काठमाडौँ । इनम सापकोटासँग प्रधानन्यायाधीश डा. मनोज शर्मा, अन्य न्यायाधीश हरि फुयाँल र श्रीकान्त रेग्मी नाम जोडिने गरी नयाँपत्रिका दैनिमा समाचार प्रकाशन भएपछि २०८३ कात्तिक १३ गते शुक्रबार फुलकोर्ट बैठक बस्ने भएको छ ।
प्रधानन्यायाधीश डा. शर्माले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीसँग छलफल गरेपछि न्यायाधीशलाई शुक्रबार बिहान फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित प्रशासनिक प्रकृतिको बैठक) बस्ने सूचना जारी भएको हो ।
सर्वोच्चका एक कर्मचारकिा अनुसार बैठकको एजेन्डामा ‘समसामयिक विषयमा छलफल’ भन्ने उल्लेख गरिएको छ । शुक्रबार प्रधानन्यायाधीश डा. शर्मासहित अरू न्यायाधीशले बैठक गर्नेछन् ।
वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल वैदेशिक भ्रमणका क्रममा बिदामा छिन् । वरिष्ठतम न्यायाधीशको अनुपस्थितिमा फुलकोर्टको बैठक हुन लागेको हो ।
‘यति संवेदनशील समाचार सार्वजनिक हुँदासमेत सर्वोच्च अदालतको संयन्त्र तुलनात्मक रूपमा मौन बस्यो । छलफलमा न्यायिक नेतृत्वको अग्रसरता देखिएन’ सर्वोच्चका एक न्यायाधीशले भनेका छन्– ‘शुक्रबारको बैठकमा यसबारे छलफल होला भन्ने अपेक्षा छ ।’
इनमको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनले ह्वाट्सएप म्यासेजबाट गरेका कुराकानी सार्वजनिक भएका हुन् ।
‘बिहीबारको फुलकोर्टको बैठकमा त्यसबारे कुरै भएन, गोला तान्ने बेलामा प्रधानन्यायाधीश र अरू न्यायाधीशले त्यसबारे कुनै प्रतिक्रिया जनाउनुभएन’ सर्वोच्च अदालतका एक उच्चपदस्थ कर्मचारीले भनेका छन्– ‘अरू सामान्य दिनसरह नै गोला तानेर इजलास छनौटपछि न्यायाधीश आआफ्नो चेम्बरमा गए अनि इजलासमा बसे ।’
हरेक दिन बिहान सर्वोच्चको बैठक कक्षमा गोलाप्रथाबाट इजलास गठन गर्ने अनि मुद्दा छान्ने अभ्यास छ । त्यस क्रममा न्यायाधीशबिच समयसामयिक विषयमा सङ्क्षिप्त छलफल हुन्छ तर बिहीबार भने दुई घटनाका बारेमा न्यायाधीशले मुख खोलेनन् ।
न्यायाधीश हरि फुयाल गोला तान्न बैठक कक्षमा गएनन् । सम्बन्धित न्यायाधीश अनुपस्थित भएमा अरू न्यायाधीशले उनको गोला तानिदिने चलन हुन्छ । बिहीबार बालकृष्ण ढकालसँग संयुक्त इजलासमा बसेका न्यायाधीश फुयालले दिउँसो खाजा समय अघिसम्म मुद्दा हेरे, त्यसपछि पत्रकारसँग भेटघाट गरे ।
उनले आफूले इनमसँग सम्पर्क गर्नुको कारण, त्यस क्रममा भएको कुराकानी र आफूले मुद्दामा गरेको आदेशबारे पत्रकारसँग कुराकानी गरे । इनमलाई भेट्नुमा आफ्नो बदनियत नभएको अनि विचाराधीन मुद्दामा समेत भेटको कुनै प्रभाव नपरेको जिकिर गरे ।
दिउँसो खाजा समयमा समेत न्यायाधीशबिच सामूहिक छलफल हुन सकेन । अपराह्न प्रधानन्यायाधीश डा. शर्माले सचिवालयको सट्टा आफ्नै हस्ताक्षरमा विज्ञप्ति निकालेर इनमसँग आफ्नो सम्पर्क नभएको र कुनै भेटघाट पनि नभएको जिकिर गरे ।
त्यसको केही बेरमा न्यायाधीश श्रीकान्त पौडेलले समेत आफूले मुद्दाको आदेश गर्दा बहसपैरवी र मुद्दाको विषयवस्तु हेरेको तर कुनै व्यक्तिसँग भेटघाट नगरेको जिकिरसहित विज्ञप्ति जारी गरे ।
बिहीबार साँझ न्यायाधीश हरि फुयालले विज्ञप्ति जारी गरी आफूबाट न्यायिक निष्ठामा आँच आउने काम नगरेको दाबी गरे । उनले आफूले न्यायपालिकाको प्रतिष्ठामा आघात पुर्याउने कुनै काम नगरेको भन्दै अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यता, कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनले पनि बिहीबार विज्ञप्तिमार्फत नै घटनाको छानबिन हुनुपर्ने, न्यायिक नेतृत्व र अरू न्यायाधीशको भूमिकाबारे अध्ययन गरी गल्ती भेटिए कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ ।
सामूहिक छलफल नभएपछि केही न्यायाधीशले भने आपसमा छलफल गरेका थिए ।





