रामप्रकाश पुरी
कम्युनिस्ट पार्टीमा आवद्ध हुने सबै पार्टी सदस्यले एउटै साझा राजनीतिक लक्ष्य बोक्नुपर्दछ र त्यो साझा लक्ष्यका लागि फरक विचारका वाजजूद पनि सामूहिक निर्णयलाई कार्यान्वयन गर्नुपर्दछ । यो भन्नुको अर्थ हो, आफ्ना आम सदस्यहरुको साझा राजनीतिक उद्देश्य बोकेको कम्युनिस्ट पार्टीभित्र छुट्टै अस्तित्वका साथ फरक राजनीतिक उद्देश्यको डङ्का पिट्दै अर्को कुनै संस्था जन्मिन सक्दैन ।
तर यो निरपेक्ष कुरा होइन भन्ने कुरामा पनि हामी प्रष्ट हुनुपर्दछ । पार्टीले आवश्यकताका आधारमा ठोस निर्णय गरेर त्यस्ता कतिपय संस्थाहरुलाई जन्म दिन्छ, त्यो संस्था जन्माउनका लागि कुनै व्यक्ति विशेषको इच्छा वा गुनासो होइन, पार्टी स्वयम्को निर्णय चाहिन्छ । यसको अर्थ हो, पार्टीको निर्णय र त्यसको कार्यान्वयन । त्यसप्रकारका संस्थाहरु जसलाई हामी जनवर्गीय संगठन भन्दछौँ, केही सामाजिक संस्थाहरु वा केही पेशागत संगठनहरुलाई पनि त्यसरी नै बुझ्दछौँ, जसले छुट्टै राजनीतिक उद्देश्य होइन, कम्युनिस्ट पार्टीको राजनीतिक उद्देश्य पूरा गर्नका लागि काम गर्दछन् । तिनीहरुले कम्युनिस्ट पार्टीकोे विरोधभासमा होइन, पार्टीको इच्छा अनुसार आफूलाई साँचोमा ढाल्दछन् । त्यसैले जनवर्गीय संगठन वा पार्टीले आफ्नो हितको लागि निर्माण गरेका सामाजिक वा पेशागत संगठन स्वतन्त्र छैनन्, तिनीहरु पार्टीका अङ्गहरु नै हुन् । अनि अरु केही संस्थाहरु पनि हुन्छन्, जस्तै कि विकास, पर्यटन, सामाजिक संस्था वा क्लबहरु ।
उनीहरुले राजनीतिक उद्देश्य राख्दैनन्, त्यसैले त्यस्ता संस्थाहरुमा पार्टीका सदस्यहरु रहनुपर्ने भए सल्लाह र सहमतिबाट रहनुपर्दछ । स्पष्ट छ, तिनीहरु समाजको विकास वा बिभिन्न सामाजिक कार्यका लागि प्रयोगमा आएका हुन्छन्, तिनीहरुमा रहने र नरहने वा त्यसप्रकारका संस्था निर्माण गर्न पाउने वा नपाउनेबारे पार्टीमा सल्लाह गरेर पार्टी सदस्यहरुले काम गर्न सक्दछन् ।
माथि उल्लेखित केही संस्थाहरुलाई उदाहरण बनाएर पार्टीको कुनै सदस्यले छुट्टै राजनीतिक उद्देश्य बोक्ने कुनै पनि संस्था निर्माण गर्न पाइँदैन । कम्युनिस्ट पार्टीको योजना र निर्णय बिना राजनीतिक उद्देश्य बोकेका कुनै पनि संस्थाहरुले पार्टीभित्र स्थान लिन सक्दैनन् । त्यस्ता संस्थाहरुले यदि कुनै ठाउँ लिन खोजिरहेका छन् वा त्यसप्रकारको भ्रम सृजना भइरहेको छ भने हामीले प्रष्ट बुझ्नुपर्दछ कि पार्टीमाथि आक्रमण भइरहेको छ । पार्टीमाथि आक्रमण बिभिन्न दिशा र कोणबाट हुन्छ, त्यो आक्रमणलाई इमान्दार आम पार्टी सदस्यहरुले पहिचान गरेर निष्फल पार्नुपर्दछ ।
