अनिलकिशोर घिमिरे
माघ २२ गते बिहान महामन्त्री मोहनविक्रम सिंहसित कार्यालयमै भेट्ने अवसर पाइयो । अभियानबारे जानकारी आदानप्रदान ग¥यौँ । उहाँले थप सल्लाह, सुझाव र मार्गनिर्देशन दिनुभयो । त्यसपछि टोली नवलपरासीतिर अगाडि बढ्यो । सुनवलमा साथीहरूको भव्य स्वागतसहित सभा गरी त्यहीँ बिहानको खाना खाएर परासीतर्फ लाग्यौँ । पहिलेका कार्यक्रममा हाम्रो झण्डा, ब्यानर देख्दासाथ मधेशवादीले हामीमाथि सांघातिक आक्रमण गर्ने गरेको परासीमा यसपटक भने सौहार्दपूर्ण रूपमा हाम्रो कार्यक्रम हेर्ने र सुन्ने काम भयो ।
मधेश टुक्राउने गरी सङ्घीय संरचना बनाउनुपर्छ भन्ने भारतीय डिजाइनलाई सफल पार्न मधेशवादी दलको सहारामा परासीमा थुप्रै पटक जुलुश भए । अब बिस्तारै त्यो षडयन्त्रबारे जनताले बुझ्दै छन् । परासीबाट भुमही हुँदै बर्दघाटमा कार्यक्रम दिइयो । बर्दघाटबाट दक्षिणपट्टि केही किमि हिँडेपछि गण्डक बाँध आउँछ । नेपाल र भारतबिच २४ किमि सीमारेखाको काम गर्ने नारायणी नदीमा तत्कालीन त्रिवेणी सुस्ता कुडिया गाविसको पूर्वतर्फ नारायणी नदीलाई छेकी भारतले बनाएको बाँधलाई गण्डक बाँध भनिन्छ । २०१६ सालमा विपी कोइरालाको पालामा सम्झौता गरिएको उक्त परियोजनामा कुनै समयावधि उल्लेख गरिएको छैन ।
अर्को मुख्य कुरा ब्यारेजदेखि उत्तरतिरको पानी नेपालले आफूखुशी उपयोग तथा प्रयोग गर्न नपाउने र कुनै पनि संरचना निर्माण गर्न नपाउने भन्ने प्रावधान राखी नेपालको पानी र नदीमाथि हाम्रो हक नलाग्ने बनाइएको छ । यो गम्भीर प्रकारको राष्ट्रघात हो । यो बाँधको कारण हजारौँ नेपाली, दर्जनौँ गाउँ डुबानको चपेटामा परेका छन् । त्यति मात्र होइन, त्यहाँको सुस्ता महेशपुर क्षेत्रको करिब १४ हजार हेक्टर भूमि भारतले मिचेर बसेको छ । नेपाली भूमिमा भारतीय एसएसबी बसेर नेपाली जनतमाथि नै अत्यचार गर्ने गरेको छ । सिमाना क्षेत्रका नेपालीले पटक पटक भारतीय ज्यादतीको विरुद्ध लडिरहेका छन् । तर नेपालको सरकारी निकायबाट ठोस कूटनैतिक पहल गर्ने र नेपाली भूमि सुरक्षा गर्ने कार्य हुन सकेको छैन । हामीले बर्दघाटबाट उक्त कार्यको भण्डाफोर गर्दै दाउन्ने हुँदै नवलपुरतिर अगाडि बढ्यौँ ।
नवलपुर नेपालको कान्छो जिल्ला हो । नवलपरासीलाई टुक्राएर नवलपुर जिल्ला बनाइएको छ । गण्डकी प्रदेश सुरु भएपछि दुम्किबासमा भव्य स्वागत भयो । अभियान टोली झन् उत्साहित हुँदै अगाडि बढेको छ । दुम्किबासमा सानो कार्यक्रम दिएर हामी कावासोतीतिर लाग्यौँ, जुन नवलपुरको सदरमुकाम पनि हो ।
