ ।

    यसको अर्थ विदेशी भूमिलाई कुनै पनि रूपमा उपयोग नगर्ने भन्ने होइन । आजको युगमा त्यसो गर्नु सम्भव पनि हुँदैन । तर, सबै नेपालीहरूले प्राथमिक रूपमा आफ्नो देशमा बस्ने र देशलाई बनाउने कुरामा नै जोड दिनुपर्दछ ।

    कुनै पनि देशले विदेशीहरूलाई आफ्नो आवश्यकता अनुसार नै उपयोग गर्ने गर्दछ र आवश्यकता नै नभएको अवस्थामा उनीहरूलाई निकालिदिन्छन् । कुनै देशको सरकारले औपचारिक वा घोषितरूपले विदेशी नागरिकहरूलाई ननिकाले पनि त्यहाँ रोजगारीका अवसरहरू समाप्त भएपछि त्यहाँ बस्नु सम्भव हुँदैन र आफ्नो देशमा फर्कनुपर्दछ ।

    खास गरेर दुईवटा कारणले कुनै देशमा विदेशीहरूको उपयोगिता कम हुने गर्दछ । प्रथमः कुनै देशको अर्थतन्त्रमा विदेशीहरूको उपयोगिता नभएपछि । द्वितीय, विदेशीहरूको उपस्थितिका कारणले देशभित्रका मानिसहरूका लागि नै रोजगारीको समस्या उत्पन्न भएपछि । केही उदाहरणहरूले त्यो कुरामाथि राम्ररी प्रकाश हाल्नेछन् ।

    द्वितीय विश्वयुद्धका कारणले युरोपको अर्थतन्त्र ध्वस्त भएको थियो । त्यो बेला त्यहाँ पुननिर्माणका लागि ठुलो सङ्ख्यामा मजदुरहरूको आवश्यकता थियो । त्यो स्थितिमा त्यहाँ विदेशीहरूलाई युरोपमा आउनको लागि छुट मात्र दिइएको थिएन, तर उनीहरूलाई प्रोत्साहित पनि गरिएको थियो । तर, पछि विदेशीहरूको आगमनमाथि नियन्त्रण गर्न थालियो ।

    युरोपमा ठूलो सङ्ख्यामा बेरोजगारी बढ्दै गयो । त्यसपछि जनस्तरमा नै विदेशी मजदुरहरूका ठाउँमा स्वदेशी मजदुरहरूको सङ्ख्या बढाउन माग बढ्दै गयो । उदाहरणका लागि, अहिले यूरोपका कतिपय देशमा मुख्यतः जर्मनीमा नवनाजीवादी आन्दोलन बढेर गएको छ, जसले त्यहाँ भएका विदेशीहरूलाई धपाउने आन्दोलन तीव्र पारेका छन् र कतिपय अवस्थामा भौतिक आक्रमण पनि गर्ने गरेका छन् ।

    यूरोप र अमेरिकाका देशहरूमा एउटा ‘राष्ट्रवादी’ जनमत बढ्दै गइरहेको छ, जसले त्यहाँ विदेशी मानिसहरूलाई आफ्नो देशमा काम गर्न नदिने अभियान चलाइरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मुख्यतः त्यही नारा दिएर चुनाव जितेका थिए । उनले एक वा अर्को प्रकारले विदेशीहरूलाई आफ्नो देशबाट निकाल्ने कुरामा जोड दिने गरेका छन् । त्यसरी युरोप अमेरिकामा पहिले विदेशीहरूका लागि काम पाउन जति सजिलो थियो, अब छैन ।

    भारतमा पनि पहिले नेपालीहरूले राम्रो नोकरीहरू पाउँथे । तर, अब त्यसप्रकारको स्थिति बदलिएर गएको छ । विभिन्न नोकरीहरूमा नेपालीहरूलाई कटौती गर्न विभिन्न राज्य सरकारहरूले कैयौँ कानुनहरू बनाउँदै गइरहेका छन् । जापानकै कुरा गरौँ, त्यहाँ गएका नेपालीहरूलाई काम पाउन अब पहिलेजस्तो सजिलो छैन ।

    विभिन्न देशहरूको आर्थिक अवस्थाले पनि त्यहाँ विदेशीहरूको रोजगारीमा धेरै नै असर पार्ने गर्दछ । पुँजीवादभित्र विभिन्न समयमा गम्भीर प्रकारका आर्थिक मन्दी वा सङ्कटहरू पैदा हुने गर्दछन् । त्यो स्थितिमा उनीहरूले ठूलो सङ्ख्यामा कारखानाहरू बन्द गर्ने वा मजदुरहरूलाई छटनी गर्ने गर्दछन् । त्यो कारणले पनि संसारका कैयौँ देशहरूमा नेपालीहरूको रोजगारीमा असर पर्दछ

