दिपेन्द्र परियार, बागलुङ ।
अखिल नेपाल युवक संघ, बागलुङले सञ्चालन गरेको मोटरसाइकल मार्च गलकोट पुगेको छ । संघीयता खारेजीसहित महंगी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीविरुद्ध युवक संघले सञ्चालन गरेको खबरदारी यात्रा जिल्लाका विभिन्न स्थान हुँदै गलकोट पुगेको हो ।
मोटरसाइकल मार्चलाई स्थानीय जनताले ठाउँ–ठाउँमा स्वागत गरेका छन् । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले उठाएका एजेन्डा सही भएको आन्दोलन अघि बढाउन युवक संघसँग स्थानीयले आग्रह गरेका छन् ।
राजमोले उठाउँदै आएको संघीयता खारेजीको अभियानलाई बागलुङे जनताले अभूतपूर्व साथ दिएका छन् । यस्तै, महंगी, भ्रष्टाचार अनियमिताविरुद्ध युवक संघले गरेको पहललाई पनि स्थानीयले स्वागत गरेका छन् ।
साथै, विकास निर्माणका लागि दबाब दिन पनि जनताले आग्रह गरेका छन् । स्थानीय जनताको मुख्य चासो सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति देखिएको छ । लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्तीप्रति खबरदारी गर्न जनताले सुझाव दिएको युवक संघले जनाएको छ ।

माघ २५ गते बरेङ गाउँपालिकाको हुगिदशिरबाट सुरु भएको अभियान अन्तर्गत बागलुङका सबै पालिकाका पुग्ने कार्यक्रम छ ।
टोलीले आज (बिहीबार) बिहान बिहुँमा कोणसभा सम्पन्न गरेको छ । यसअघि बिहीबार काठेखोलाका विभिन्न स्थानमा कार्यक्रम गरेको थियो ।
बिहीवार कुस्मीसेरामा आयोजित कोणसभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले सम्बोधन गर्नुभएको थियो।
यस्तै, बलेवाको नारायणस्थानमा भएको कोण सभा सभालाई अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्षमण पुनले सम्बोधन गर्नुभएको थियो भने बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित कोण सभालाई राष्ट्रिय जनमोर्चा बागलुङ अध्यक्ष तिलक थापा तथा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले सम्बोधन गर्नुभयो ।
बाग्लुङ बजारदेखि काठेखोला तर्फ प्रस्थान गरेको टोलीले मध्यपहाडी लोक मार्गमा रहेको अक्षेते बजारमा पनि कोण सभा सम्पन्न गरेको थियो। सभालाई युवक संघका महासचिव भीमसेन वनले सम्बोधन गर्नुभयो ।

मध्यपहाडी लोकमार्ग हुँदै टोलीले काठेखोलाको धम्जा पुगेर कोण सभा सम्पन्न गरेको थियो । धम्जाको सभालाई अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार प्रगति बुढाले सम्बोधन गर्नुभएको थियो ।
यस्तै, धम्जाबाट हिँडेको टोलीले तङग्राममा कोण सभा सम्पन्न गरेको थियो । सभालाई राजमो बागलुङ जिल्ला सचिव भीमलाल पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
बिहीबा साँझ तङग्राममा वास बसेको मार्चमा सहभागी युवा हरूलाई राजमो नेताहरूले प्रशिक्षण समेत दिएका थिए ।
आज (शुक्रबार) टोलीले गल्कोटको सबै वडामा मार्च गर्दै ताराखोला प्रस्थान गर्ने युवक संघ बागलुङका अध्यक्ष वीरेन्द्र थापाले जानकारी दिनुभएको छ ।
