काठमाडौं । करिब दुई वर्ष नेकपा (माओवादी केन्द्र) को प्रदेश सदस्य बनेर मूल घर राष्ट्रिय जनमोर्चामा फर्कनुभएका लक्ष्मण भण्डारीले माओवादीको भनाई र गराईमा धेरै अन्तर रहेको बताउनुभएको छ ।
डोटीको केआईसिंह गाउँपालिकाका भण्डारी करिब दुई वर्षअघि माओवादीमा प्रवेश गर्नुभएको थियो । सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाले निष्कासन गरेको अराजक समूहको भ्रममा परेर उनीहरुसँग माओवादी प्रवेश गरेका उहाँ शनिबार (३० भदौ मा) मूल घरमै फर्कनुभएको हो ।
उहाँसँगै जोरायल गाउँपालिकाका कमल भण्डारी पनि मूल घरमै फर्कनुभएको छ ।
करिब दुई वर्ष माओवादीको प्रदेश सदस्य बनेका लक्ष्मण भण्डारीले त्यहाँ अराजकता र व्यक्तिवादी प्रवृत्ति रहेको बताउनुभयो ।
युगदर्शनलाई प्रतिक्रिया दिँदै उहाँले माओवादी नेता कार्यकर्ता माथिदेखि तलसम्मै भ्रष्टाचारमा डुबेको आरोप पनि लगाउनुभयो ।
‘ठूलो पार्टीले केही गर्छ कि भन्ने आशा थियो । तर, माओवादीमा त पुरै अनुशासनहीनता रहेछ । संगठन भद्रगोल रहेछ । भन्ने एउटा गर्ने अर्कै छ’ भण्डारीले भन्नुभयो, ‘हामी विकास गर्छौं भन्छन् । तर, माथिदेखि तलसम्मका भ्रष्टाचारमा डुबेका छन् ।’
उहाँले माओवादीका नेता कार्यकर्तामा रहेको भ्रष्ट प्रवृत्तिबारे आफ्नै ठाउँको उदाहरण दिनुभयो ।
भण्डारीका अनुसार केआईसिंह गाउँपालिका–७ मा घोरेटो बाटो निर्माणका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ छुट्याएको थियो । तर, त्यहाँका अगुवाहरुले काम त राम्रो गरेनन्, कामदारलाई समेत पैसा नदिएर कुम्ल्याए ।
भण्डारीले प्रश्न गर्नुभयो, ‘जनताका लागि काम नलागे पार्टी के का लागि?’
उहाँले सर्वसाधारण जनता र इमान्दार कार्यकर्ताहरुका लागि माओवादीमा ‘हात लाग्यो शून्य’ मात्रै भएको बताउनुभयो ।
भण्डारीले राष्ट्रिय जनमोर्चाले उठाएको मुद्दा नै वास्तवमा जनताको मुद्दा भएको बताउनुभयो ।
‘हाम्रा मुद्दा सही छन् । राष्ट्रिय जनमोर्चाले जनजीविकाको सवाल, गणतन्त्र र राष्ट्रियताको रक्षा, संघीयताको खारेजीलगायतका विषय जुन उठाइरहेको छ । यी मुद्दा सही छन् । जनताले यसमा साथ दिनुपर्छ ।’
छोटो कुराकानीमा भण्डारी आशावादी देखिनुभयो, ‘जनताले अहिले साथ नदिएपनि हाम्रा मुद्दालाई पक्कै साथ दिनुछन् ।’
स्मरणीय छ करिब दुई वर्षअघि अराजक समूहको भ्रममा परेर माओवादीमा गएकामध्ये इमान्दार कार्यकर्ताहरु धमाधम फर्कन थालेका छन् । केही दिनअघि डोटीकै देवनाथ योगी मूल घरमा फर्कनुभएको थियो भने शनिबार लक्ष्मण भण्डारी र कमल भण्डारी फर्कनुभएको हो ।
उहाँहरुमध्ये देवनाथ र लक्ष्मण माओवादीको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो भने कमल भण्डारी जिल्ला कमिटी सदस्य रहनुभएको थियो ।
अन्य कतिपय कार्यकर्तासमेत फर्कने क्रममा रहेको उहाँहरुले बताउनुभएको छ ।
देवनाथ योगी फर्किए राष्ट्रिय जनमोर्चामै
राष्ट्रिय जनमोर्चा छोडेर माओवादीमा गएकाहरू दुःखी छन्
राष्ट्रिय जनमोर्चा डोटीको अध्यक्षमा बोगटी, सचिवमा खड्का