कावासोतीमा सयौँ साथीहरूको र स्थानीय जनसमुदायको उपस्थिति थियो । बृहत् सांस्कृतिक सभा पनि सम्पन्न भयो । बेलुकी १६ नम्बरमा रहेको सुन्दरी सामुदायिक वनको भवनमा खाने, बस्ने व्यवस्था थियो । सामुदायिक वनले राम्रो व्यवस्थापन गरी उक्त गेस्ट हाउस बनाएको रहेछ । धेरै भ्रमण टोली पनि आउँदा त्यस भवनमा बस्दा रहेछन् । त्यहाँ स्थानीय सामुदायिक वनमा पाइने कैयौँ जडीबुटी प्रशोधन गरी औषधिको रूपमा बिक्री–वितरण पनि हुँदो रहेछ ।
माघ २३ गते बिहानै १६ नम्बरमा सभाको कार्यक्रम राखियो । राष्ट्रिय जनमोर्चाले जितेको वडा पनि भएकाले त्यहाँ थुप्रै जनपक्षीय काम भएका छन् । स्थानीय जनताले हाम्रो कार्यक्रम चाखपूर्वक सुन्ने काम गरे । बिहानको खाना सामुदायिक भवनमै थियो । गाईपालनको पकेट क्षेत्र पनि भएकाले साथीहरूले दुधको व्यवस्था गरे । चिसो मौसममा दुधले ततायो । दिउसो गैँडाकोट कार्यक्रम गरी चितवनतिर प्रवेश गरियो । बागमती प्रदेशअन्तर्गत चितवन प्रवेश गर्दा नारायणघाट पुल्चोकमा सयौँ साथीहरू अभियानको स्वागतार्थ जम्मा भएका थिए ।
भव्य रूपमा नारयाणघाटको कार्यक्रम समापन गरी बेलुकी टाँडीतिर लागियो । टाँडीतिर घरघरमा बस्ने कार्यक्रमलाई साथीहरूले केही परिमार्जन गरे । लामो समयको हिडाइँ, थकानको कारण स्वास्थ्यमा समस्या पर्छ कि भन्ने चिन्ताले रिफ्रेस पनि हुने उद्देश्यले सौराहाको एउटा रिसोर्टमा बस्ने व्यवस्था मिलाएछन् । साँझ टाँडीमा कार्यक्रम सकेर सौराहातिर लागियो ।
लामो समय नुहाइधुवाइ नभएका साथीहरू सरसफाइमा लागे । बेलुकीको समीक्षा महत्वपूर्ण रह्यो । अब पूर्वी तराईका जिल्लामा प्रवेश गर्ने कार्यक्रम भएकाले अलि संवेदनशील हुनुपर्ने थियो । साथीहरूको कार्यविभाजनलाई अझ व्यवस्थित गर्ने काम भयो । केही सुरक्षासँग सम्बन्धित योजना बनाइयो । चितवनका साथीहरूको न्यानो व्यवस्थापनले अभियानका यात्रीले सबै थकाइ भुलिसके ।
माघ २४ गते बिहान सौराहामा केहीबेर घुमाइ भएपछि टाँडी हुँदै हेटौँडातिर लागियो । बागमती प्रदेशको राजधानी हेटौँडा भएको छ । मन्त्रीका गाडीको साइरन, सरकारी पजेरोको भिडभाडले हेटौँडा पहिलेभन्दा छुट्टै देखिएको छ । भनिन्छ, हेटौँडा काठमाडौँ र रक्सौलको बिचमा पर्ने भएकाले कैयौँ तष्करी र अपराधिक क्रियाकलापको ट्रान्जिट पनि हो । हेटौँडाको लोकप्रिय भोजनालयमा बिहानको खानाको व्यवस्था थियो ।
सहिद स्मारकमा मकवानपुरका साथीहरूको स्वागतपछि हेटौँडा शहर पुगियो । प्रदेश संरचना खडा गरी हेटौँडा राजधानी पनि बनाइयो । तर जनताले त्यसबाट कुनै सेवासुविधा, अवसर प्राप्त गर्न सकिरहेका छैनन् । प्रदेश संरचनाका लागि छुट्याइएको रकम बिना काम खर्च भइरहेको छ । अनावश्यक रूपमा खरबौँ रकम प्रदेशको नाममा दुरूपयोग हुनु संस्थागत भ्रष्टाचारको नमुना हो । सङ्घीयताले भ्रष्टाचारलाई मौलाउने मौका दिएको छ । हामीले हेटौँडाबाट त्यस प्रकारको भ्रष्टाचारको विरोध ग-यौँ र बाराको सिमरातिर यात्रा अगाडि बढ्यो । पथलैयादेखि वीरगञ्जसम्म सयौँ उद्योग रहेका छन् । ती सबैमा विदेशी लगानी छ ।