    अहिले कोरोना भाइरसका कारणले विश्वव्यापीरूपमा नै स्वास्थ्यमा गम्भीर समस्या वा सङ्कट नै उत्पन्न भएको छ । विश्वव्यापी रूपमा नै ठूलो सङ्ख्यामा त्यो भाइरसबाट मानिसहरू सङ्क्रमित भइरहेका छन् वा उनीहरूको मृत्यु पनि हुने गरेको छ । पछिल्लो समाचारअनुसार अहिलेसम्म सवा लाख मानिसहरूको मृत्यु भइसकेको छ र त्यो सङ्ख्या बढ्दो क्रममा छ । त्यो रोगको अहिलेसम्म कुनै औषधी पत्ता लागेको छैन र आउने दिनहरूमा त्यसले कति क्षति पुर्‍याउने हो ? अनुमान गर्न गाह्रो छ ।

    नेपालको नै कुरा गरौँ । अहिलेसम्म त्यसले महामारीको रूप लिइसकेको छैन र सरकारी रिपोर्टअनुसार त्यसबाट अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन । तर, सम्बन्धित सबै कुराहरूमाथि विचार गर्दा एकातिर, विश्वव्यापीरूपमा र हाम्रो छिमेकी देश भारतमा समेत त्यसको बढिरहेको सङ्क्रमण र अर्कातिर, त्यसमाथि नियन्त्रण गर्नका लागि देशभित्र आवश्यक साधन र स्रोत वा स्वास्थ्यसम्बन्धी उपकरण र जनशक्ति समेतको कमीमाथि विचार गर्दा त्यसले (कोरोना भाइरसले) व्यापक वा महामारीको रूप लिनसक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । अहिले त्यसको (कोरोना भाइरसको) देशमा सीमित असर परेको अवस्थामा पनि त्यसको रोकथामका लागि पर्याप्त तयारी भएको देखिन्न । यदि त्यसले देशव्यापी सङ्क्रमणको रूप लियो भने त्यसको सामना गर्नका लागि अहिलेसम्म भएको तयारी कति धेरै अपर्याप्त हुनेछ ? कसैले पनि त्यो कुराको अनुमान गर्न सक्छ ।

    अहिलेसम्म पूरै संसार र नेपाल पनि कोरोना भाइरसको स्वास्थ्यसम्बन्धी समस्यासित नै जुधिरहेको छ । तर, हामीले आशा गरौँ वा हामीलाई विश्वास पनि छ, अहिले विश्वव्यापी रूपमा देखा परेको कोरोना भाइरसको समस्या लामो समयसम्म रहिरहने छैन र मानवजातिले त्यसमाथि नियन्त्रण गर्ने वा विजय प्राप्त गर्नेछ ।

    तर, त्यो समस्याको समाधान भए पनि त्यसले आफ्नो पछाडि विश्वव्यापीरूपमा नै गम्भीर प्रकारका असरहरू छोडेर जाने छ । त्यसको सबैभन्दा ठूलो असर अर्थतन्त्र र जनजीवनमा पर्नेछ । पहिले विभिन्न देशमा भएका भूकम्प, बाढीपहिरो, सुनामी आदि प्राकृतिक घटनाहरू वा युद्धहरू समेतका कारणले अर्थतन्त्रमा वा जनजीवनमा पर्ने गरेका असरबारे हामीलाई थाहा छ । तर, हामीले पुनः कोरोना भाइरसको परिणामस्वरूप पर्ने असर ती सबैकोभन्दा बढी हुने छ । किनभने, यो कुनै देश वा महादेशभित्र मात्र सीमित नरहेर त्यसले विश्वव्यापी रूप लिएको छ ।

    अहिले लकडाउनको स्थितिमा नै धेरै देशहरूका अर्थतन्त्रहरूमा गम्भीर प्रकारको सङ्कट देखापर्न थालेको छ र त्यसको असर व्यापक जनसमूहको जीवनमा पर्न थालेको छ । लकडाउनका कारणले कैयौँ देशहरूका उद्योगधन्दाहरू बन्द भएका छन् र मजदुरहरूको रोजगारी समाप्त भएको छ । व्यापार वा त्यही प्रकारका अन्य कारोबारहरू पनि क्षतिग्रस्त हुँदै गएका छन् । त्यसको असर कृषि, व्यापार आदिमा पनि परेको छ ।

