बागलुङ । गल्कोट समाज जापान, क्षेत्रीय समिति टोकियो कान्तोले विष्ण्ॉ कुँवरको उपचारका लागि सञ्चालन गरेको अभियानबाट सङ्कलित तीन लाख १३ हजार दुई सय ७२ रुपैयाँ उहाँको परिवारलाई हस्तान्तरण गरेको छ ।
बडिगाड गाउँपालिका–१० निगलपानीस्थित निवासमै पुगेर २१ वर्षीया कुँवरका बुबा अमरसिंह कुँवर र आमा गोरी कुँवरलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
विद्यार्थी भिसामा जापान गएकी कुँवरलाई काम गर्ने क्रममा अचानक ब्रेन हेमरेज भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । उनको उपचारमा सहयोग तथा परिवारलाई आर्थिक राहत पुर्याउने उद्देश्यले समितिले सञ्चालन गरेको अभियानमा जापानमा रहेका एक सय चार जनाले आर्थिक योगदान गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा गल्कोट समाज जापानका सल्लाहकार दण्ड केसी, समितिका सदस्य हिमाल सापकोटा, हटिया माध्यमिक विद्यालयका शिक्षक सोमलाल सापकोटा, जनजागृति माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र छन्त्याल, समाजसेवी पदम सलामी तथा भलिबल खेलाडी सन्दीप बुढाथोकीलगायतको उपस्थिति थियो।
समितिका अध्यक्ष ईश्वर बस्नेतले सचिव चतुर्भुज सापकोटा, कोषाध्यक्ष मिठु थापासहित सम्पूर्ण कार्यसमिति तथा अभियानमा आर्थिक सहयोग गर्ने दाता, अभियान सञ्चालनमा सक्रिय पदाधिकारी तथा सदस्य र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गरे ।
जापानमा रहँदा कुँवरको हेरचाह तथा सहयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सुमन बानियाँ र नम्रतालाई समितिले विशेष धन्यवाद दिएको छ, साथै सङ्कलित सहयोगले उपचारमा केही राहत पुग्ने विश्वास व्यक्त गर्दै कुँवरको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।