त्यहाँ काम गर्ने ९५ प्रतिशत मजदुर पनि विदेशी, खासगरी भारतीय नै छन् । त्यहाँबाट उत्पादित वस्तुबाट आउने आम्दानी आम्दानीको अधिकांश पैसा विदेशतिर नै जाने गर्दछ । सरकारले राष्ट्रिय उद्योगधन्दाको विकास गर्ने र राष्ट्रिय पुँजीको प्रबर्धन गर्ने काम गर्न नसक्दा विदेशी दलाल कम्पनी भित्रिरहेका छन् । भएका राष्ट्रिय उद्योग पनि कौडीको मूल्यमा बेचिएका छन् या ध्वस्त बनाएर मोटो रकमको स्वार्थमा विदेशीलाई सजिलै भित्रिने बाटो खोलिएको छ । यसले गर्दा देशको युवा जनशक्ति रोजगारीको अवसर नपाएर विदेशिनुपर्ने बाध्यता छ भने नेपालमा रहेका हजारौँ उद्योगधन्दामा लाखौँ विदेशीले काम गर्दा यहाँबाट खरबौँ विप्रेषण बाहिर गएको छ ।
अधिकांश उद्योगधन्दाले त भित्र अध्ययन–अनुसन्धानका लागि समेत जान दिँदैनन्, गेटबाटै फर्काइदिन्छन् । नेपालका प्राकृतिक श्रोतसाधनलाई अनधीकृत र अनियन्त्रित रूपमा दोहन गरेर उद्योगधन्दा सञ्चालन गर्ने र बहुमूल्य पदार्थ सित्तैमा निर्यात गर्ने काम तिनै दलाल कम्पनीमार्फत् भइरहरेको छ । चुनावमा मोटो रकम प्राप्त गर्नका लागि कैयौँ दलाल ठेकेदारसँग राजनैतिक नेतृत्वले मिलेर सहजीकरणको कामसमेत गरी देशको सम्पत्तिमाथि रजाइँ गर्ने काम भएको छ । सिमराबाट त्यस प्रकारको गतिविधिको पर्दाफास गर्दै हामी डुमरवाना बास बस्न लाग्यौँ । स्थानीय जनताको घरमा बाँडिएर बस्ने काम भयो ।
माघ २५ गते बिहान डुमरवाना कार्यक्रम गरेर निजगढ हुँदै रौतहटको राजपुर पुगियो । राजपुरमा हरिकिशोरजीले राम्रो संगठन बनाएका छन् । २ नम्बर प्रदेशको सबैभन्दा संवेदनशील जिल्ला हो, रौतहट । अझ कांग्रेसका सांसद आफताव आलमले दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाउने काम त्यहीँ गरेका थिए । उक्त ठाउँमा कार्यक्रम पनि गरियो । खानाको व्यवस्था त्यहीँ थियो । स्थानीय जनताले हामीलाई भव्य स्वागत गरे । स्थानीय खानपानको संस्कृति नै छुट्टै प्रकारको थियो ।
एकजनाको घरको आँगनमा सरसफाइ गरियो र गुन्द्रीमा वरिपरि बसेर खाइयो । दुईहातले ताउलाबाट भात निकालेर टपरीमा राखिदिँदा धेरैजसो साथीहरू त अचम्मै परे । कतिपयले त खाना मुखमा लैजानसमेत सकेनन् । जे होस्, साथीहरूले मिहिनेत गरेर मेस सञ्चालन गरेका थिए । सामूहिक खाना खाँदा पनि फरक आनन्द आयो । हामी रौतहटको सदरमुकाम गौर पुगियो । गौरबजार मोटरसाइकल ¥यालीसहित घुमेर मधेश क्रान्तिचोकमा आई सभा गरियो ।