    बताइरहनुपर्ने आवश्यकता छैन कि, कोरोना भाइरसले आफ्नो पछाडि विश्वव्यापीरूपमा आर्थिक मन्दी र सङ्कटको स्थिति पैदा गर्नेछ । त्यसको परिणामस्वरूप संसारभरि नै नेपालीहरूको रोजगारीमा पनि ठूलो कटौती हुनेछ । खाडीका देशहरूमा अहिले नै त्यसको असर परिसकेको छ । अन्य देशहरूमा पनि त्यसको असर पर्दै जाने छ । त्यसको परिणाम यो हुनेछ कि विदेशमा गएका नेपालीहरू ठूलो सङ्ख्यामा नेपालमा नै फर्केर आउनु पर्नेछ ।

    अहिले लकडाउनका कारणले विभिन्न देशहरूमा वा भारतको सीमामा थुनिएर बसेका नेपालीहरू पनि स्थिति सहज हुने बित्तिकै नेपालमा आउन थाल्नेछन् । त्यो अवस्थामा नेपालमा आउने रेमिटेन्स त कम हुने नै छ, त्यसका साथै नेपालमा बेरोजगारीको ठूलो समस्या पैदा हुनेछ । त्यो स्थितिलाई कसरी समाधान गर्ने, त्यसप्रति सबैको ध्यान जानुपर्ने आवश्यकता छ । त्यसको समाधान खाली एउटै तरिकाले हुन सक्दछ- त्यो हो – देशलाई बनाउने ।

    देशलाई बनाउनु भन्नुको अर्थ हुन्छ – उत्पादनमा वृद्धि । पुनः त्यसको अर्थ हुन्छ, कृषि र उद्योगधन्दाको विकास । अहिलेसम्म स्वयं देशमा कुनै उत्पादन वा विकास नगरिकन विदेशबाट आएको आयात सहयोग, ऋण वा रेमिट्यान्सको आधारमा बाँचिरहेको नेपालका लागि त्यसो गर्नु सजिलो हुने छैन । वास्तवमा त्यो एक प्रकारको बोझ नै हुनेछ । तर, उत्पादनको वृद्धि र देशको विकास वा देशलाई आत्मनिर्भर बनाउनुबाहेक हाम्रा अगाडि अन्य कुनै विकल्प छैन ।

    उत्पादनको वृद्धि या देशको विकासका लागि सबैभन्दा महत्त्वको कुरा राजनीति नै हो । राजनीतिको केन्द्रबिन्दुमा राजनीतिक पार्टीहरू वा सरकार नै हुन्छन् । तिनीहरू मध्ये पनि प्रत्यक्ष रूपले सरकारको भूमिका नै निर्णयात्मक हुन्छ । किनभने, सरकारले कुन प्रकारको नीति वा योजना बनाउँछ र त्यसको भूमिका कुन प्रकारको हुन्छ ? त्यसले सबै कुराको निर्धारण गर्दछ ।

    तर, सरकारको भूमिका राजनीतिक दलहरूसित सम्बन्धित हुन्छ । राजनीतिक दलहरूको चरित्र कुन प्रकारको छ ? त्यसले सरकारको नीति वा भूमिकालाई निर्धारित गर्दछ । तर, यो कुरा प्रत्यक्ष रूपमा नै सत्य हो । अप्रत्यक्ष रूपमा जनताको भूमिका निर्णयात्मक हुन्छ । आखिरीमा कुन दललाई बहुमतमा लैजाने ? त्यो कुराको अन्तिम फैसला जनताले नै गर्दछन् । विभिन्न सरकारहरूले राम्ररी काम गरेनन् वा उनीहरू गैरजिम्मेवार वा भ्रष्ट भए भनेर निकै कुराहरू उठ्दछन् ।

    अन्त्यमा तिनीहरूलाई सत्तामा पुर्याउने जनता नै हुन्छन् । त्यसरी एकातिर, राजनीतिक दल र सरकार र, अर्कातिर, जनता । यी दुई पक्षहरू आपसमा घनिष्ठ रूपले जोडिएका हुन्छन् र तिनीहरूलाई एकअर्काबाट अलग गरेर हेर्न मिल्दैन र सकिँदैन पनि । ती दुवै पक्षहरूको भूमिका वा तिनीहरूको प्रकृतिले नै देश अगाडि बढ्छ वा बढ्दैन ? त्यो कुराको फैसला गर्दछ । तैपनि जनताको पक्ष एउटा अप्रत्यक्ष र अमूर्त रूप हो ।