एउटा कम्युनिस्ट पार्टीले समकालीन राजनीतिलाई विस्तृत ढङ्गले तर ठोस स्थितिको ठोस विश्लेषण सहित आफ्ना रणनीतिक र कार्यनीतिक योजना निर्माण गर्दछ । कुनै पार्टी सदस्यले कम्युनिस्ट आदर्श वा सिद्धान्तको ह्रास भएको भनी अर्को कुनै राजनीतिक उद्देश्य सहितको संस्था निर्माण गर्नुको अर्थ हुन्छ, ऊ आफू बसेको कम्युनिस्ट पार्टीको राजनीतिक उद्देश्यप्रति उसलाई अविश्वास छ । उसले पार्टीभित्र बसेर नै त्यसप्रकारको कार्य गर्नुमा मुख्यतः दुई प्रकारले उद्देश्य राख्दछ : पहिलो, त्यसले आफ्ना असन्तोष र कुण्ठालाई पार्टीका विरुद्धमा प्रकट गर्नका लागि त्यसप्रकारको संस्थालाई माध्ययम बनाउँछ । दोश्रो, पार्टीभित्र व्यापक भ्रम सृजना गरेर उसले आफ्नो गुटबन्दीको कार्यलाई त्यो संस्थामार्फत विस्तार गर्न खोज्दछ ।
उसका ती दुबै उद्देश्यले पार्टीलाई ध्वस्त पार्ने लक्ष्य राखेका छन् । हामीले पहिले नै उल्लेख गरिसकेका छौँ, कम्युनिस्ट पार्टीका कुनै पनि सदस्यले फरक र अलग राजनीतिक उद्देश्यका साथ कुनै संस्था पार्टीभित्र निर्माण गर्न सक्दैन । कम्युनिस्ट पार्टीको इच्छा बाहेक त्यसप्रकारको कुनै पनि संस्था पार्टीभित्र निर्माण भएको विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा नै छैन । तर केही घटना हामी देख्दछौँ, तिनीहरुको परिणाम भएको छ : जुनसुकै कारणले भएपनि पार्टीबाट आफूलाई स्वतन्त्र बनाउने दिशामा उनीहरु अग्रसर हुन्छन् वा कुनै संस्थाको आडमा उनीहरुले पार्टीविरोधी आफ्नो राजनीतिक उद्देश्य अगाडि बढाउने प्रयत्न गर्दछन् ।
एउटा कम्युनिस्ट पार्टीको सदस्यले माथिका कार्य गर्नुमा गम्भीर अर्थ लुकेको हुन्छ । पहिलो कुरा, त्यो उसको स्पष्ट विचार र कार्यशैली होइन । त्यसले दुई लाइनको संघर्षसित साइनो राख्दैन । षडयन्त्र र पार्टीविरोधी गतिविधिमा त्यसले आफूलाई लगाइरहेको छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन । यो कुरा हामीले बिना हिच्किचाहट भन्न सक्दछौँ, उसलाई फरक विचार दर्ज गर्न र आफ्नो विचारलाई पार्टीको नीति बनाउन पाउने पार्टीभित्र जहिले पनि मैदान उपलब्ध हुन्छ । तर त्यसको अर्थ यो होइन कि उसले रुचि राखेको जुनसुकै बेला पनि उसलाई त्यो अधिकार छ । यसको अर्थ त यो हो, पार्टीमा जुन निर्णय हुन्छ, त्यसलाई एकतावद्ध लागू गर्नमा प्रत्येक पार्टी सदस्यले आफूलाई जुझारुपूर्वक उभ्याउनुपर्दछ ।
तर यो कुरा पालना नगर्ने व्यक्तिका लागि यसप्रकारको मान्यताले अर्थ राख्दैन । किनभने ऊभित्र बिभिन्न कुण्ठाले स्थान लिएकाले तिनीहरुको परिपूर्तिको लागि पार्टीभित्र वैकल्पिक गुट तयार गर्ने उसको उद्देश्य हुन्छ । दोस्रो कुरा, दुनियाँमा कुनै पनि कम्युनिस्ट पार्टीमा दुई लाइनको संघर्ष चल्दछ । यो कुनै नौलो कुरा होइन कि कुनै बेला बहुमतमा रहेका पक्ष कुनै समयमा गएर अल्पमतमा पर्न जान्छ भने कुनैबेला अल्पमतमा रहेको पक्ष बहुमतमा उपस्थित हुन पुग्दछ । यहाँ पक्ष भन्नाले विचारलाई नै बुझ्नुपर्दछ, गुट वा समूहको रुपमा होइन । गुट वा समूह छन् भने त्यो कम्युनिस्ट पार्टी होइन अथवा गुटवन्दीद्वारा त्यस्ता गुट वा समूहहरु निर्माण गर्न खोजिएको छ भने तिनीहरुले कम्युनिस्ट पार्टीलाई ध्वस्त बनाउने उद्देश्य राखेका छन् भन्ने कुरा बुझ्नुपर्दछ ।