गौरमा पनि पटक पटक हाम्रा कार्यक्रममा अवरोध हुने गरेका थिए । यसपटक गौरवासीले हाम्रो कार्यक्रमप्रति ऐक्यबद्धता प्रकट गरे । रौतहटबाट पटक पटक जितेर कैयौँ सांसद र मन्त्री भएका छन् । माधवकुमार नेपाल त त्यहीँबाट जितेर प्रधानमन्त्रीसमेत भएका हुन् । तर त्यहाँको गरिबी, शोषण, अन्धविश्वास र पिछडापनको अन्त्य हुन सकेको छैन । चुनावमा आएर झुटा आश्वासन बाँडी जनताको मत लिएर जाने र कहिल्यै पनि गाउँ नफर्कने परिपाटी छ त्यहाँ । जमिन्दार र केही ठेकेदारको मिलेमतोमा चुनाव कब्जा गर्ने, सोझा जनतालाई मासु, भुजा र रक्सीमा अलमल्याउने काम हुने गर्दछ ।
त्यसैले मधेशको समृद्धि र परिवर्तनको नाममा हुने हरेक आन्दोलनमा मधेशी जनताको ठुलो सहभागिता र बलीदान हुने गरेको छ । तर जनताको त्याग र बलिदानमाथि पटक पटक कुठाराघात हुने गरेको छ । मधेश मुक्तिको नाममा कैयौँ सहिद पनि भए । तर जनताको सपना पूरा हुन सकेको छैन । मधेशी जनताको नाम भजाएर कैयौँ मुट्ठीभर नेताले आलिशान महल ठडाए । पुस्तौँपुस्तासम्मका लागि सम्पत्ति जोड्ने काम गरे । तर ती किसान, मजदुर, गरिबको बस्तीमा कहिल्यै मिठो पाकेको छैन । नाङ्गो शरीर ढाक्ने एकसरो लुगा छैन । शिक्षा, स्वास्थ्यको राम्रो प्रबन्ध छैन । यसैले सिंगो तराई–मधेश रोइरहेको छ ।
हामी ती दुखीगरिबका बस्तीलाई जाग भन्दै, भ्रष्टको पर्दाफास गर्दै, जतालाई घात गर्नेको विरुद्ध जनता जगाउँदै अगाडि बढिरहेका छौँ । हामी गौरबाट फर्किएर चपुर हुँदै रौतहटको पौराहीमा बास बस्न पुग्यौँ । स्थानीय दिप गोलेजीको घरमा मेस चलाई खाना खाएर जनताको घरघरमा बाँडिएर बस्यौँ । हाम्रो एजेन्डा मन पराएर धेरैले हामीलाई खुशी मनले राख्ने काम गर्नुभयो । राजमोका पहिलेका नेता वीरबहादुर गोली पनि त्यहीँ गाउँमै हुनुहुन्थ्यो । राजमोमा छँदा केन्द्रीय उपाध्यक्षसमेत रहेका उनी हाल सत्ताधारी पार्टीको प्रदेश समितिमा रहेको बताए । पुरानो माया छँदै थियो । केही साथीहरू उहाँको घरमा पनि गए बसे ।
माघ २६ गते पौराहीवासीको आग्रहमा गाउँमा सानो कार्यक्रम गरियो । त्यसपछि सर्लाहीको हरिवनमा पुगेर कार्यक्रम दिइयो । सर्लाहीमा साङ्गठनिक अवस्था कमजोर थियो । तर पनि स्थानीय जनताको व्यापक माया र सद्भावले कार्यक्रम सफल भइरहेको थियो । हरिवनमा आरती बहिनीले चियाखाजा खर्चबापत् केही सहयोग पनि गरिन् । अनि, सर्लाहीको लालबन्दीमा कार्यक्रम गरी महोत्तरीको बर्दिवास पुगियो । बर्दिवासमा कार्यक्रम गरेर धनुषाको ढल्केबर पुगेर जनभेटघाट र सभा सम्पन्न भयो । ढल्केबरबाट केही किलोमिटरको दुरीमा जनकपुर पर्दछ, जुन २ नं. प्रदेशको अस्थायी राजधानी पनि हो ।