    तर, सरकारको पक्ष प्रत्यक्ष र मूर्त रूप हो । त्यसकारण आजको परनिर्भर आयातमुखी देशको अर्थतन्त्र मात्र होइन, सम्पूर्ण जीवनप्रणालीलाई नै बदल्न सकिन्छ वा सकिँदैन त्यो कुराको फैसला सरकारको नीति वा भूमिकामाथि नै निर्भर गर्ने कुरा प्रस्ट छ ।

    यसबारे हामी स्पष्ट हुनुपर्दछ कि, अहिले सरकारको जुनप्रकारको चरित्र, भूमिका वा कार्यशैली रहेको छ, त्यसको आधारमा अहिलेको देशको अवस्थामा सुधार वा विकास सम्भव छैन । गएको एक वर्षको अवधिमा नै जुनप्रकारका घटनाहरूमा सरकार एकपछि अर्को गर्दै मुछिदैं गएको छ, खास गरेर भ्रष्टाचार र कमिसनसम्बन्धी काण्डहरू । त्यसप्रकारका काण्डहरू देशभित्र प्रशासनयन्त्र, तस्कर, व्यापारी घरानाहरूसम्म मात्र सीमित नरहेर तिनीहरू बहुराष्ट्रिय कम्पनीहरूसित पनि जोडिने गरेका छन् । त्यसले के स्पष्ट गर्दछ भने त्यसप्रकारको कार्यशैलीका आधारमा देशको बिकास निश्चित रूपले सम्भव छैन । गतकालमा जुन प्रकारका काण्डहरू घट्दै गइरहेका छन्, तिनीहरूसित सरकारको उच्च तह संलग्न छैन भन्ने कुराको जनतालाई विश्वास दिलाउन सरकार असफल हुने गरेको छ । त्यसप्रकारको चरित्र वा कार्यशैलीका आधारमा सरकारले देशलाई कहाँसम्म अगाडि बढाउन सक्नेछ, त्यसबारे निश्चित रूपले केही भन्न सकिने स्थिति छैन ।

    देशको विकासका लागि यो निर्णयात्मक शर्त हो कि सरकारको त्यसप्रकारको चरित्र वा कार्यशैलीमा सामान्य प्रकारको सुधार मात्र होइन, आधारभूत रूपमा नै परिवर्तन हुनुपर्दछ । त्यसप्रकारको परिवर्तन कसरी सम्भव छ, देशका सबै राजनीतिक दल सरकार वा जनताले समेत गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ । तर, त्यसप्रकारको परिवर्तन हुन सक्छ वा सक्दैन त्यो कुरा आउने दिनहरूमा नै प्रस्ट हुँदै जानेछ । तर, एउटा कुरा प्रष्ट र निश्चित छ, त्यसप्रकारको परिवर्तनविना देश अगाडि बढ्न सक्ने छैन, चाहे सय वर्षको लामो समय नै किन नबितोस् ।

    प्रश्न सरकारको मात्र होइन, त्यस सन्दर्भमा अर्को महत्त्वपूर्ण प्रश्न यो हो- सरकारले कसको हितमा काम गर्दछ ? देशमा उत्पादनको वृद्धि वा विकास व्यापक जनसमूहका हितसित जोडिएको प्रश्न हो । तर, त्यसमा यस्ता तत्वहरूको पनि कमी छैन, जसले सम्पूर्ण राज्य सरकार वा प्रशासनलाई आफ्ना निहित स्वार्थको लागि नै प्रयोग गर्न चाहन्छन् ।

    अर्का शब्दमा देश जनता वा राज्ययन्त्रको पनि मूल्यमा आफ्ना निहीत स्वार्थहरू पूरा गर्न चाहन्छन् । नाफाखोरी र कालोबजारीमा लागेका व्यापारीहरू, माफिया ग्रुपहरू, भ्रष्ट र नोकरशाही प्रशासनयन्त्र आदिले आफ्ना निहित स्वार्थहरूको लागि नै सरकार वा सम्पूर्ण प्रशासनयन्त्रलाई सञ्चालन गर्न चाहन्छन् । त्यो अवस्थामा यो प्रश्न उठ्दछ – सरकारले ती दुईमध्ये, अर्थात् जनता वा निहीत स्वार्थी तत्वहरूमध्ये कसको हितमा काम गर्दछ ?