कम्युनिस्ट पार्टी गुट वा समूहको आकार होइन, र त्यसप्रकारले कम्युनिस्ट पार्टी कहिल्यै पनि निर्माण हुन सक्दैन । तर कम्युनिस्ट पार्टी भिन्न विचारका अस्तित्वका साथमा कार्यमा एकता प्रस्तुत भएको एकात्मक सामूहिक शक्ति हो । यही फरक छ, कम्युनिस्ट पार्टी र अन्य पार्टीका बीचमा । यही एकतालाई भत्काउनका लागि दुश्मनले बारम्बार कम्युनिस्ट पार्टीमाथि बिभिन्न प्रकार र कोणबाट आक्रमण गर्दछन् । दुश्मनले कम्युनिस्ट पार्टीका कैयाँै सदस्यलाई आफ्नो उद्देश्यका लागि प्रयोग गर्ने प्रयत्न पनि गर्दछन् । तर जसले यो कुराको अनुमान गर्दैनन्, बुझ्दैनन् वा पार्टीलाई जुनसुकै ढङ्गले ध्वस्त पार्ने उद्देश्य राख्दछन् उनीहरुले दुश्मनपक्षको ताली सहित पार्टीविरोधी काममा आफूलाई सक्रिय बनाउने गर्दछन् ।
कम्युनिस्ट पार्टीको सदस्य पार्टीको मुख्य पुँजी हो । त्यो स्वतन्त्र छैन, अनुवन्धित छ । त्यसले कम्युनिस्ट पार्टीको इच्छा बेगर आफ्नो कुनै पनि स्वतन्त्र राजनीतिक कदम उठाउन सक्दैन । त्यसले कुनै छुट्टै संस्था निर्माण गर्ने ध्येय पनि राख्दैन, किनभने उसको सम्पूर्ण राजनीतिक उद्देश्य कम्युनिस्ट पार्टीमा अनुबन्धित छ । उसले आफ्नो क्षमता अनुसार पार्टीका लागि योगदान दिने उद्देश्य बाहेक अरु छलकपट गर्न आवश्यकता ठान्दैन र ठान्नु पनि हुँदैन ।
कम्युनिस्ट पार्टीको मुख्य पुँजीलाई दुश्मन शक्तिले खेलाउन थाल्यो भने पार्टीका अगाडि दुइटा विकल्प जरुर हुन्छन् । पहिलो विकल्प हो, आफ्नो पार्टी सदस्यलाई त्यसप्रकारको गल्ती गर्नबाट जोगाउनु । दोस्रो हो, पार्टीबाट निष्काशित गर्नु । पहिलो प्रकारको विकल्प त्यस्ता पार्टी सदस्यलाई लागू हुन्छ र सफल पनि हुन्छ, जो इमान्दार र अनुशासित हुन्छन् । उनीहरु भ्रममा परेर वा स्थितिको ठोस विश्लेषण गर्न नसकेर दुश्मनको उपयोगमा गएका हुन्छन् ।
तिनीहरुलाई छिटोभन्दा छिटो आत्मीयतापूर्वक र कमरेडली भावनाले पार्टीका नीति र निर्णयहरुबारे स्पष्ट पार्नुपर्दछ । तिनीहरु स्पष्ट भएपछि पार्टीलाई सुदृढ बनाउनका लागि इमान्दारीपूर्वक आफूलाई समर्पित गर्दछन् । दोश्रो विकल्प उनीहरुमाथि लागू हुन्छन्, जो वेइमान र अनुशासनविहीन हुन् । उनीहरुले आफूलाई इमान्दार, क्रान्तिकारी र दुनियाँमा नै नभएको अब्बल मानवको आवरणमा आफूलाई प्रस्तुत गरेर ठूलो भ्रम पैदा गर्ने र पार्टीलाई ध्वस्त पार्नका लागि लगातार प्रयत्न गर्दछन् । उनीहरु नियतवश नै पार्टीका विरोधमा उत्रिएका हुन्छन् । त्यसैले उनीहरुबारे छिटोभन्दा छिटो सम्पूर्ण पार्टी सदस्यलाई स्पष्ट गर्नुपर्दछ र व्यापक क्षति हुनबाट पार्टीलाई जोगाउनुपर्दछ । उनीहरुले पार्टीलाई ध्वस्त पार्ने भएकोले उनीहरुलाई पार्टीबाट निष्काशित समेत गर्नुपर्दछ ।