जनकपुरमा रहेको प्रदेशसभाले पनि आफ्नो प्रदेशको नाम र राजधानी ठेगान गर्न सकेको छैन । २ नं. प्रदेश तराईका आठ जिल्ला मात्र राखी बनाइएको छ । हुन त सिङ्गो काकडभित्तादेखि महेन्द्रनगरसम्मको तराई भूभागलाई एक मधेश एक प्रदेश बनाउने नारा पनि चर्को रूपमा लागेको हो । स्पष्ट थियो कि उक्त कुरा भारतीय साम्राज्यवादको डिजाइनभित्र आएको हो । त्यो कुरा सफल हुन नसके पनि पहाडी तथा हिमाली जिल्लासँग नमिसाइकन तराईका आठ जिल्ला मात्र समेटेर बनाइनु पनि खतरापूर्ण नै रहेको छ । अहिले उसले आफ्नो छुट्टै सेना, छुट्टै आर्थिक नीति, छुट्टै भाषा, भेषभुषाको कुरा उठाउन थालेको छ ।
विस्तारै भारतीय नागरिकले नेपालतिर आएर नागरिकता प्राप्त गरेपछि भारतीय योजनालाई लागु गर्दै जाने खतरा पनि छ । त्यसैले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने, मधेश स्वायत्त प्रदेशको कुरा गर्ने, छुट्टै मधेशी सेनाको कुरा गर्ने आदि जस्ता विषयले नेपालको सार्वभौमिकतामाथि प्रश्नचिह्न खडा गरेको छ । हामीले ढल्केबरबाट जनकपुरमा रहेको प्रदेशसभालाई खबरदारी गर्दै मुलुक टुक्राउने योजना नबनाउन चेतावनी दियौँ ।
यसपछि सिराहाको कर्जन्हा चोकमा पुग्यौँ, जहाँ सयौँ तराईवासी समुदायको उपस्थितिमा सभा सम्पन्न भयो । बजारको दिन पनि भएकाले धेरैजनाको उपस्थिति रह्यो । बेलुकी सिराहाकै बडहरा मिर्चैयामा खाने, बस्ने व्यवस्था थियो । पुराना नेता काजीलाल वाइबाले अभियान टोलीका लागि केही दिनअघिदेखि नै व्यवस्थापनमा लाग्नुभएको थियो । एक्लै भएर पनि हिम्मतका साथ राष्ट्रिय जनमोर्चालाई उहाँले स्थापित गराउनुभएको छ । पुराना किसान नेता जयगोविन्द साह, जसले सिराहा, सप्तरीतिर किसान आन्दोलनलाई नेतृत्व गरी कम्युनिस्ट पार्टीलाई त्यहाँ स्थापित गराएका थिए । पछि पञ्चायती शासकले उनलाई देश निकाला गरे । २०४६ सालमा उनको मृत्यु भयो । तिनै जयगोविन्द साहको आँगनमै साँझतिर हजारौँ जनताको बिचमा सांस्कृतिक सभा सम्पन्न ग-यौँ । बडहरा मिर्चैयाको सिङ्गो गाउँ नै कार्यक्रममा उपस्थित थियो । स्थानीय विद्यालयमा मेस सञ्चालन गरी गाउँमा जनताको घरमा मिलेर रात कटाइयो ।
साँझको कार्यक्रमले कैयौँ जनतालाई प्रभाव पारेछ । यस्ता कार्यक्रम चुनावमा बाहेक देख्न पाइँदैन, तपाईहरू आउनुभयो, खुशी लाग्यो, निरन्तरता दिनुहोला भन्ने सल्लाह, सुझाव पनि प्राप्त भए । पहिलेदेखि वामपन्थीको प्रभावमा रहेको गाउँ भएता पनि टुटफुटको मारमा परी छिन्नभिन्न अवस्थामा रहेका छन् अहिले । आफू वामपन्थी विचारबाट नडगमगाएको तर सन्तोषजनक काम कुनै पार्टीले नगरेको स्थानीय जनताको गुनासो रहेको थियो । हामीले पनि तुलनात्मक रूपमा कम्युनिस्टको दर्शन र मान्यतालाई बचाउने पार्टी नेकपा (मसाल) नै हो भनेर सम्झाउन खोज्यौँ । आउँदै गर्नुहोला भन्ने उहाँहरूको भनाइ थियो ।