    तर, व्यवहारले बारम्बार यो कुरा बताउँदै गइरहेको छ कि, सरकारले पछिल्लो पक्ष, अर्थात् निहीत स्वार्थी तत्वहरूको प्रभावमा परेर उनीहरूको हितमा नै बढी काम गर्ने गरेको छ । त्यसकारण आवश्यकता सरकारको चरित्र वा कार्यशैलीमा सुधार गर्ने मात्र नभएर निहीत स्वार्थी तत्वहरूको स्वार्थको घेराबाट सरकार वा सम्पूर्ण प्रशासनतन्त्रलाई कसरी मुक्त गर्ने भन्ने पनि हो । सायद त्यो कार्य सरकारको बशभन्दा बाहिर रहेको कुरा हो र त्यसका लागि जनता नै अगाडि आउनुपर्दछ । तर, त्यो कार्य स्वतःस्फुर्त रूपले हुने कुरा होइन र त्यसका लागि जनतामा उच्च प्रकारको चेतनाको निर्माण हुनु आवश्यक हुन्छ । अर्को शब्दमा बलियो र लगातारको जनदबावपछि नै सरकारलाई गलत नीति वा कार्यशैलीबाट हटाएर इमान्दारिता र दृढतापूर्वक जनताको हित वा देशको विकासका पक्षमा काम गराउन बाध्य पार्नु सम्भव हुनेछ ।

    देशमा जनशक्तिको लगातार र ठूलो सङ्ख्यामा विदेशमा पलायनको कारणले सरकारका गलत नीति वा कार्यशैलीका विरुद्ध जनदवावको सृजना गर्न वा आन्दोलन उठाउने कार्यमा बाधा पुगिरहेको छ । सायद सरकारको कोसिस पनि भइरहेको छ कि देशको जनशक्तिको लगातार ठूलो सङ्ख्यामा विदेशमा पलायन भइरहोस् । त्यसो भएमा सरकारका गलत नीतिको प्रतिरोध गर्ने शक्ति देशमा कमजोर हुने छ र सरकारलाई वा सरकारको माध्यमद्वारा आफ्ना निहित स्वार्थहरू पूरा गर्न चाहने तत्वहरूलाई आफ्ना उद्देश्यहरू पूरा गर्नका लागि मार्ग प्रशस्त हुनेछ ।

    तर, अहिले कोरोना भाइरसले पैदा गरेको विश्वव्यापी सङ्कटको स्थितिमा विदेसिएका नेपालीहरू देशभित्र आएमा सरकारका गलत नीतिहरूका विरुद्ध उभिने एउटा ठूलो शक्ति देशमा देखा पर्नेछ । जीवनको बाध्यताले नै अहिलेको आवश्यकताका लागि उनीहरू सङ्घर्षमा अगाडि आउन थाल्ने छन् । हामीले आशा गर्नुपर्दछ, त्यसले पनि देशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने छ ।

    तर, यो शर्तमा कि- उनीहरूमा उच्च प्रकारको चेतना भन्नुको अर्थ हो – देशको विकासमा मदत पुर्‍याउने प्रकारको सकारात्मक सोच–को विकास होस् । त्यससित जोडिएको अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । कतिपय आपतविपद वा अप्ठ्यारा स्थितिहरूले विकासका लागि नयाँ सम्भावनाहरूका लागि पृष्ठभूमि तयार पार्ने गर्दछन् । विश्वको इतिहासमा त्यसप्रकारका थुप्रै उदाहरणहरू पाइन्छन् ।

    अहिले कोरोना भाइरसले ल्याएको सङ्कटले पनि विकासका लागि त्यसप्रकारको आधार तयार हुने सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न । कोरोना भाइरसले नेपाल र विश्वभरका नेपालीहरूका लागि जुन स्थितिको सङ्कटको स्थिति पैदा गरेको छ, त्यसले नेपालका लागि पनि विकासका नयाँ आधार तयार पार्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

    खास गरेर कोरोना भाइरसले ल्याएको सङ्कटले नेपालीहरूलाई, प्रथम, विदेशमाथि बढी भर गर्नेभन्दा आफ्नो देशमा नै बस्ने कुरालाई नै बढी प्राथमिकता दिन र द्वितीय, आफ्नो देशलाई बनाउन बढी प्रेरित गर्‍यो भने, कोरोना भाइरसले हामीलाई दिएको ठूलो शिक्षा वा वरदान हुनेछ । त्यसलाई (कोरोना भाइरसलाई) त्यही प्रकारको सकारात्मक अर्थमा लिने र प्रयोग गर्ने हाम्रो प्रयत्न हुनुपर्छ ।

    आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.