कम्युनिस्ट पार्टीका सदस्यको राजनीतिक संस्थाबारे विचार गरिरहेको बेलामा हामीसित केही प्रश्नहरु छन्, जो हाम्रो पार्टीसित सम्बन्धित छन् । कसैले भन्न सक्दछ ? वा त्यस्तो कोही सही कम्युनिस्ट छ, जसले क्रान्तिको लक्ष्य सहित वर्तमानमा अपनाउने कार्यनीति ने.क.पा.(मसाल)को भन्दा फरक हुन्छ र त्यसले मसालका कार्यनीतिलाई गलत हुन् भनेर व्यवहारिक जीवनमा समेत पुष्टि गर्न सक्दछ ? हामीले यसको उत्तर अर्कोपटक अर्को आलेखमा दिनेछौँ । तर यहाँ यो संस्था निर्माणबारे विगतका केही प्रसंगलाई उठाउनु असान्दर्भिक हुनेछैन । यो प्रसंगबाट नयाँ नाटकहरुलाई बुझ्न सकिने छ ।
हामीले भुल्नु हुँदैन र भुलेका पनि छैनौँ, का. प्रचण्ड लगायत लामो समयसम्म ने.क.पा.(मसाल) र त्यसका नजिकका जनवर्गीय सङ्गठनहरुमा काम गरेका साथीहरु थिए । बाबुराम भट्टाई लगायत पनि त्यस्तै खाले साथीहरु थिए, जो अहिले कम्युनिस्ट आन्दोलनबाट नै अलग्गिएका छन् । का. दीनानाथ शर्मा, का. डिलाराम आचार्यहरु पनि हाम्रो पार्टीमा लामो समयसम्म काम गरेका साथीहरु थिए । तर आज उनीहरु मसालमा छैनन् । उनीहरु सबैले सकेसम्म त ने.क.पा.(मसाल) भनेर नै आफूलाई सिद्ध गर्ने प्रयास गर्नुका साथै मसालको संस्थागत नेतृत्वका विरुद्धमा धावा बोल्ने काम गरेका थिए । त्यसो गर्नुमा एउटै कारण थियो, मसालका सबै सदस्य, समर्थक र शुभचिन्तकमा व्यापक भ्रम पैदा गरी आफ्नो स्थितिलाई बलियो बनाउनु ।
तर सबै भन्दा दुःखको कुरा के छ भने जुन ढङ्गले उनीहरुले मसाल वा त्यसको नेतृत्वमाथि आक्षेप लगाएर आफूलाई अलग गर्ने वा भ्रमको खेती गरेका थिए, त्यसका लागि उनीहरुलाई इतिहासबाट लज्जित हुनुपर्ने अवस्था छ । उनीहरुले त्यसबेला मसाल र त्यसका नेतृत्वका विरुद्धमा कस्ता आक्षेप लगाएका थिए र उनीहरुको कतातिर पतन भयो ? त्यसबारे यहाँ चर्चा गर्नपट्टि लाग्दैनौँ । तर उनीहरुमा जुन वैचारिक वा सैद्धान्तिक विचलन भएको थियो त्यसलाई ढाकछोप गर्नका लागि मात्र त्यो आक्षेप तात्कालिक एउटा अस्त्रको रुपमा अगाडि आएको थियो । समयले पुष्टि गर्दै गयो कि उनीहरु वास्तवमा मसालले निर्भयतापूर्वक कार्यान्वयन गरिरहेको माक्र्सवादी–लेनिनवादी सिद्धान्त, सङ्गठनात्मक नीति, अनुशासन र त्यसका आधारमा निर्माण गरिने पार्टी सदस्यहरुको जीवनशैलीबाट विचलित भएका व्यक्तिहरु थिए ।
उनीहरुले त्यो कुरालाई क्रान्तिकारी शब्दाडम्बरभित्र लुकाएर ल्याएका थिए र पार्टी र पार्टीको नेतृत्वमाथि व्यापक रुपले आक्रमण गरेका थिए । उनीहरुको त्यो आक्रमण मसाल सखाप पार्ने एउटा अभियान थियो । नेतृत्वमाथि आक्षेप लगाएर उनीहरुले आफूलाई जुन प्रकारले अलग गरेका थिए, त्यस अनुसार उनीहरुले आफ्नो व्यवहारलाई प्रस्तुत नगरेको भए पनि आज पनि उनीहरुलाई हामीले देख्न सक्दछौँ, उनीहरुको सम्पूर्ण कार्यव्यवहार क्रान्तिविरोधी वा कम्युनिस्ट सिद्धान्त, नैतिकता वा कार्यशैली भन्दा फरक छ । त्यसरी स्पष्ट छ, इतिहासमा ने.क.पा.(मसाल)को रक्षा सही विचार र त्यस अनुसारको कार्यशैलीले मात्र भएको हो ।