माघ २७ गते बिहान बडहरा मिर्चैयामा नै खाना खाएर मिर्चैया कटारी चोकमा कार्यक्रम गर्न पुग्यौँ । सिराहाकै गोलबजारमा समेत कार्यक्रम गर्दा सुनसरी पुग्न ढिलो भइसकेको थियो । इनरुवामा १ नं. प्रदेशका साथीहरू जम्मा भएर अभियानलाई स्वागत गर्न आतुर थिए । गाडीको स्पिड बढाएर लागियो १ नं. प्रदेशतिर । कोशीको ड्याम साइड हेर्दै जाँदा राष्ट्रघातीलाई परास्त गर्ने हिम्मत बढेर आउँथ्यो । सप्तरी जिल्ला र सुनसरी जिल्लाको सीमामा बगेको कोशी नदीमा सप्तरीको भारदहदेखि पूर्व र सुनसरीको भन्टाबारीदेखि पश्चिमतर्फ नदीलाई बाँधेर बनाइएको बाँध हो, कोशी ब्यारेज ।
नेपालमा कोशी ब्यारेज र तटबन्ध बनाउने सम्बन्धमा भारतको लोकसभामा डिसेम्बर १४, १९५३ (२०१० मङ्सिर १३) मा स्वीकृत भएको थियो । यसअनुरूप नेपाल र भारतबिच अप्रैल २५, १९५४ (२०११ वैशाख १२) मा कोशी सम्झौता भयो । त्यसबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए । कोशी ब्यारेज तथा यससँग सम्बन्धित तटबन्ध, स्पर, ठोक्कर आदिको मर्मत सम्भारदेखि ब्यारेजको व्यवस्थापन, सञ्चालन, प्रशासन आदि सम्पूर्ण कामका लागि १९९ वर्षका लागि कोशी योजना नेपालले भारतलाई लिजमा सुम्पियो । यस परियोजनाले गर्दा करिब ६,८०० हेक्टर नेपालको जमिन डुबानमा परेको छ भने २२ गाउँ प्रत्यक्ष प्रभावमा परेका छन् ।
कोशी ब्यारेजका ५६ वटै ढोकामध्ये पानीको वहाब हेरेर भारतले आफ्नो अनुकूल खोल्ने र बन्द गर्ने गर्दछ । उसलाई चाहिनेजति पानी लैजाने, अरू सबै ढोका बन्द गरी नेपाली बस्ती डुबानमा पार्ने काम प्रत्येक वर्ष गर्ने गरेको छ । तर राज्यपक्षबाट यसबारे ठोस पहलकदमी भएको छैन । बर्सेनि तराईको धेरै क्षेत्र भारतले अनधीकृत रूपमा बाँधेका बाँध र तटबन्धकै कारण डुबानमा पर्ने गरेका छन् । यस प्रकारको राष्ट्रघातको विरुद्धमा देशभक्त नागरिकले सशक्त आवाज उठाउनुपर्दछ ।
सुनसरीको इनरुवामा पुग्दा झण्डा, ब्यानर, अबिरमालासहित साथीहरूले भव्य स्वागत गरे । छिटो छिटो कार्यक्रम गरी इटहरीतर्फ लागियो । मोटरसाइकल ¥याली थप सशक्त बन्यो । अन्य जातिवादीको हस्तक्षेपको कारण पहिले पहिले हाम्रा कार्यक्रममा डिस्टर्ब हुने गर्दथ्यो । यसपटक भने त्यस प्रकारको आक्रमण कहीँ भोग्नुपरेन । इटहरी पुग्दा साँझ परिसकेको थियो । एउटा कार्यक्रम दिइहाल्नुपर्छ भनेर सभा र सांस्कृतिक प्रस्तुति दिने काम भयो । बेलुका गोर्खा किचनमा खाना खाएर स्थानीय धर्मशालामा बास बसियो ।
