काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन्।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो।
त्यसपछि आज बिहानसम्म थप ४ जना पक्राउ गरिएको ढुङ्गानाले बताए।
राजस्व स्रोतका अनुसार सुन ओसारपसारमा संलग्न आरोपमा दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल, भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र पुरानो दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको हो।
सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।
‘तथ्य खुल्न बाँकी छ। फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने। रासस
त्रिभुवन विमानस्थलबाट झण्डै १०० किलो सुन बरामद