याङ्गुन । म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङसान सुकीलाई थप सात वर्षकोे जेलसजाय सुनाएको छ ।
गत शुक्रबार सुनाइउको यस फैसलासँगै गैरकानुनी रूपमा वाकीटकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी उहाँलाई सबै गरी ३३ वर्षको जेलसजाय तोकिएको छ ।
सुकीको जन्म सन् १९४५ जुन १९ मा दोस्रो विश्वयुद्धको अन्तिम हप्तामा जापानको कब्जामा रहेको याङ्गुनमा भएको थियो । उहाँका पिता आङ सानले सन् १९४८ मा आफ्नो देशलाई स्वतन्त्रता प्राप्त गर्ने सबैभन्दा राम्रो अवसर प्रदान गर्न बेलायती र जापानी उपनिवेशवादी दुवैको पक्ष र विपक्षमा लडेका थिए ।
सुकीले आफ्नो प्रारम्भिक जीवनको अधिकांश समय म्यान्मार बाहिर बिताउनुभएको थियो । सुरुमा आमा भारतको राजदूत रहँदा भारत र पछि उहाँले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनका सिलसिलामा बिताउनुभएको थियो । बेलायतमा रहँदा उहाँको आफ्ना बेलायती पतिलाई भेट्नुभएको थियो ।
सन् १९६२ मा जनरल ने विनले पूर्ण सत्ता कब्जा गरेपछि उहाँले आफ्नो समाजवादी अभ्यासलाई म्यानमारमा लागु गर्नुभएको थियो तर कुनै समय एसियाको चामलको भकारीको उपाधिले चिनिने विश्वको सबैभन्दा गरिब र सबैभन्दा पृथक देशमा परिणत बनेको छ ।
सन् १९८८ मा आफ्नी मृत आमालाई स्याहारसुसार गर्न स्वदेश फर्केपछि सुकी प्रजातन्त्रको जननीका रूपमा सम्मानित हुन पुग्नुभएको थियो । उहाँको नेतृत्वमा सन् १९९० को दशकमा केही समयपछि सेनाको अधिनायकवादी शासनको विरोधमा भएको प्रदर्शनलाई दमन गर्दा कम्तीमा तीन हजार व्यक्तिको मृत्यु भएको थियो । यो रक्तपात सुकीका लागि जनताका लागि सङ्घर्ष गर्ने उत्प्रेरणा बनेको थियो ।
सन् १९९० को निर्वाचनमा एनएलडीलाई भारी मतले जिताउनुअघि एक चमत्कारिक वक्ता रहनुभएकी ४३ वर्षीया उहाँले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहनुभएको थियो ।
सेनापतिहरू सत्ता छोड्न तयार थिएनन् । मतदानको परिणामलाई बेवास्ता गर्दै उनीहरूले सुकीलाई उहाँको याङ्गुनस्थित घरमा सीमित गरे, जहाँ उहाँ अर्को २० वर्षमध्ये करिब १५ वर्ष बिताउनुभएको थियो । सन् १९९१ मा हिरासतमा रहँदा उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
जुन्ता प्रशासनले स्थायी रूपमा देश छोडेमा कुनै पनि बेला उहाँको कैद अन्त्य गर्ने प्रस्ताव गरेको थियो तर सुकीले त्यसलाई अस्वीकार गर्दै आफूलाई देशप्रति नै समर्पित गर्ने प्रण गर्नुभएको थियो ।
सुकीले सन् १९९१ मा क्यान्सरका कारण आफ्नो पतिको मृत्यु हुनुभन्दा अघि उहाँलाई भेट्नसमेत पाउनुभएको थिएन । उहाँले नजरबन्दमा नै रहेका समय हुर्केका आफ्ना दुई छोरासमेत गुमाउनुपरेको थियो ।
अन्तत: सेनाले सन् २०१० मा उहाँको पार्टीले बहिष्कार गरेको चुनावको केही दिनपछि उहाँलाई स्वतन्त्रता प्रदान गर्यो । यसबाट एउटा गैरसैनिक नागरिकको नेतृत्वमा सरकार गठन भयो ।
त्यसको पाँच वर्षपछि भएको अर्को निर्वाचनमा उहाँको दल एनएलडीले विजय हासिल गर्यो । यसले म्यानमारमा बहुसङ्ख्यक जनतालाई खुशी तुल्याएको थियो । सन् २०२० को मतदानले उहाँको पार्टीको बहुमत बढायो तर सेनाले निर्वाचनलाई प्रभावित पार्न एनएलडीले धाँधली गरेको दाबी गर्दै उहाँलाई हिरासतमा राखिएको थियो ।
सुकीको कार्यकालमा उहाँको प्रशासन समस्याले घेरिएको थियो र सेनासँग असहज सम्बन्ध थियो, जसले शक्तिशाली राजनीतिक भूमिका कायम राखेको थियो तर सन् २०१७ मा रोहिङ्ग्या समुदायमाथि भएको दमनपछि सरकार र सेना लकस्टेपमा देखिएका थिए । उहाँको कार्यालयले भागेर आएका शरणार्थीलाई म्यानमारका सेनाले बलात्कार, गैरन्यायिक हत्या र आगजनीको शिकार बनाएको भन्ने दाबीको खण्डन गरेको छ ।
उहाँले व्यक्तिगत रूपमा सेनाको आचरणको बचाउ गर्नुभयो र सन् २०१९ मा संयुक्त राष्ट्र सङ्घको सर्वोच्च अदालतमा नरसंहारको आरोपको खण्डन गर्न हेग पनि जानुभएको थियो । त्यसको ठिक एक वर्षपछि उहाँ फेरि सेनाको कैदी हुनुभएको छ । अहिले उहाँले आफ्नो बाँकी जीवन हिरासतमा बिताउने सम्भावनाको सामना गरिरहनुभएको छ । (रासस/एएफपी)