माघ २८ गते बिहानै धरानको बसपार्क चोकमा सभा गरी इटहरीमा खाना खाएर विराटनगरतिर लागियो, जहाँ १ नं. प्रदेशको राजधानी थियो । १ नं. प्रदेशले पनि आफ्नो नाम र स्थायी राजधानी तय गर्न सकेको छैन । लिम्बुवान, खुम्बुवान प्रदेश बनाउने नाममा कैयौँपटक जातिवादी आक्रोश नपोखिएका होइनन्, तर ती सबै विदेशी दातृ निकायको स्वार्थसँग जोडिएका संस्थाको उक्साहटमा नै थिए । पछि ती सबै गतिविधि सेलाउँदै गए ।
अहिले पूर्वी नेपाल केही शान्त छ । तर पनि सङ्घीयताको आडमा अरू पनि कैयौँ शक्ति चलखेल गर्न सक्ने खतरालाई अस्वीकार गर्न सकिँदैन । त्यसैले यसबाट सतर्क रहँदै केन्द्रीय सत्तालाई अझ बलियो बनाउने, स्थानीय निकायलाई अधिकारसम्पन्न गराउने र प्रदेश संरचनालाई खारेज गर्नु नै उपयुक्त विकल्प हुनुपर्छ भनेर हामीले १ नं. प्रदेशको राजधानी विराटनगरबाट उद्घोष ग¥यौँ । त्यसपछि दमकमा कार्यक्रम गर्दै बिर्तामोड पुग्दा साँझ परिसकेको थियो । तर पनि अर्को दिन समापनका लागि काकडभित्ता पुग्नुपर्ने भएकाले साँझ नै बिर्तामोडमा कार्यक्रम ग¥यौँ । अनि, खाना खाएर अतिथिगृहमा रातीको बसाइँ भयो ।
माघ २९ गते बिहान खाजा खाएर काकडभित्तातिर लागियो । काकडभित्तामा अभियानको समापन गर्दै मेची सिमाना पुगेर नेपालको राष्ट्रिय झण्डासहित अभियान टोलीको फोटो खिचेर त्यहाँबाट फर्कियौँ । यसरी नेपालको पश्चिम सिमाना गड्डाचौकीबाट सुरु भएको अभियान १५ दिनको यात्रापछि पूर्वी सिमाना मेची पुलमा गएर समापन भयो । यसले नेपालको युवा आन्दोलनमा थप इतिहास रचेको छ । भ्रष्टाचारजस्तो सामाजिक अपराधको विरुद्धमा जागरण पैदा गरेको छ ।
अनधीकृत रूपमा नेपाली नागरिकता ल्याई नेपाललाई कब्जा गर्ने वा फिजीकरण गर्ने भारतीय षड्यन्त्रको विरुद्ध जनतालाई सुसूचित बनाउने काम गरेको छ । यसबिचमा सङ्गठनका सयौँ कार्यकर्ता परिचालित भएका छन् । हजारौँ जनतासँग प्रत्यक्ष भेटघाट भएको छ । ६४ स्थानमा सांस्कृतिक सभा सम्पन्न भएका छन् ।
पर्चा वितरण, जनभेटघाट, रेडियो अन्तर्वार्ता, पत्रकार भेटघाटका कार्य सम्पन्न भएका छन् । नेतृत्वको सहकार्य, स्वयम्सेवकको लगाव, रक्तिम सांस्कृतिक टोलीको जोशजाँगर, पार्टी संगठनको व्यवस्थापन, कार्यकर्ताको उत्साह, जनताको ऐक्यबद्धता र सद्भाव, सामाजिक सञ्जाल र युगदर्शनको निरन्तर रिपोर्टिङले अभियान थप सशक्त र ऐतिहासिक बनेको छ । यो अभियानले आगामी दिनमा अझ व्यवस्थित कार्यक्रम सञ्चालन गर्न मार्गप्रशस्तसमेत गरेको छ । (समाप्त)