एउटा कम्युनिस्ट पार्टीभित्र छुट्टै राजनीतिक संस्था निर्माण गर्ने हाउगुजी एउटा बेकार र अर्थहीन कार्यव्यापार हो । कुण्ठाग्रस्त व्यक्तिहरुले त्यसलाई साकार रुप दिने प्रयत्न गरेपनि अन्ततः तिनीहरुले त्यसको मलामी गर्नुपर्दछ वा त्योसितै सती जानुपर्ने छ । हामी बुर्जुवा समाजका सदस्य भएका कारणले हाम्रो इच्छामा बुर्जुवा दृष्टिकोण, कार्यशैली, संस्कारको प्रभाव धेरै नै हुन्छ । त्यसरी हामी व्यवहारमा प्रकट हुँदा बढीभन्दा बढी बुर्जुवा व्यवहारबाट आकर्षित हुन्छौँ । त्यस्तो अवस्थामा कम्युनिस्ट पार्टीको संस्कारलाई कार्यान्वयनमा लैजाने कुरा कठिन बन्न जान्छ । म
न लागेको बेलामा वा आफ्नो इच्छा अनुसार भएको बेलामा कम्युनिस्ट संस्कार ठीक हो भन्ने र मन नलागेको बेला वा आफ्नो इच्छाविपरित भएको बेलामा त्यसलाई बेठीक मान्ने वा परित्याग गर्ने बुर्जुवा समाजको सांस्कृतिक प्रभाव हो । त्यसैले हाम्रो इच्छा अनुसार कम्युनिस्ट संस्कार निर्माण हुन सक्दैन, कम्युनिस्ट सिद्धान्तको संस्कार अनुसार हाम्रो जीवनशैली निर्माण गर्नुपर्दछ र त्यसरी नै हामीभित्र कम्युनिस्ट संस्कारको निर्माण हुन्छ । संघर्षका बिभिन्न समय, कालखण्ड वा सन्दर्भहरुमा हामी बिभिन्न बहानामा कम्युनिस्ट संस्कारबाट पतन हुने सिलसिला चल्न सक्दछ, तर अन्तिम सत्य त्यो हुने छैन ।
अन्तिम सत्य यो हुनेछ : कम्युनिस्ट सिद्धान्त अनुसारको संस्कार निर्माण प्रक्रियामा कोही न कोही लागिरहने छन् । त्यसैले हामीले दावापूर्वक भन्न सक्दछौँ कि हामीले निर्माण गर्न चाहेको बलियो कम्युनिस्ट पार्टी असन्तुष्ट र कुण्ठाग्रस्त मानिसहरुको भीड होइन, त्यसको ठाउँमा सचेत र अनुशासित मानिसहरुको एकतावद्ध अभियान हो, जसले कम्युनिस्ट सिद्धान्तलाई कार्यान्वयन गर्दछन् । तिनीहरु कम्युनिस्ट पार्टीका सदस्य हुनाका लागि योग्य हुन्छन् र उनीहरुबाट नै बलियो कम्युनिस्ट पार्टीको निर्माणको कार्य पूरा हुन्छ ।
पार्टी सदस्यले आफ्नो राजनीतिक संस्थाबारे यो कुरा बुझनुपर्दछ : हामीलाई असन्तुष्टि वा फरक विचारप्रति कुनै पूर्वाग्रही हुन जरुरी छैन । त्यो कुराका लागि कार्यान्वयनमा आएको विचारले छुट्टै गर्व गरिराख्नु पर्दैन र अस्वीकृत भएको विचारले पनि नैराश्यता वा कुण्ठा पालेर शोकग्रस्त भइराख्नु पर्दैन । ती विषय त निर्णय गर्ने स्थलमा छलफलमा आउँदा लागू हुने कुरा मात्र हुन् । तर सबै पार्टी सदस्यले गर्व गर्ने कुरा हो, पार्टीको निर्णयलाई हामीले एकतावद्ध भएर कार्यान्वयन गरिरहेका छौँ । र गर्व गर्ने कुरा हो : हाम्रो राजनीतिक संस्था भनेको कम्युनिस्ट पार्टी नै हो, जसमा हामी गोलवन्द छौँ ।
(हालै केही पत्रपत्रिकामा आएका हामीसित सम्बन्धित विषयबारे हामी अर्को आलेख वा स्पष्टीकरणमा प्रष्ट पार्ने छौँ । यो लेख पहिले नै तयार भइसकेको भएपनि त्यसका लागि पूरकका रुपमा रहने छ ।)