अर्घाखाँची । गत वैशाख २६ गते वनमा लागेको डढेलोले घर टिप्दा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं २ का वर्ष ३६ को दिनेश थापा, वर्ष १८ को दिपक विक, वर्ष ७० को देविराम बेल्बासे र वर्ष ३६ को धर्मराज बेल्बासे रहेका छन्।
सो घटनामा परी स्थानीय ७२ वर्षीय पिताम्बर बेल्बासे, ३६ वर्षीय माधब बेल्बासे, ५२ वर्षीय घनश्याम बेल्बासे र ५५ वषीृय पदम प्रसाद बेल्बासेको ज्यान गएको थियो । घटनामा परी वर्ष २६ की अस्मिता बेल्बासे घाइते भएकी थिइन् ।
प्रहरीले जंगलमा आगो लगाउने चार जनालाई वैशाख ३१ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुविरुद्ध पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना विवरण यस्तो थियो,
मिति २०८०।०१।२६ गते बिहान अन्दाजी ७ बजेको समयमा अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नं. २ बस्ने वर्ष ७० को देविराम बेल्बासे र निजको दाजु पिताम्बर बेल्बासे (दुई भाइ) घाँस काट्नको लागि तिरतिरे जंगलको नजिकै खरेनमा गएका थिए । घाँस काटेर बिहान अन्दाजी ९ बजेको समयमा पिताम्बर बेल्बासे घाँस लिई घर फर्किए भने केही समय पछि देविराम पनि घाँस लिई घर फर्किए ।
सो एरियारमा बंदेल लगायत जंगली जनावरले सताएको कारणले देविरामले घाँस लिई फर्कंदा झाँक्रिको थानको विभिन्न स्थानमा (सानो पँधेरो) नजिकै भारि बिसाई आफूसँग भएको लाइटरले सार्वजनिक जग्गामा रहेको झाडीको विभिन्न ठाउँमा आगो लगाए । र, आगो सल्केपछी घाँसको भारी बोकी माथि घरतर्फ गए ।
देविरामले लगाएको आगो फैलिन गई सार्वजनिक स्थानको झाडी बुट्यान वरपर सम्पूर्ण स्थानमा आगो लागेको तर खोला पारीपट्टी रहेको राउटावारी, पहाड पखेरो भन्ने स्थानमा आगो नपुगेपछी धर्मराज बेल्बासेले पारीपट्टी आगो लगाए । सोही क्रममा उनले दिनेश थापा र दिपक विकलाई फोन गरि बोलाएर आफूसँग भएको लाइटर दिई पारीपट्टी (घर्तीटोलातर्फको खरेन) मा विभिन्न स्थानमा आगो लगाउन अह्राए ।
धर्मराज बेल्बासेबाट दिपक विकले एक हातमा लाइटर लिई अर्को हातमा जल्दै गरेको बाँसको कप्टेरो लगी पारीपट्टी पुऱ्याई दिनेश थापालाई दिँदा हातबाट खस्न गई आगो लाग्यो । र सोही स्थानको केही तल दिपक विले विभिन्न ठाउँमा लाइटरले आगो लगाउँदा फैलिन गई खरेन हुँदै बस्तितर्फ गयो ।
उक्त आगोलागीका कारणले गइ गम्भीर घाइते भएका चार जनाको उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा परी घाइते अस्मिता बेल्बासे उपचार पश्चात घरमै रहेकी छन् ।
मुलुकि अपराध संहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १८२ हेलचेक्र्याइँ गरी ज्यान मार्न (३) उपदफा (१) मा लेखिएदेखि बाहेक कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई छ महिना देखि दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
अर्घाखाँची : आगो निभाउने क्रममा जलेर घाइते भएका तीन जनाको मृत्यु
अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना घाइते